१५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा

काठमाडौं । सोलुखुम्बुस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ । क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ ।  अस्पतालका निमित्त प्रमुख डा श्रेया पङ्गेनीले भनिन्, ‘हाम्रो अस्पताल १५ शय्याको हो, तर व्यवहारमा दैनिक ५० बढी बिरामी भर्ना भइरहेका छन् । प्रसूति, आकस्मिक, स्त्रीरोग जस्ता सेवासमेत हामी यहीबाट दिन बाध्य छौँ, भौतिक संरचना त पर्याप्त छ, जनशक्ति कमजोर छ ।’ जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडिकल अधिकृत, एक जना वरिष्ठ नर्सिङ निरीक्षक,  दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन् । बाँकी १३ पद रिक्त छन्, जसले अस्पतालको सेवा प्रणालीलाई अधुरो, असन्तुलित बनाएको छ । हाल कूल दरबन्दीको ७२ प्रतिशत पद रिक्त छ । ‘एक जना डाक्टरले सबै प्रकारका बिरामीको चाप सम्हाल्नुपर्दा कहिलेकाँही २४ घण्टा ड्युटी गर्नुपर्ने अवस्था आउँछ । मनोवैज्ञानिक दबाब धेरै छ,’ अस्पतालमा कार्यरत स्टाफ नर्स दिप्ती चौधरी भन्छिन्, ‘हामी आठ घण्टा ड्युटीमा खटिनुपर्ने हो, तर दैनिक १२/१३ घण्टासम्म ड्युटी गर्नुपर्छ । मानसिक, शारीरिक थकान अत्यधिक छ । व्यक्तिगत जीवनसँगको सन्तुलन हराएको छ ।’ करारका कर्मचारीको भरमा अस्पताल अस्पतालमा ३२ जना करारका कर्मचारी छन् । ११ जना अस्पताल विकास समितिबाट ज्यालादारीमा नियुक्त छन् । अस्पतालको दीर्घकालीन योजना, तालिम, प्रणाली सुधारजस्ता विषयमा स्थायित्व नहुँदा कार्यान्वयन हुन सकेको छैन । वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पा भन्छिन्, ‘छात्रवृत्ति करारका चिकित्सकहरू छ महिना, एक वर्षका लागि आउँछन् । तिनको अनुभव राम्रो भए पनि अस्पताललाई दीर्घकालीन लाभ पुग्दैन ।’ करारका चिकित्सकहरूले सक्दो योगदान दिएपनि उनीहरू लामो समय रहन नसक्ने भएकाले अस्पतालले बारम्बार चिकित्सकको अभाव झेल्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले भने, ‘हामीले पटकपटक प्रदेश सरकारसँग जनशक्ति माग गरेका छौँ । अस्पतालको स्तरोन्नति, बजेट, जनशक्ति सबै कुरामा ध्यानाकर्षण गराएका छौँ । तर सुनुवाइ भएको छैन ।’ उनले गत साता मात्रै प्रदेशका स्वास्थ्य मन्त्रीसँग भेटेर ३० शय्याको संरचना र तदनुसारको दरबन्दी माग गरेको जानकारी दिए । प्रदेश स्वास्थ्य मन्त्रालयले भने लोकसेवा आयोगबाट पदपुर्ती भएपछि दरबन्दी पूरा हुने जवाफ दिएको छ ।  स्वास्थ्यमन्त्री भूपेन्द्र राईले भने, ‘हामी लोकसेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्ने तयारीमा छौँ । अहिले प्रदेश भर जनशक्ति अभाव छ ।’

स्केल एआईमा १० अर्ब डलरभन्दा बढीको लगानी गर्न छलफल गर्दै मेटा

काठमाडौं ।  मेटा प्लेटफर्म कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप स्केल एआईमा १० अर्ब डलरभन्दा बढीको लगानी गर्न छलफलमा रहेको ब्लूमबर्ग न्यूजले आइतबार जनाएको छ । प्रतिवेदनअनुसार सम्झौताको सर्तहरूलाई अझै अन्तिम रूप दिइएको छैन र ती परिवर्तन हुनसक्ने सम्भावना छ ।  २०१६ मा स्थापना गरिएको स्केल एआई एउटा डेटा लेबलिङ स्टार्टअप हो, जसलाई एनभीडीया, अमेजन र मेटाजस्ता प्रविधि कम्पनीहरूले समर्थन गरेका छन् । करिब १४ अर्ब डलर मूल्यांकन गरिएको स्केल एआईले एआईसम्बन्धी जानकारी आदानप्रदान गर्न शोधकर्ताहरूका लागि प्लेटफर्म पनि प्रदान गर्छ, जसमा ९ हजारभन्दा बढी सहर र बस्तीका योगदानकर्ताहरू छन् ।

कोरोना संक्रमण बढ्दो छ, शतर्क रहौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारीको काम भइरहेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तिब्र रुपमा फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्वतयारी भइरहेको बताए । प्रवक्ता डा. बुढाथोकीले छिमेकमा संक्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्वतयारीमा लागिरहेको बताएका हुन् । पूर्वतयारीका क्रममा भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको बताए । नाकामा भित्रने सबैलाई कोरोनाको आरडिटि टेस्ट गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भएपनि एक सातासम्म सेल्फ आइसोलेशनमा बस्न आग्रह गरिरहेको बताए । प्रवक्ता बुढाथोकीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरु देशभित्र वा देश बाहिर जो भएपनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलताहरु देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको बताए । ‘हाम्रो छिमेकी मुलुक भारतमा पछिल्लो समयमा संक्रमण बढेपछि र केही मृत्युको घटना भइसकेपछि भारतमा भएको संक्रमण ढिलो वा छिटो १० दिन १५ दिनमा नेपालमा पनि आउँछ भन्ने विगतका अनुभवले देखाएको हुनाले हामी त्यसको पूर्वतयारीमा लगभग २ सातादेखि नै लागिरहेका छौं । र, पूर्व तयारीका क्रममा सबैभन्दा पहिलो कुरा भारतबाट नेपालमा संक्रमण नछिरोस् भनेर १७ वटा स्थल नाका र तीन वटा हवाई नाका त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई सचेत बनाएका छौं,’ उनले भने। कोरोना उपचारमा स्वास्थ्य पूर्वाधार र जनशक्ति अभाव छैन डा. बुढाथोकीले कोरोनाका लागि पूर्वाधार र जनशक्तिको अभाव नभएको बताए । संक्रमण बढेको अवस्थामा पनि पहिलेको तुलनामा उपचार र व्यवस्थापन गर्न सहज हुने बताए । आकस्मिक व्यवस्थापनका रेस्पोन्स टिमले पाँच मिनेट भित्र काम शुरु गर्नेगरी तयारी अवस्थामा रहेको बताए । देशभरका २५ वटा हव हस्पिटल,२ हजारभन्दा बढी सेटलाइट हस्पिटललाई पनि तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको बताए । कोभिडको प्रतिकार्यका लागि अनुगमन गर्न देशभरका ६ सयभन्दा बढी प्रयोगशालाको रिपोर्टहरुलाई केन्द्र र प्रदेशले गर्ने व्यवस्था मिलाइएको बताए । संक्रमण बढ्दै गए उपलब्ध स्रोत, साधन र पूर्वाधारले ९० हजारदेखि एक लाखसम्मको जनसंख्यालाई धान्नसक्ने गरी तयारी गरिएको उनको भनाई छ । उनी भन्छन्, ‘सातै प्रदेशका रहेका हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरहरुलाई पनि एक्टिभेट गरिसकेका छौं । र निदानका लागि र मोनिटरिङका लागि देशभरिका ६ सय भन्दा बढी प्रयोगशालाको रिपोर्टहरुलाई केन्द्रबाट र प्रदेशले मनिटरिङ गरिरहेको छ । कुनै कारणवस संक्रमण फैलिइ हाल्यो भने त्यो संक्रमणलाई थप संक्रमण नफैलियोस्, थप धनजनको क्षति नहोस् भन्नका लागि अस्पतालहरुलाई पनि तयारी अवस्थामा राखेका छौं । साथै प्रत्येक वडामा भएका र्‍यापिड रेस्पोन्स टिमहरु, भोलि इमर्जेन्सी मेडिकल टिम मोबिलाइज गर्नुपर्‍यो भने पनि त्यसलाई तयारी अवस्थामा राखेका छौं । त्यसमा आम नेपालीले शतर्कता अपनाइदिनुभयो भने हाम्रो पूर्वतयारीले कोभिडलाई परास्त गर्नसक्छौं ।’ मनसुनी प्रकोप र कारोना संक्रमण बढे समस्या आउन सक्ने नेपालमा मनसुजन्य रोगको संक्रमण हरेक वर्ष तिब्ररुपमा बढीरहेको छ । विगत केहि वर्ष यता मनसुनका समयमा झाडापखाला, श्वासप्रश्वास, टाइफाइड, हैजाजस्ता रोगको संक्रमण घातक रुपमा देखिएको छ । प्रवक्ता डा.बुढाथोकीले मनसुनका समयमा देखिने पानीजन्य रोग र संक्रमण तथा कीटजन्य रोग र संक्रमण डेङ्गु, मलेरियाजस्ताको संक्रमण फैलने जोखिमलाई मध्यनजर गरेर पनि पूर्वतयारीको काम गरिरहेको बताए । मनसुनी प्रकोप र कारोना संक्रमणका बारेमा सचेत रहन आम नागरिक पनि अग्रसर हुनुपर्ने बताए । सरकार एक्लैको पहलले मात्र संक्रमण रोक्न सम्भव नभएकाले आम नेपाली नागरिक पनि सचेत र सक्रिय भएर सोहीअनुरुप सचेतना अपनाइदिन प्रवक्ता डा. बुढाथोकीले आग्रह गरे । नागरिकले सचेतना पनि नअपनाउने र सरकारको आग्रह पनि नमान्ने हो भने सरकारसँग उपलब्ध सिमित श्रोत साधनले सबैको उपचार गर्नसक्ने अवस्था रहेको बताए । उनले भने, ‘मनसुनजन्य रोगहरु हुन्, चाहे पानी प्रदुषित भएर फैलने रोगहरु हुन्, चाहे खाल्डाखुल्डीमा पानी जमेर लामखुट्टे बढेर लामखुट्टेबाट उत्पन्न हुने डेङ्गी जस्ता रोगहरु हुन् । ती सबैलाई पनि एउटै स्वास्थ्य संस्था र पूर्वतयारीले सम्बोधन गर्नुपर्ने भएकाले आम नेपाली नागरिकले जनस्वास्थ्यका मापदण्ड, स्वास्थ्यमा सचेतना, खानेपानी शुद्ध र खानेकुरा बासी सढेगलेका नखाने, फास्टफुड नखाने, मद्यपान धुम्रपान नगर्ने, लागुपदार्थ सेवन नगर्नेजस्ता कुराहरु गरिदिनुभयो भने अहिले कोभिडले बढाएको चुनौति सँगसँगै हाम्रो मनसुन र मौसमले बढाउने चुनौतिलाई पनि न्युनिकरण गर्नसक्छौं ।’ स्वास्थ्य सामग्रीको अभावमा राहत उद्धार प्रभावित हुँदैन विभिन्न प्रकोपको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले तीन तहका सरकारसँग भर्चुअल र प्रत्यक्ष बैठकहरु गरिरहेको बताए । विपद्को पूर्वतयारी र राहत उद्धारको लागि आवश्यक सामग्रीको मौज्दातहरुमध्ये स्थानीय तहले कति किन्ने राख्ने। प्रदेशले कति किन्ने राख्ने र संघले कति किन्ने राख्नेबारे पनि टुंगो लागिसकेको बताए । विगतमा जस्तो सामग्रीको अभावमा काम नै रोकिने अवस्था नआउने बताए । कुन क्षेत्रमा, कहाँ कस्तो विकटता छ, त्यसको अध्ययन गर्न र त्यहाँ रहेका जनप्रतिनिधिकै संलग्नतामा र्‍यापिड रेस्पोन्स टीमहरु गठन गरी देशभर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको बताए । साथै विपद्मा परेकाहरुको तत्काल उद्धार कार्यका लागि मन्त्रालयको हटलाइन नम्बर, हेलो स्वास्थ्यका नम्बरमा, प्रदेश स्तरका आकस्मिक सेवाका सम्पर्क नम्बर र स्थानीय तहका आकस्मिक सेवाका सम्पर्क नम्बरमा खबर गरेर सेवा लिन दिन सकिने बताए । उनले भने, ‘हामी कहाँ भौगोलिक रुपले हिमाल, पहाड र तराईका विविध कठिनाईहरु छन् । जसले गर्दा बाटो वा सवारी साधन अथवा अन्य केहीपनि उपलब्ध नहुनसक्ने वा बन्द हुनसक्ने अवस्था आउन सक्छ । त्यसको पूर्वतयारीका लागि हामीले २५ वटा हव हस्पिटलमै इमर्जेन्सी लजिष्टिकका ट्यांकरहरु पनि राखेका छौं । त्यस्तै जिल्ला अस्पतालहरु र अन्य स्वास्थ्य संस्थाहरु निजी, सहकारी र सरकारी सबैलाई विपद्का लागि इमर्जेन्सी लजिष्टिकहरु पहिले नै भण्डारण गरेर राख्नुस् । त्यहाँका क्यान्टिनहरुलाई पनि कम्तिमा १५ दिन पुग्नेगरी भण्डारण गर्न लगाउनुस् भन्ने किसिमले तयारी गरेका छौं । हामीले त्यहीअनुसार मेचीदेखि महाकालीसम्मका सबै सेटेलाइट हस्पिटल र हव हस्पिटललाई पनि तयारी गरिसकेका छौं ।’ डा. बुढाथोकीले अहिलेको मनसुनमा विगतको वर्षभन्दा धेरै गर्मी हुने र धेरै वर्षा हुने आँकलन आइरहेकोले त्यसैअनुसार काम गर्नसक्ने गरी स्वास्थ्य मन्त्रालयले काम गरिरहेको बताए । नेपालको पश्चिम-उत्तरका क्षेत्रहरुमा एकातिर जलवायु परिवर्तनका कारण अधिक वर्षा हिउँ पहिरो जाने जोखिम छ भने तराई क्षेत्रमा अत्यन्त गर्मी भएर हिट वेभ र हिट स्ट्रोकको जोखिम रहेकोले मन्त्रालयले अलग्गै रणनीति बनाएर काम गरिरहेको बताए । विगतमा भएका काम र त्यसबाट प्राप्त अनुभवले नयाँ रुपमा रेस्पोन्स गर्नलाई मातहतका निकायलाई निर्देशन दिइएको बताए । मनसुन सक्रिय रहेको सडक बाटो बिगार्ने अवरोध हुने अवसथालाई ध्यानमा राख्दै स्वास्थ्यको आकस्मिक सेवा राहत उद्धारको लागि बाटोबाट सम्भव भए बाटोबाट र सम्भव नभए हवाई मार्गको माध्यमबाट, नेपाली सेनाको सहयोगमा र विभिन्न निकायसँग सहकार्य गर्ने र गृह मन्त्रालयसँग पनि विपद्सँग सहकार्य गरेर हेलिकप्टरमार्फत पनि सेवा पुर्‍याउने गरी कार्यढाँचा तयार गरिएको बताए ।