एक महिना लगातार एलोभेरा जुस पिउँदा शरीरमा के–के परिवर्तन आउँछ ?
काठमाडौं । एलोभेरा (घ्युकुमारी) आयुर्वेदमा शताब्दीयौँदेखि प्रयोग हुँदै आएको औषधीय वनस्पति हो । पछिल्लो समय तौल घटाउने, पाचन सुधार्ने, छालाको चमक बढाउने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यले धेरैले एलोभेरा जुस सेवन गर्न थालेका छन् । आयुर्वेद विशेषज्ञ डा. राजेश बयारीका अनुसार आयुर्वेदमा एलोभेरालाई ‘कुमारी’ भनिन्छ । यसले शरीरको समग्र स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ । एलोभेरामा भिटामिन ए, सी, ई, बी–कम्प्लेक्स, फोलिक एसिड, क्याल्सियम, म्याग्नेसियम र जिंकजस्ता पोषक तत्त्व पाइन्छन् । शरीरमा कस्तो असर पर्न सक्छ ? विशेषज्ञका अनुसार ३० दिनसम्म सीमित मात्रामा एलोभेरा जुस सेवन गर्दा केही व्यक्तिमा पाचन सुधार हुन सक्छ । शरीरमा पानीको मात्रा सन्तुलित राख्न र एन्टिअक्सिडेन्टको लाभ प्राप्त गर्न पनि सहयोग पुग्न सक्छ । कतिपयमा कब्जियत कम हुने, पेट हल्का महसुस हुने र ऊर्जा बढेको अनुभव हुन सक्छ । तर यसको प्रभाव सबै व्यक्तिमा समान नहुन सक्छ । पाचन प्रणालीमा फाइदा एलोभेरा जुसले पाचन प्रणालीलाई सहयोग गर्ने विश्वास गरिन्छ । यसले केही व्यक्तिमा कब्जियत तथा इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) का केही लक्षण कम गर्न मद्दत गर्न सक्छ । साथै ग्यास र अम्लपित्तको समस्या कम गर्न पनि सहयोगी हुन सक्ने चिकित्सकको भनाइ छ । छाला र रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव एलोभेरामा रहेका एन्टिअक्सिडेन्ट र अन्य सक्रिय तत्त्वले शरीरमा हुने अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्न सक्छन् । पर्याप्त पानी र सन्तुलित आहारसँगै यसको सेवनले छालाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने बताइएको छ । विशेषज्ञका अनुसार पाचन प्रणाली स्वस्थ हुँदा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन पनि सहयोग पुग्न सक्छ । तौल घटाउन कत्तिको उपयोगी ? एलोभेरा जुसले मात्रै तौल घटाउँछ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण छैन। तर सन्तुलित आहार, नियमित व्यायाम र क्यालोरी नियन्त्रणसँगै यसको सेवन गर्दा तौल व्यवस्थापनमा केही सहयोग पुग्न सक्ने चिकित्सकको भनाइ छ। कहिले र कसरी पिउने ? आयुर्वेद चिकित्सकका अनुसार एलोभेरा जुस बिहान खाली पेट पिउनु उपयुक्त मानिन्छ । १५ देखि २० मिलिलिटर जुसलाई बराबर मात्रामा मनतातो पानीमा मिसाएर सेवन गर्न सकिन्छ । यी व्यक्तिले अपनाउनुपर्छ सावधानी एलोभेराको प्रकृति चिसो हुने भएकाले गर्भवती महिला, स्तनपान गराइरहेका आमा तथा विशेष स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना यसको नियमित सेवन गर्नु हुँदैन । विशेषज्ञहरूले एलोभेरा जुसलाई स्वस्थ जीवनशैलीको पूरकका रूपमा लिन सुझाव दिएका छन् । यसलाई कुनै रोगको उपचारको विकल्पका रूपमा भने प्रयोग गर्न नहुने उनीहरूको भनाइ छ । एजेन्सीको सहयोगमा
‘स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, स्वास्थ्य र आत्मविश्वास बढाउँछ’
काठमाडौं । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा सप्ताहव्यापी सचेतना कार्यक्रम सुरु भएको छ । ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानस् प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔं’ भन्ने सन्देशसहित कार्यक्रम सुरु भएको हो । कार्यक्रममा चिकित्सकहरूले स्तनपानसम्बन्धी विभिन्न भ्रम चिर्दै यसको स्वास्थ्यगत महत्त्वबारे स्पष्ट पारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै स्त्री तथा प्रसूति रोग विभागकी विभागीय प्रमुख तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा. डा. रिता मरहठ्ठाले स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताइन् । नियमित स्तनपान गराउने महिलामा स्तन तथा पाठेघरसम्बन्धी क्यान्सरको जोखिम कम हुने, प्रसूति पश्चात् पाठेघर चाँडै सामान्य अवस्थामा फर्किन सहयोग पुग्ने र शारीरिक पुनःस्थापनामा समेत स्तनपान प्रभावकारी हुने उनको भनाइ थियो । पछिल्लो समय स्तनपान गराउँदा महिलाको शारीरिक सौन्दर्यमा असर पर्छ भन्ने भ्रम समाजमा फैलिएको उल्लेख गर्दै उनले यस्तो धारणा वैज्ञानिक आधारविहीन रहेको स्पष्ट पारिन् । ‘स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, बरु उनीहरूको स्वास्थ्य, आत्मविश्वास र प्राकृतिक सौन्दर्यलाई अझ सुदृढ बनाउँछ । नियमित स्तनपानले आमा र बच्चा दुवैलाई दीर्घकालीन फाइदा पुग्छ,’ उनले भनिन् । बालरोग विशेषज्ञ प्रा. डा. गणेश साहले जन्मेदेखि पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्नेमा जोड दिए । आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने र संक्रमणबाट जोगाउने उनले बताए । उनले जन्मिएलगत्तै दूध नआएको भन्दै हतारमा फर्मुला दूध प्रयोग गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे । अस्पताल निर्देशक प्रा. डा. नीलमणि उपाध्यायले सामाजिक सञ्जाल र केही सार्वजनिक व्यक्तित्वबाट फैलाइएका गलत धारणाका कारण कतिपय महिलाले स्तनपानबाट टाढिन थालेको उल्लेख गर्दै वैज्ञानिक तथ्यमा आधारित सचेतना आवश्यक रहेको बताए । स्तनपानले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो । कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारीले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य तथा पोषणका लागि स्तनपान अपरिहार्य रहेको बताइन् । नियमित स्तनपान गर्ने आमा र शिशुको स्वास्थ्य तुलनात्मक रूपमा राम्रो रहने उल्लेख गर्दै उनले नेपाली समाजमा स्तनपानको महत्वबारे अझ व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइन् । कार्यक्रमका क्रममा नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरूले सेवाग्राहीलाई स्तनपान गराउने सही तरिका, आमाको दूधका फाइदा तथा स्तनपानसम्बन्धी सामान्य जिज्ञासाको समाधानबारे परामर्श दिएका थिए । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताह अन्तर्गत नेपाल मेडिकल कलेजले साताभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । थप तस्बिरहरू :
त्रिविको रजिष्ट्रारमा अर्याल र रेक्टरमा खनाल दाबेदार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका रजिष्ट्रार र रेक्टर पदमा नियुक्तिका लागि तयारी हुँदै गर्दा हप्राध्यापक डा. कुन्दन अर्याल र प्राध्यापक डा. शंकरप्रसाद खनालको नाम सम्भावित दाबेदारका रूपमा अगाडि आएको छ । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार पद विश्वविद्यालयको प्रशासनिक संरचनाको महत्वपूर्ण जिम्मेवारी मानिन्छ । आर्थिक व्यवस्थापन, नीति कार्यान्वयन, प्रशासनिक समन्वय तथा विश्वविद्यालयका दैनिक व्यवस्थापनसँग सम्बन्धित विषयमा रजिष्ट्रारको भूमिका निर्णायक हुन्छ । विश्वविद्यालय स्रोतका अनुसार सहप्राध्यापक डा. अर्यालको नाम रजिष्ट्रार पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएको छ । प्राज्ञिक क्षेत्रको अनुभव र विश्वविद्यालय प्रशासनसम्बन्धी ज्ञानका कारण उनको नाम अगाडि आएको स्रोतको दाबी छ । अर्याललाई विश्वविद्यालयभित्र प्राध्यापन तथा अनुसन्धान क्षेत्रमा सक्रिय प्राज्ञिक व्यक्तिका रूपमा हेरिन्छ । विश्वविद्यालयको प्रशासनिक नेतृत्वमा जाने व्यक्तिका लागि आवश्यक मानिने शैक्षिक अनुभव, संस्थागत बुझाइ र व्यवस्थापकीय क्षमताका आधारमा उनको नाम चर्चामा आएको श्रोतको दाबी छ । अर्यालको भोली सोमबार प्राध्यापक पदको भाइवा रहेको छ । सोमवार बेलुकाबाट प्राध्यापकमा पदोन्नती हुँदै गरेका अर्याल पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख समेत हुन् । रेक्टरमा खनालको नाम त्रिविको रेक्टर पद शैक्षिक नेतृत्वसँग जोडिएको महत्वपूर्ण जिम्मेवारी हो । शैक्षिक नीति निर्माण, अनुसन्धान प्रवद्र्धन, पाठ्यक्रम सुधार तथा प्राज्ञिक कार्यक्रमको समन्वयमा रेक्टरको भूमिका रहन्छ । यस पदका लागि प्राध्यापक डा. शंकरप्रसाद खनालको नाम पनि सम्भावित दाबेदारका रूपमा चर्चामा रहेको श्रोतले बताएको छ । लामो समयदेखि प्राध्यापन तथा प्राज्ञिक क्षेत्रमा सक्रिय खनाललाई विश्वविद्यालयको शैक्षिक नेतृत्वका लागि योग्य व्यक्तिका रूपमा केही समूहले अघि सारेको स्रोतको भनाइ छ । हाल कामु रेक्टर रहेका खनाल तथ्यांक विभागका पुर्वप्रमुख समेत हुन् । त्रिभुवन विश्वविद्यालय पछिल्लो समय शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थापन, अनुसन्धानको विस्तार र प्रशासनिक सुधारका विषयमा निरन्तर दबाबमा छ । शिक्षामन्त्री तथा विश्वविध्यालयका सहकुलपति सस्मित पोखरेल निकट श्रोतका अनुसार नयाँ पदाधिकारी चयनलाई विश्वविद्यालय सुधारको दिशासँग जोडेर हेरिएको छ । विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी वृत्तले नयाँ नेतृत्वमा प्रशासनिक दक्षतासँगै प्राज्ञिक दृष्टिकोण, पारदर्शिता र संस्थागत सुधारको क्षमता भएका व्यक्तिको आवश्यकता औंल्याउँदै आएका छन् । त्रिविको रजिष्ट्रार र रेक्टर नियुक्ति प्रक्रिया उपकुलपतिको सिफारिस तथा विश्वविद्यालय ऐनअनुसार अघि बढ्नेछ । गत असारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका थिए । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका थिए ।