विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न/नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक हङ्सराज पाण्डेले जानकारी दिए । उनले भने, 'विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ । अवज्ञा वा अटेरगर्नेलाई कारवाही हुनेछ ।' नेपालीहरुका महान चाड दसैँ–तिहार नजिकिँदै जाँदा विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा उडाउने गरिन्छ ।  

कामना सेवाले मेची आँखा अस्पताललाई दियो वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन

काठमाडौं । कामना सेवा विकास बैंकले बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अस्पतालमा सेवा लिन आउने बिरामी र उनीहरूको आफन्तलाई लक्षित गरी उपलब्ध गराइएका यी सामग्रीले विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीलाई उपचार प्रक्रियामा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ । वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले अस्पतालका तर्फबाट बैंकलाई धन्यवाद ज्ञापन गर्दै यस्तो परोपकारी कार्यले स्वास्थ्य सेवामा पहुँच र सुविधा बढाउने बताएका छन् ।

दरबन्दी, सेवा सुविधा र न्यून तलबबारे शिक्षा मन्त्रालयमा ध्यानाकर्षण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी  परिषद्ले सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्नुपर्ने लगायत माग प्रस्तुत गरेको छ । परिषद्ले विद्यालय कर्मचारीका लामो समयदेखि थाँती रहेको समस्या र विगतमा सरकारसँग भएका सहमतिका आधारमा उचित सम्बोधनका लागि शिक्षामन्त्री पुनलाई बिहीबार केशरमहलस्थित मन्त्रालयमा भेटेर आग्रह गरेको जनाइएको छ ।  परिषद्का केन्द्रीय अध्यक्ष गङ्गाराम तिवारीले शिक्षामन्त्री पुनले आफूलाई विद्यालय कर्मचारीका समस्या थाहा भएको र चाडपर्वपछि आपसमा बसेर के सम्बोधन गर्न सकिन्छ गरौँला भन्ने आश्वासन दिएको जानकारी दिए  । मन्त्री पुनले वर्तमान सरकार निर्वाचन गराउने मुख्य दायित्वका साथ आएकाले धेरै अपेक्षा नगर्न पनि आग्रह गरेका थिए । परिषद्का बागमती प्रदेश कमिटीका अध्यक्ष रामशरण फुयाँलले प्रत्येक सामुदायिक विद्यालयमा एक कम्प्युटर शिक्षकको दरबन्दी राख्न शिक्षामन्त्री पुनको हालैको निर्देशनलाई सकारात्मक मान्दै कम्प्युटरमा क्षमतावान लेखापाललाई नै उक्त दरबन्दीमा रूपान्तरण गर्न सकिने सुझाव मन्त्री पुनलाई दिइएको बताए  ।  प्रदेश अध्यक्ष फुयाँलले त्यति रकमले कसरी ती कर्मचारीले परिवार पाल्ने भन्ने विषयमा गम्भीर भएर सोच्न मन्त्रालयलाई ध्यानाकर्षण गराइएको बताए । सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशमा कर्मचारीको सेवा, सर्त, सुविधा उल्लेख गरी सर्भिस ल बनाइ कार्यान्वयन गर्न उल्लेख  गरिए पनि हाल विद्यालयका लेखापालले मासिक १५ हजार रुपैयाँ र कार्यालय सहायकले १० हजार रुपैयाँ पाउँदै आएका छन् ।  सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकमा विद्यालय कर्मचारीलगायतका समस्या सम्बोधनको पहल गरिएको भए पनि प्रतिनिधिसभाको विघटन भएकाले अहिले कानुन बन्ने स्थिति छैन ।