हिमाल डेन्टल अस्पतालले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । हिमाल डेन्टल अस्पताल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा दुवै संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो । सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल अस्पतालले दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालले रुट क्यानल उपचार, ओरल सर्जरी, रेडियोलोजी, अर्थोडोन्टिक्स, पेडोडोन्टिक्सलगायतका सेवा सञ्चालन गर्दै आएको जनाएको छ । साथै अत्याधुनिक उपकरण तथा प्रविधिमार्फत सेवा विस्तार गर्दै आएको पनि कम्पनीले उल्लेख गरेको छ । अस्पतालसँगै सञ्चालित हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्सले दन्त स्वास्थ्य शिक्षामा प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ । संस्थाले हाल विभिन्न डेन्टल सम्बन्धी तालिम सञ्चालन गरिरहेको तथा निकट भविष्यमा ब्याचलर इन डेन्टल सर्जरी (बीडीएस) र ब्याचलर इन डेन्टल हाइजिन (बीडीएच) कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । संस्थाले दन्त स्वास्थ्य सेवा विस्तारसँगै समुदायस्तरमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आईपीओ निष्कासनपछि संस्थागत क्षमता विस्तार गर्दै दन्त स्वास्थ्य सेवा र शिक्षामा थप लगानी गर्ने लक्ष्य कम्पनीले लिएको छ ।  

बिर्तामोडको आकाशमा उडे रकेट र चन्द्रयान, ४० लाखमा बन्याे एआई ल्याब

काठमाडौं । विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण । आँखै अगाडि एकपछि अर्को गर्दै सरर्र उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानको नमूना देखेर विद्यार्थीहरू एकाएक चकित परे । नहोस् पनि किन, किताबका पानामा मात्र सीमित हुने विज्ञान र प्रविधिको संसार सोमबार बिर्तामोड-१ स्थित ग्रीन फिल्ड वर्ल्ड स्कुलको प्राङ्ग्रणमै प्रत्यक्ष रूपमा देख्न पाइएको थियो । अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित भारतको एरोबे कम्पनीको प्राविधिक सहकार्यमा आयोजित सो विशेष हवाई प्रदर्शनीमा विद्यार्थी मात्र होइन, उपस्थित अभिभावक र स्थानीय पनि रोमाञ्चित बने । ‘एरोबे रोबोटिक्स’को प्रयोगात्मक अभ्यास अन्तर्गत आयोजना गरिएको यो प्रदर्शनीले सबैलाई आधुनिक प्रविधिको कौतुहल र सम्भावनासँग प्रत्यक्ष साक्षात्कार गराएको थियो । आकाशमा रकेट र चन्द्रयान उडाउनु केवल एक दिनको रमाइलो मात्र थिएन, विद्यालयले आफ्ना विद्यार्थीलाई प्रविधिको भविष्यसँग स्थायी रूपमा जोड्ने आधार तयार पारेको छ । प्रदर्शनीसँगै विद्यालय परिसरमा करिब ४० लाख रुपैयाँको लगानीमा निर्मित ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को औपचारिक उद्घाटन पनि गरियो । विद्यालयका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत र पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद भट्टराईले विशेष समारोहबीच उक्त आधुनिक प्रयोगशालाको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष गोपाल कुमार बस्नेतले आजको शिक्षा प्रणाली अब परम्परागत पाठ्यपुस्तकमा मात्र सीमित रहन नसक्ने स्पष्ट पारे । ‘भविष्यका चुनौतीसँग प्रतिस्पर्धा गर्न हाम्रा विद्यार्थीलाई सुरुदेखि नै सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो । अबका विद्यार्थीले केवल अरूले बनाएको प्रविधि प्रयोग गर्ने मात्र होइन, आफैं नयाँ प्रविधिको सिर्जना गर्ने क्षमता विकास गर्नुपर्छ । यो ल्याब उनीहरूको कल्पनाशक्तिलाई व्यवहारमा उतार्ने थलो बन्नेछ,’ उनले भने ।  डा शरद भट्टराईले आधुनिक शिक्षामा गरिएको यो दूरदर्शि लगानीले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा गुणात्मक सुधार ल्याई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे । विद्यालयले अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री शिक्षण वातावरण निर्माणमा देखाएको यो अग्रसरता प्रशंसनीय रहेको उनको भनाइ छ ।  विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार ल्याबमार्फत विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षासँग प्रत्यक्ष जोड्दै अनुसन्धान र नवप्रवर्तनको क्षमता अभिवृद्धि गराइनेछ । ‘विश्वभर तीव्र रूपमा विकास भइरहेको रोबोटिक्स र एआईसम्बन्धी ज्ञान विद्यालय तहदेखि नै दिन पाउनु हाम्रा लागि गर्वको विषय हो,’ उनले भने । विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले प्रयोगशालामा विद्यार्थीले रोबोट निर्माण, प्रोग्रामिङ, कोडिङ, डिजाइन थिंकिङ र स्वचालन प्रविधि जस्ता व्यावहारिक सीप सहज रूपमा सिक्ने जानकारी दिए । विद्यालयका सहायक प्रधानाध्यापक रोजीना कार्कीका अनुसार नेपालमा पहिलोपटक प्रतिष्ठित ‘एरोबे कम्पनी’ सँग सहकार्य गरेर यस प्रकारको आधुनिक ल्याब सञ्चालनमा ल्याइएको हाे । उनले विद्यार्थीहरूले विभिन्न तहअनुसार रोबोटिक्स, इलेक्ट्रोनिक्स र स्वचालित प्रणालीसम्बन्धी परियोजनामा सहभागी भई सृजनात्मक काम गर्ने क्षमता निखार्ने विश्वास व्यक्त गरिन् । 

८० चिकित्सकमध्ये ७१ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन् । शनिबार वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि मृतकका परिवार र आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा प्रमोद राममाथि कुटपिट गरेका थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा चित्र रञ्जन साहका अनुसार अस्पतालमा कार्यरत ८० चिकित्सकमध्ये ७१ जनाले मङ्गलबार सामूहिक राजीनामा दिएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका डा. रामको हाल काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको विरोधमा वीरगन्जका चिकित्सकहरूले आइतबारदेखि आन्दोलन गर्दै आएका छन् ।