आइजीआई प्रुडेन्सियलले विदेशी पर्यटकका लागि सुरु गर्यो नयाँ बीमालेख
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउनका लागि विदेशी पर्यटकलाई लक्षित गरी नयाँ बीमालेख सुरु गरेको छ । कम्पनीले हिमालयन गार्डियन नेपाल ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँग सहकार्य गर्दै बीमालेख सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठका अनुसार बीमालेखमार्फत नेपाल भ्रमण, पदयात्रा तथा हिमाल आरोहणका लागि आउने पर्यटकलाई सुरक्षित र ढुक्क भएर यात्रा गर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । बीमालेखमा सांस्कृतिक, शैक्षिक तथा अवकाश यात्रुका लागि पहिलो तह, पदयात्राका लागि दोस्रो तह र हिमाल आरोहणका लागि तेस्रो तहको सुविधा समावेश गरिएको छ । यस योजनाअनुसार दुर्घटना भएमा सहज र नगदरहित उपचारको सुविधा उपलब्ध हुनेछ । बीमा लिने प्रत्येक पर्यटकलाई सेटेलाइट जडित विशेष उपकरण प्रदान गरिनेछ जसबाट आपतकालीन अवस्थामा सिधै सेवा प्रदायक तथा चिकित्सकसँग सम्पर्क गरी तत्काल उद्धार सम्भव हुनेछ । बीमालेख अन्तर्गत आपतकालीन उद्धार खर्च, अस्पताल उपचार खर्च, उच्च जोखिम क्षेत्रमा हुने स्वास्थ्य समस्याको सुरक्षा, दुर्घटनाबाट अपाङ्गता वा मृत्यु भएमा बीमा लाभ तथा २४ सै घण्टा आपतकालीन सहायता सेवा समावेश हुने जनाइएको छ । कम्पनीले यस बीमालेखले पर्यटक संख्या वृद्धि र बसाइ अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास लिएको छ । साथै, यसले नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु परिचित गराउने अपेक्षा गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण २८.५० प्रतिशत सम्पन्न, ३ वर्षभित्रै सक्ने लक्ष्य
काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण कार्यको प्रगति २८.५० प्रतिशत पुगेको छ । आयोजनाको सुपरीवेक्षणको जिम्मा पाएको काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं यूनिकन्सल्ट सेन्टर’ ले प्रगति २८.५० प्रतिशत पुगेको जनाएको हो । २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको भवन निर्माण कार्यको भौतिक प्रगति हालसम्म २८.५० प्रतिसत पुगेको आयोजनाको सुपरीवेक्षण गरिरहेका काठमाडौं युनिकन्सल्टका इन्जिनियर मन्नुप्रसाद चौधरीले जानकारी दिए । पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद रहे पनि भवन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्शन र रेलिगेर सम्मिलित संयुक्त कम्पनीले तीन वर्षमै सक्ने लक्ष्यसहित काम गरिरहेको आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर चौधरीले बताए । आयोजनाको हालसम्मको प्रगति लक्ष्यअनुरुप अगाडी बढेको बताउदै उनले कुनै बाधा अवरोध नभए निर्धारित समय अगावै काम सकिने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं यूनिकन्सल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ माध्यमबाट सुपरीवेक्षणको जिम्मा दिइएको सो आयोजनाको प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले सुपरीवेक्षण गरिरहेको साइट इन्जिनियर शंकर सुवेदीले बताए । निर्माण कम्पनीको १० जना विशेष प्राविधिक सदस्यसहित २२० जना कामदारहरू दैनिक रूपमा खटिएको इन्जिनियर सुवेदीले जानकारी दिए । आयोजनाकाअनुसार हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ भने दोस्रो बेसमेन्टको ढलान पनि सकिएको छ । अस्पतालका पुराना संरचना हटाउने काम (साइट क्लियरेन्स) पछि निर्माण शुरु भएको करिव चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको आयोजनाको दाबी छ । पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि ३ वर्ष भित्रै सक्नेगरी कामले तिब्रता पाएको प्राविधिकहरुको भनाई छ । सरकारले दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १ सय ९९ रुपैयाँ रहने अनुमान गरेको छ । २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको निर्माण कार्यको म्याद आगामी २०८५ पुस २५ सम्म रहेको छ । निर्माणाधीन नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको छ । यसमा विशिष्टीकृत ग्यास्ट्रो एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका सबै विभागीय सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।
यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने
काठमाडौं । यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले सेयर प्रिमियममा आईपीओ जारी गर्ने निर्णय गरेको हो । आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते दिउँसो ३ बजे रजिस्टर्ड कार्यालय तिलगंगा काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ । सभाले कम्पनी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति र कार्य योजना पारित गर्नेछ ।