सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने नर्सहरूको माग

काठमाडौं । नेपाल नर्सिङ सङ्घले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम् तलब सुविधा कार्यान्वयन गर्न पुनः निर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो । सङ्घका अनुसार नेपाल सरकारले २०८१ साल मङ्सिर २७ गते निर्धारण गरेको न्यूनतम् तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य संस्थाले लागू गरेका छैनन् । स्वास्थ्य क्षेत्रमा पाँचौं तहको तलबमान ३४ हजार रुपैयाँसम्म भए पनि आफूहरूले १५ हजार रुपैयाँ तलबमा काम गर्नुपरेको गुनासो गर्दै आएका छन् । सङ्घले न्यूनतम् तलब सुविधा कार्यान्वयनको माग गर्दै देशभरका शिक्षण, सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मी आन्दोलित भएको पनि जनाएको छ । 

मनै लोभ्याउने पुनहिल

राम थापा काठमाडौं । झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ । पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु १ घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन् । पूर्वमा लाली चढ्दै गर्दा पुनहिल सेरोफरो आगन्तुकले ढाकिइसकेको हुन्छ । सबै सूर्योदय नियाल्न व्यग्र देखिन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै हिमाल खुल्न थाल्छ । घामको पहिलो झुल्का हिउँचुचुरोमा पर्दाको दृश्यले मोहित तुल्याउँछ । छिनभरमै घामका कलिला किरण पुनहिलमा छाइसक्छन् । हिमालको काखबाट सूर्य उदाएको दृश्यले कसलाई पो नलोभ्याउला र १ सूर्योदयको मनप्रिय दृश्यलाई आँखादेखि क्यामेरासम्म कैद गर्नेहरूको तछाडमछाड देखिन्छ । विदेशीहरू आफ्नै देशको झण्डा ओडेर तस्बिर खिचिरहेका भेटिन्छन् भने नेपालीहरू चन्द्र-सूर्य अङ्कित झण्डासहित । पुनहिल पुग्दाको क्षणलाई कतिपयले आत्मिक र भावनात्मक रूपमा पनि तस्बिरमा कैद गरिरहेका हुन्छन् । यसरी पुनहिल प्रकृतिप्रेमीमाझ एक अनुपम छटाका रूपमा परचित छ । सूर्योदयपखको पुनहिलले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘सुनको बिहान’को झझल्को दिलाउँछ ।  'सुनको दिन एक उदाउँछ रे यस देश खुलीकन आउँछ रे !!! ।  शरद र वसन्तयाममा पुनहिलको सौन्दर्य बिछट्टै खुल्छ । चैत-वैशाखतिर लालीगुराँसले राताम्मे देखिने घोरेपानी-पुनहिल क्षेत्र हिउँदमा हिउँसँग लुकामारी खेल्छ । न धेरै जाडो न गर्मी शरदयाममा पनि उसैगरी आगन्तुकलाई लोभ्याइरहेको हुन्छ घोरेपानी-पुनहिलले । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित यस गन्तव्यमा बर्सेनि हजारौँ देशीविदेशी पर्यटक पुग्ने गर्छन् । पर्यटकीय राजधानी सहर पोखरादेखि नजिक पर्ने भएकाले पहुँच र प्रवर्द्धनका हिसाबले पनि घोरेपानी-पुनहिल क्षेत्र अगाडि छ । यतिबेला मौसम खुलेको छ । दिन घमाइला छन् । चाडबाडको याम छ । यहीबेला मुख्य पर्यटकीय याम चलिरहेको छ । पर्यटकहरू कोही सडकमार्ग त कोही पदमार्ग भएर पुनहिल पुगिरहेका छन् । प्रकृतिको भव्यतामा रमाउने जोकोहीका लागि यो एक आकर्षक थलो हो । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोरेपानी-पुनहिल छोटो दूरीको पदयात्राका लागि बढी लोकप्रिय रहेको पर्यटक पथप्रदर्शक दिवस गुरूङले बताए । उनका अनुसार तीनदेखि चार दिनसम्ममा घोरेपानी-पुनहिलको पदयात्रा गर्न सकिन्छ । सडकमार्ग पनि प्रयोग गरेमा दूरी अझै घट्ने गुरुङले बताए । हालै म्याग्दी र कास्कीतर्फबाट सडक मार्ग त्यस ठाउँमा जोडिएको छ । ‘कम खर्चमा छोटो अवधिको पदयात्राका लागि पुनहिल उत्कृष्ट गन्तव्य मानिन्छ । अहिले सडकले गर्दा कतिपय ठाउँमा पदमार्ग छोटिएको छ,’ उनले भने ।  सडक बनाउँदा परम्परागत पदमार्ग नासिँदै गएकाले पदयात्राको अवधि छोटिएको उनको भनाइ छ । शान्त तथा हरियाली वातावरण, हिमाली दृश्य, स्थानीय संस्कृति र जनजीवन, प्राकृतिक सम्पदा आदिले घोरेपानी-पुनहिलको शोभा बढाएको गुरूङले बताए । समुद्री सतहदेखि ३ हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिल सूर्योदयसँगै हिमशृङ्खला अवलोकनका लागि पर्यटक आउने गरेको घोरेपानीका पर्यटन व्यवसायी जुली पुनले बताए ।  ‘मुख्य याममा दिनमै चारपाँच सयसम्म विदेशी पर्यटक आउँछन् । पछिल्लो समय आन्तरिक पर्यटकको पनि रोजाइमा परेको छ, प्रायः यहाँ आउने पर्यटक पदयात्रा गर्न रूचाउँछन्,’उनले भने ।  यो याममा भने पर्यटक आगमनमा केही गिरावट आएको छ । अहिले दैनिक दुई सय जति विदेशी पर्यटक पुनहिल पुग्ने गरेका छन् । आन्तरिक पर्यटकको आउजाउ विस्तारै बढ्दै छ । ‘जेनजी’ आन्दोलन, प्रतिकूल मौसम आदि कारणले गत वर्षको तुलनामा पर्यटक आगमन प्रभावित भएको हो । पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनले अहिले दैनिक दुई सयको हाराहारीमा विदेशी पर्यटक आएको बताए ।  ‘कात्तिक महिना अझै बाँकी छ, पर्यटक बढ्ने आशा छ । मुख्यगरी असोज-कात्तिक र चैत-वैशाखमा यहाँ पर्यटकीय चहलपहल बढ्छ,’ उनले भने ।  घोरेपानीका पर्यटन व्यवसायी डमबहादुर पुनले मुख्यगरी सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकनका लागि पर्यटक पुनहिल आउने गरेको बताए । अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले पुनहिलबाट एकैसाथ लमजुङदेखि गुर्जा हिमालसम्मको ‘पानोरमा भ्यू’ देख्न सकिने बताए ।  पुनहिलबाट विश्वका दश अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धवलागिरि, मनास्लुलगायत दजनौँ हिमाल एकसाथ देख्न सकिने उनले जानकारी दिए । घोरेपानी-पुनहिलको प्रकृतिमय भूगोलले पनि पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ । घोरेपानी र पुनहिल क्षेत्र हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने गरेको छ । पहिलोपल्ट त्यहाँ पाइला राख्दा जोकोहीको मन फुरुङ्ग हुन्छ । सहरको कोलाहल र पट्यारलाग्दो दैनिकी छलेर पुनहिल पुग्नेले तनाव भुल्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । आँखैअघि दन्तलहरझैँ खुलेका हिउँचुचुरोका दृश्य चित्ताकर्षक लाग्छ । घोरेपानीबाट पुनहिल आधा घण्टाको पदयात्रामा पुगिन्छ । कुनैबेलाको ‘लुङटुङ’ डाँडा अहिले पुनहिलका रूपमा विश्व पर्यटन बजारमा स्थापित छ । चार दशकअघिसम्म उक्त क्षेत्र खिवाङ गाउँका किसानको चरन क्षेत्र थियो । भारतीय सेनाबाट सेवा निवृत्त स्वर्गीय मेजर टेकबहादुर पुनले पुनहिलको नामकरण गरेका थिए । त्यस क्षेत्रको पर्यटन विकासको जग हालेको श्रेय पनि पुनलाई दिइन्छ । उनको स्मृतिमा पुनहिलमा भ्यूटावर बनाइएको छ । मेजर टेकबहादुरले लुङटुङ डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलिएको र पर्यटकीय गतिविधि सुरु भएको घोरेपानीका पर्यटन व्यवसायी बताउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रको बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार भएको थियो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिने गरेका गरेका छन् । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आवमा ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । विदेशीले प्रतिव्यक्ति १५० रुपैयाँ र नेपालीले ५० रुपैयाँका दरले प्रवेश शुल्क तिर्नुपर्छ । घारेपानीमा हाल दैनिक १ हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताका २३ वटा सुविधासम्पन्न होटलहरु छन् । समुन्द्री सतहदेखि २ हजार ८१० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोरेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । कास्कीको नयाँपुलबाट उल्लेरी हुँदै पुनहिल आउने पदमार्ग बढी प्रचलित छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पोखरेबगरबाट पनि त्यहाँ पुग्न सकिन्छ । अधिकांश पर्यटक पुनहिलबाट टाडापानी, घान्द्रुक, नयाँपुल हुँदै पोखरा फर्कने गर्छन् । कतिपय म्याग्दीको पोखरेबगर हुँदै भुरुङ तातोपानी पुग्छन् । त्यो मार्गबाट मुस्ताङतर्फको यात्रा पनि तय गर्न सकिन्छ । पर्यटक पथप्रदर्शक गुरुङका अनुसार पुनहिलबाट मोहरे, कोखेडाँडा हुँदै उल्लेरी निस्केर नयाँपुल फर्कने र पर्वततर्फ जाने अर्को पदमार्ग पनि छ । पुनहिलबाट स्वातँ हुँदै म्याग्दीको अर्को पर्यटकीयस्थल खोप्रा लेक जाने अर्को पदमार्ग पनि सञ्चालनमा छ । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकैदिनमा घोरेपानी पुग्न सकिन्छ । कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर पनि घोरेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी-उल्लेरी-घोरेपानी, नयाँपुल-घान्द्रुक-घोडेपानी, म्याग्दीको नागी-महरे-फूलबारी-घोरेपानी र तातोपानी-घार-शिख हुँदै घोरेपानी पुग्न सकिने गरी पदमार्गहरु सञ्चालनमा छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घारेपानी पुग्न सकिन्छ । नयाँपुलदेखि वीरेठाँटी, उल्लेरी हुँदै घारेपानीसम्मै पदयात्रा पनि गर्न सकिन्छ । घोरेपानी-पुनहिललगायत अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने गन्तव्यस्थल प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृतिलगायत कारणले पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पर्यटकले कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्छन् । सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्न सकिन्छ । रासस

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन् ।  मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए । ‘त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको अवस्था रहेको छ । समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने छ । मन्त्रालयबाट सल्टाउन नसकिने विषयको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइनेछ’, मन्त्री पुनले भने।   त्रिविको जग्गा खोजबिनसम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै उनले अझै गहन छानबिन गर्न गर्नुपर्ने आवश्यकता रहेको बताए। समितिको सिफारिसलाई नै टेकेर अर्को छानबिन समिति बनाउने तयारी गरिएको उनको भनाइ छ ।   यस्तै सुदूरपश्चिम विश्वविद्यालयको धेरै जग्गा हड्पेको भन्ने उजुरी मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै उनले त्यसका लागि पनि छानबिन समिति गठन गरिने बताए। मन्त्री पुनले पछिल्लो समय प्रविधिको विकास भएअनुसार हाम्रा विद्यार्थी पछि नपरून् भनेर माध्यमिक तहसम्म एक सय पूर्णांकको ‘कम्प्युटर’ विषय थप गर्ने निर्णय भएको जानकारी दिए ।