दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या
दैलेख । जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ । तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताए । 'संरचना अभावमा बेड राख्ने ठाउँ छैन, बिरामीलाई भुइँमा म्याट र कुर्ची राखेर उपचार गर्नुपर्ने बाध्यता छ', उनले भने । नयाँ भवन निर्माण गर्न थालेको चार वर्ष भएपनि सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेश सरकारको रु १८ करोड २४ लाखको लागतमा उक्त भवन बन्दै छ । भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको प्रमुख विश्वकर्माले बताए । अस्पताल भवन निर्माणको सम्पूर्ण प्राविधिक पक्ष हेर्दै आएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला र निर्माणमा संलग्न क्याराभान सुपरस्टार जेभी निर्माण कम्पनीको लापरवाहीले भवन समयमै नबनेको आरोप छ । निर्माणमा संलग्न कम्पनीका सञ्चालक तारा शाहले विभिन्न कानुनी अल्झन तथा रुख कटानको समस्याले समयमै भवन निर्माण कार्यले गति लिन नसकेको बताए । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले गत वर्ष जेठभित्र भवन निर्मार्ण गरिसक्नुपर्ने सम्झौता रहेको बताए । उनले भवन निर्माण गर्न पटक पटक म्याद थप गर्न नसकिने बताए ।
१७ हजारको जागिरले युवालाई विदेशिन बाध्य बनाएको छ : सागर पाण्डे
काठमाडौं । ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् । नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै पाण्डेले केही दिन अगाडि भएको जेनजी आन्दोलन निजी क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् । जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए । सरकारले समेत यो क्षेत्रमा ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए । अहिलेको अवस्थामा तीन महिनाका लागि पर्यटकहरुका लागि भिसा फ्रि गर्नुपर्नेमा जोड दिए । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पीडा एक खालको भएपनि त्यो भन्दा बढी क्षति नभएमको संरचनाहरु समेत पीडामा रहेको बताए ‘हाम्रो ठाउँबाट पनि सच्चिनुपर्छ ’ ‘करप्सनका विरुद्धमा भएको जेनजी आन्दोलनमा नीजि क्षेत्रको नेक्सस कति छ ? समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ । आन्दोलनको प्याटर्न हेर्दा त्यो आभास पाउछौं,’ अध्यक्ष पाण्डेले भने । नेपालमा गुणस्तरीय रोजगारीका अवसर नहुँदा युवाहरु विदेशिने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेपालमा बीएचएम गरेका युवाले १७ हजारको जागिर खानुपर्ने अवस्था रहेको बताउँदै त्यही भएर युवाहरु विदेशीने गरेको उनको भनाई थियो । ‘नेपालमा जब भएन भन्छौं, क्वालिटी जब भएन । बीएचएम गरेको भाई बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौं । यस्तो अवस्थामा युवाहरु नेपालमा बस्न सक्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘१७ हजारमा नबिकेका भाईबहिनीहरु कतार, मलेसियामा जान्छन् । नेपालको आर्थिक विकासको प्रमुख समस्या हो ।’ राज्यका संयन्त्रहरुले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा आर्थिक गतिविधि समेत राम्रोसँग अघि बढ्न नसकेको उनको भनाई छ । राज्यका संयन्त्रमा जवाफदेहीता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको बताउँदै राज्य जवाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गरे । ‘भ्रष्टाचार अन्त्यका लागि आर्थिक पारदर्शिता’ हिजो सरकारी संयन्त्रहरुमा रहेको भ्रष्टाचार अहिले नीजि क्षेत्रमा समेत व्याप्त भइरहेको बताए । ‘भ्रष्टाचारको कुरा गर्दा हिजोसम्म सरकारी संयन्त्रमा थियो । अहिले बैंकमा पनि सरेको छ । हुँदाहुदै नीजि क्षेत्रका बैंकमा समेत सरेको छ,’ पाण्डेले भने । जेनजी आन्दोलनको माग नै भ्रष्टाचारको अन्त्य भएको बताउँदै त्यसको अन्त्यका लागि आर्थिक कारोबारमा पारदर्शीता हुनुपर्ने बताए । भ्रष्टाचार निकै व्याप्न भएको बताउँदै अहिलेका बच्चाहरु कुनै सरकारी कार्यालयमा गएर काम गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘मेरो बच्चा कुनै काममा लागि एक दिन सरकारी कार्यालय गयो भने एकै दिनमा थाकेर अर्कोदिनदेखि जाँदैन ।’ बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र कुपोषण लागेको बच्चा जस्तै भएको उनको भनाई छ । नेपालमा पर्यटन क्षेत्रमा बृद्धि भइरहेको तथ्यांक आउने गरेको प्रति असहमति जनाउँदै निकै सुस्त गतिमा बढिरहेको बताए । सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक आएको नेपालमा अहिले ११ लाख ५० हजार मात्रै आएको बताए । उक्त तथ्यांकका आधारमा प्रत्येक वर्ष २५ हजारले मात्रै बृद्धि भइरहेको बताए । नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका देशहरुमा समेत नेपालको तुलानामा निकै बढी पर्यटक आउने गरेको उनले बताए । पर्यटक बढाउनका लागि राज्यले शान्ति सुरक्षाको प्रत्याभूति, सडक तथा हवाई पुर्वाधारको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।
स्काईपिक एड्भेन्चरस पार्कले २१ प्रतिशत आईपीओ जारी गर्ने
काठमाडौं । स्काईपिक एड्भेन्चरस पार्क लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले जारी पुँजीको २१ प्रतिशत सेयर सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको हो । आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १ गते बिहान ९ बजे प्रथम वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता नियुक्त गर्ने, सेयर इस्यू रेटिङ गर्ने, सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्नेछ । यस्तै, सभाले स्थिर सम्पत्तिको भोगचलन एवं लिज सम्झौता व्यवस्थापन गर्ने र जग्गा खरिद गर्ने एंव खरिद कार्यको अनुमोदन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वार्षिक २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।