धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण
काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका-४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीय स्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि २ हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पद मार्ग, खानेपानी र आश्रय स्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङखला, सूर्योदय र पहाडी भूगोलको दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ । पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए । ‘गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो । केही वर्ष अघिसम्म सुनसान तिनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ,’ उनले भने । ताराखोला गाउँपालिकाको २० लाख रुपैयाँ बजेटबाट गत आर्थिक वर्षमा तिनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझ खर्कदेखि तिनचुलेतर्फ जाने २१० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो । स्थानीयले चन्दा सङ्कलन गरेर माझ खर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको ७ लाख रुपैयाँ बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो । तिनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब ३ लाख रुपैयाँ सङ्कलन भएको थियो । गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँ र तालाखोला गाउँपालिकाको १० लाख रुपैयाँ लगानीमा ताराखोला गाउँपालिका-४ नागबेलीदेखि दावा हुँदै तिनचुले जोड्ने ५ किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि २ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । यसैगरी, मङ्गला गाउँपालिका-५ देउरालीदेखि तिलचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २१ लाख रुपैयाँ लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट २ हजार २०० मिटर लामो पाइपबाट पानी लगेर ५ हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र २ वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । समुद्र सतहबाट २ हजार ९२२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास जनविश्वास छ ।
नेपाल एयरलाइन्सको अध्यक्ष बने विक्रम राई, कार्यभार सम्हाल्दै दिए यस्तो निर्देशन
काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ । निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मङ्गलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराइन् । शपथ ग्रहणपछि अध्यक्ष राईले निगम सञ्चालक समितिको कार्यालयमा कार्यभार सम्हाल्दै प्रधानमन्त्री र जेनजी आन्दोलनको चाहना अनुसार निगममा देखिने गरी सुधार गर्ने प्रतिबद्धता जनाए । उनले हाल ए३२० जहाजमा प्रयोग हुँदै आएको भाडाको एउटा इन्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गर्दै मर्मतका लागि इजरायल पठाइएको निगमको इन्जिन जडान १५ दिनभित्र टुंग्याउन निर्देशन दिए । उनले बेलाबेलामा जनमानसमा उठ्दै आएको ‘विजनेस क्लास’को टिकटलाई ‘अपग्रेड’ गर्ने प्रवृत्ति तत्काल बन्द गर्न, यात्रु ‘ब्यागेज’ नीतिमा समयानुकूल परिमार्जन गर्न र यात्रु ब्यागेज टुटफुट सम्बन्धमा आएको जन गुनासो यथा शीघ्र सम्बोधन गर्न पनि निर्देशन दिए । अध्यक्ष राईले प्रश्न उठेका करार तथा ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीको नियुक्ति नियम सङ्गत बदर गर्न समेत निर्देशन दिए । उनले निगमको व्यवस्थापकीय कार्यमा आफ्नो कुनै हस्तक्षेप नरहने स्पष्ट पारे । नवनियुक्त अध्यक्ष राईले कार्यभार सम्हालेसँगै उनलाई स्वागत गर्दै निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीसहित विभागीय प्रमुखहरूले आ-आफ्नो विभागबाट भइरहेका कामका बारेमा जानकारी गराए । निमित्त महाप्रबन्धक कालाखेतीले मङ्गलबार नै निगमको कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिए । झण्डै २ दशकदेखि निगमका विभिन्न जिम्मेवारीमा रहेका घिमिरेले संस्थाको सूचना तथा सन्देश नागरिकका बीचमा पुर्याउन, संस्थाको छवि सकारात्मक बनाउन र सञ्चार माध्यमहरुसँग समन्वय गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।
२०८१ चैतसम्म स्वास्थ्य बीमाको रकम चुक्ता, वैशाख–असोजसम्म ११ अर्ब रुपैयाँ बाँकी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातको पुनरावलोकन गरी चैतसम्मको बक्यौता भुक्तानी गरेको हो । बोर्डले आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहेको अस्पतालको २०८१ चैतसम्मको बक्यौता रकम केही दिनअघि मात्र भुक्तानी गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए । बोर्डले पुरानो भुक्तानी बाँकी नराख्ने गरी नियमित भुक्तानी गर्ने तयारी गरेको उनले बताए । ‘धेरै वर्षदेखि अस्पतालबाट भुक्तानीका लागि प्राप्त भएका कागजातको पुनरावलोकन गरी हामीले गत असोजसम्मको बक्यौता रकम निकालेका छौँ । अहिले गत चैतसम्मको रकम अस्पताललाई दिएका छौँ,’ उनले भने । उनले कात्तिक महिनाभित्रमा वैशाखदेखि असोजसम्मको बाँकी बक्यौता रकम अस्पताललाई उपलब्ध गराइने दाबी गरे । काफ्लेका अनुसार अस्पताललाई तिर्नुपर्ने बक्यौता रकमका लागि अर्थमन्त्रालयसँग माग गरिएको छ । उनले वैशाखदेखि असोजसम्म करिब ११ अर्ब रुपैयाँ बक्यौता रहेको जानकारी दिए । बोर्डले बीमित आबद्धबापत वार्षिक ३ खर्ब ७२ करोड रुपैयाँ सङ्कलन गर्दै आइरहेको छ । बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेका अनुसार बोर्डको वार्षिक खर्च करिब २६ अर्ब रुपैयाँ रहेको छ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ५ जना परिवारसम्मका लागि ३ हजार ५०० रुपैयाँ बराबरको योगदानको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । देशभरि बोर्डमा प्रथम सेवा बिन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् । बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् ।