बैठकमा बोलाएर आफूमाथि अपमानजनक व्यवहार गरिएको निजी मेडिकल सञ्चालकहरूको आरोप
काठमाडौं । निजी मेडिकल सञ्चालकहरूले आफूहरूलाई बैठकमा बोलाएर अपमान गरेको बताएका छन् । आन्दोलनरत नर्सहरूको तलब स्केलका विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालयमा बैठक आयोजना गरेको र त्यसमा सहभागी भएर छलफल गरिरहेका बेला आफूमाथि बैठकमै अपमान गर्दा बैठक छोडेर भाग्नु परेको बताएका छन् । एशोसियसन अफ मेडिकल डेन्टल कलेज नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की र एशोसिएसन अफ प्राइभेट अस्पताल नेपालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद रिजालले संयुक्त विज्ञप्ति निकाल्दै आफूमाथि बैठकमा अपमानजनक व्यवहार हुँदा बैठकबाट निस्कनुपरेको बताएका छन् । ‘औपचारिक वार्ता भइरहेको क्रममा आआफ्ना तर्फबाट विषयवस्तु राख्दै गर्दा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा 'माफिया' लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानका आधारमा समस्या समाधान गर्न प्रतिवद्ध रहँदै आएको भन्दै नर्सहरूको योगदानको सम्मान गर्दै मागहरू प्रति सकारात्मक रहेको बताएका छन् । तर, यस्तो अपमानजनक व्यवहारले वार्ताको वातावरण बिगार्नुका साथै आपसी विश्वासमा आघात पुर्याएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट रूपमा उल्लेख गर्न चाहन्छौ यस्तो अवस्था सिर्जना हुनुमा राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापन जिम्मेवार छ । सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण यस्तो अप्रिय परिस्थिति उत्पन्न भएको हो। त्यसैले, यस घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ।’
‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ
म्याग्दी । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किइन् । काभ्रे बनेपाकी अनुषा लामा पनि क्याम्पसका साथीहरुसँगै अन्नपूर्ण आधार शिविर पुगेर फर्किइन् । पोखराकी दिवाना र बनेपाकी अनुषा लामा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा आएका ‘जेनजी’ उमेर समूहका किशोरकिशोरी र युवायुवतिका प्रतिनिधि पात्र हुन् । दशैंलगत्तै मौसममा सुधार आएपछि बिदामा मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा अपेक्षा गरेभन्दा धेरै आन्तरिक पर्यटक आएका छन् । दैनिक तीन सय जनाको अनुपातमा अन्नपूर्ण आधार शिविर घुम्न आउने आन्तरिक पर्यटकमध्ये ८० प्रतिशत ‘जेनजी’ पुस्ताका रहेका पञ्चकुण्ड ताल नजिकै होटल सञ्चालन गरेकी नरिमाया गर्बुजा गुरुङले बताए । ‘सामाजिक सञ्जाल र सञ्चार माध्यमको भिडियो, फोटो हेरेर यहाँ आउनेहरु धेरै छन्,’ उनले भने ‘अपेक्षा गरेभन्दा र हाम्रो होटलको क्षमता भन्दा धेरै पर्यटक आउँदा खाना र बसाइ व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।’ विदेशी पर्यटक न्यून मात्रामा छन् । पदमार्गमा प्रौढ र पाका उमेरका पदयात्रीहरु कमै भेटिन्छन् । दश जोड दुई र क्याम्पस तहको अध्ययन गर्ने उमेर समूहका युवायुवतीका समूह तस्बिर, भिडियो बनाएर प्रकृतिसँग रमाइहेको भेटिन्छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखेको तस्बिर र भिडियोले लोभ्याएर अन्नपूर्ण आधार शिविर घुम्न आएको तनहुँको देवघाटकी सङ्गीता लामाले बताइन् । ‘हिमाल र फेदीमा ठूलो ताल एकै पटक अवलोकन गर्न पाउनु यहाँको मुख्य विशेषता हो,’ उनले भनिन् ‘हाम्रो पुस्तामा नयाँ नयाँ ठाउँ घुमघाम गरेर छुट्टी मनाउने ‘टेण्ड’ बढेको छ ।’ सामाजिक सञ्जाल र प्रविधिमा अभ्यस्त ‘जेनजी’हरु नयाँ, नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहने पर्वतको जलजला गाउँपालिका–४ का सन्दर्भ आचार्यले बताए । छोटो दुरीमा आधार शिविरमा पुग्न सकिने, हिमाल, ताल, फरक फरक भूगोल, नदीनाला, झरना, वनजङ्गल, वन्यजन्तु र पक्षीहरुको एकै पटकको यात्रामा अवलोकन गर्न पाइने भएकाले जेनीहरुको रोजाइमा अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्ग परेको उनको भनाइ छ । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर कच्ची सडक र १८ किलोमिटर पदमार्गको यात्रा गरेपछि समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । निलगिरि खोलाको किनारै किनार रहेको पदमार्गमा फुतफुते, छयाली, रातो लगायतका मनमोहक झरना छन् । आकाशे गुफालगायत अनौठा र पृथक भूगोल अवलोकन गर्न सकिन्छ । फुच्चे प्रजातिको गुराँस पाइने यो पदमार्गमा मृग, घोरललगायत वन्यजन्तुको बासस्थान छ । अन्नपूर्ण हिमालको फेदीमा पञ्चकुण्ड ताल छ । निलो ताल र पृष्ठभूमिको हिमाललाई एकै साथ अवलोकन गर्न पाउँदा यात्राको सबै थकान मेटिने र मनमा उमङ्ग छाउने झापाबाट आएका विजय सेनताङले अनुभव सुनाए । समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड तालदेखि एक घण्टा पैदलयात्रा गरेपछि अन्नपूर्ण आधार शिविरमा पुगिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा समथर जमिनमा आधार शिविर छ । पञ्चकुण्ड ताल नजिकै रहेको कागभुसुन्डी डाँडाको धार्मिक महत्व छ । कागभुसुण्डी ऋषि र पञ्चकुण्ड तालको बारेमा हिन्दू धर्मग्रन्थ पञ्चरामाणयमा उल्लेख छ । सन् १९५० जुन ३ मा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग घोषणा गरेको थियो । अन्नपूर्ण आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत जेठमा गाउँपालिकाले आधार शिविरमा पहिलो आरोहण दलका सदस्यहरुको शालिक र आरोहीहरुको नामावली सहितको विवरण भएको खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको हुँदा अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि विसं २०८० देखि सञ्चालन गरिएको थियो । मानव बस्ती नभएको यो पदमार्गमा दुई वर्ष पर्यटक आफैले बन्दोबस्तीका सामान लिएर आधार शिविर भ्रमणमा गए । हिमाल आरोहण गर्ने टोली हेलिकप्टरबाट जाने गरेका थिए । गत वसन्तयामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साँघीखर्क, गुफाफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०/५० जना क्षमताको होटल सुरु गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रिया पूरा गरेर सरकारको अनुमति लिनुपर्छ । भुसकेतका होटल व्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा, तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताए । ‘एक्यापले पक्की संरचना बनाउन नदिने भएकाले ‘टेन्ट’, टहरामा पाहुना राख्नु परेको हो,’ उनले भने ‘पाहुनाको चापसँगै क्षमता र सुविधा थप गर्न एक्यापले सहज गरिदिनुपर्छ ।’ होटलमा काम गर्नेदेखि भरियाको रुपमा सामान ओसार्न स्थानीयवासीले रोजगारी पाएका छन् । यसअघि वसन्तयाममा आरोही र स्थानीयहरु मात्र जाने आधार शिविरमा अहिले अन्य याममा पनि पर्यटक आउन थालेका छन् । विद्युत् र सञ्चार सुविधाको समस्या छ । अग्रिम बुक गरेर मात्र भ्रमणमा आउन होटल व्यवसायीहरुले अनुरोध गरेका छन् । पाहुनाको बढ्दो चापसँगै फोहरको चुनौती थपिएको छ । काठका अस्थायी झोलुङ्गे पुल र केही ठाउँमा साँघुरा पदमार्गमा आवतजावत गर्न समस्या भएको छ । फोहर व्यवस्थापन र पाहुनाको सहजताका लागि होटलको क्षमता बढाउन गाउँपालिका र एक्यापसँग पहल गरेको पदमार्गका अभियान्ता तेज गुरुङले बताए । अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर फर्किएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तातोपानीदेखि हुमखोलासम्मको सडक स्तरोन्नति, झोलुङ्गे पुल, पदमार्ग र होटल तथा आश्रयस्थलको क्षमता विस्तारका लागि गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने जानकारी दिए । उनले भने 'नेचर र कल्चरको अद्भुत संगमस्थल अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार पहुँच पुर्याउन र सरसफाइमा ध्यान दिन जरुरी छ । यसका लागि म सक्दो सहयोग गर्दछु ।' अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्गको प्रवद्र्धनका लागि महोत्सव, आरोहण दिवस मनाउने, अन्नपूर्ण हिमाल चढ्ने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य स्थापित, एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिएको जानकारी दिए । गाउँपालिकाले पदमार्ग, सार्वजनिक शौचालय, खानेपानी व्यवस्थापन, आश्रयस्थल निर्माणको कामलाई निरन्तरता दिएको छ । रासस
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उच्च प्रविधिको मस्तिष्कघात केन्द्र स्थापना
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ उच्च प्रविधिको मस्तिष्कघात केन्द्र स्थापना गरेको छ । विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट मान्यता प्राप्त गर्दै अस्पतालले उच्च प्रविधिको मस्तिष्कघात सम्बन्धी उपचार केन्द्र स्थापना गरेको बताएको छ । अस्पतालको गुणस्तरीय सेवा मूल्याङ्कनका आधारमा ग्रान्डीले एडभान्स्ड स्ट्रोक सेन्टर सञ्चालन गर्ने अवसर पाएको हो । केन्द्र स्थापनापछि मस्तिष्कघातको उपचारमा सहज हुने जनाइएको छ । अस्पतालका न्युरोलोजिस्ट तथा मस्तिष्कघात उपचार सम्बन्धी कार्यक्रमका निर्देशक डा. राजु पौडेलले बिरामीको उपचारमा टेवा पुग्ने बताए । ‘यो मान्यताले नेपाली जनतालाई विश्वस्तरीय मस्तिष्कघात उपचार प्रदान गर्ने हाम्रो अटुट प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ,’ उनले भने । मस्तिष्कघात विश्वव्यापी रूपमा मृत्यु र शारीरिक रुपमा अशक्तताको प्रमुख कारण हो । नेपालमा प्रत्येक १० मिनेटमा एक जना व्यक्ति मस्तिष्कघातबाट पीडित हुन्छन् । यो मान्यताले जीवन बचाउन र बिरामीको अवस्थाको सुधार ल्याउन द्रुत उपचार प्रणालीमा सहयोग गर्दछ । अस्पतालका न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयाल मस्तिष्कघात बिरामीको उपचार गर्दा प्रत्येक क्षण महत्वपूर्ण हुने बताउँछन् । उनी भन्छन्, 'यो केन्द्रले नेपालभरका बिरामीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको मस्तिष्कघात उपचारमा सहयोग पुर्याउन मद्दत गर्दछ । विशेष गरी ठूला रक्तनली अवरोधमा थ्रोम्बेक्टोमी जस्ता उपचारात्मक विधिले समयमै उपचार सुनिश्चित गर्दछ । जसले विरामको अवस्थाको जटिलतालाई न्यूनीकरण गर्छ ।’ अस्पतालले मस्तिष्कघात उपचारका लागि न्युरोइमेजिङको माध्यामले कोइलिङ, स्याक्युलर डाइभर्सन, डिभाइसहरू, आर्टेरियो भेनस–मालफर्मेशनको उपचार, क्यारोटिड स्टेन्टिङ, र जटिल एन्युरिज्ममा फ्लो डाइभर्टर जस्ता उपचारात्मक विधि प्रयोग गर्दै आएको छ । जुन चिकित्सकीय रुपमा जटिल कार्य हो । अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नेपालमा न्युरोलोजिकल उपचार विकास गर्न र मस्तिष्कघात उपचार र बिरामी हेरचाहको लागि उच्चतम् अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न निरन्तर प्रतिबद्ध रहेको बताए । उनले विश्वस्तरीय मस्तिष्कघात उपचारको लागि अस्पतालले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।