स्वाथ्य सेवा विभागका निर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा
काठमाडौं । जिम्मेवारी सम्हालेको नौ महिनामै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् । सचिवको दौडमा रहेका बाराकोटी सचिवमा डा. विकास देवकोटा नियुक्त भएपछि स्वास्थ्य सेवा विभागको निर्देशकमा नियुक्त भएका थिए । नियमित पदावधि दुई वर्ष बढी बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । उनले आउँदो आइतबारबाट लागू हुनेगरी राजीनामा पत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई बुझाएका छन् । डा. बाराकोटीले बालरोग विशेषज्ञका रूपमा स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी समय बिताएका छन् ।
पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन जारी, के–के छ व्यवस्था ?
काठमाडौं । सरकारले पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन–२०८२ जारी गरेको छ । पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदमार्ग निर्माण तथा विकासमा एकरूपता कायम गर्ने हिसाबले दिग्दर्शन जारी गरिएको हो । खासगरी पदयात्रीको सुरक्षा र सेवामा गुणस्तर कायम गर्न, दिगो, सुरक्षित, पहुँचयोग्य र पर्यावरणमैत्री पदमार्ग निर्माण गरी पदयात्रामा आकर्षण अभिवृद्धि गर्न, तीनै तहबाट निर्माण गरिने पदमार्गको व्यवस्थापनलाई सहजीकरण गर्न सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ बमोजिम दिग्दर्शन बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । दिग्दर्शनमा पदमार्गको वर्गीकरण रेखांकन, मापदण्डदेखि पालना गर्नुपर्ने नियमहरूसम्म उल्लेख गरिएको छ । पदमार्गको वर्गीकरणमा हाइकिङ पहिलो नम्बरमा राखिएको छ । एक दिन भित्र यात्रा गरिने न्यूनतम पाँच किमि दुरीको मार्गलाई हाइकिङका रुपमा परिभाषित गरिएको छ भने दोस्रो नम्बरमा सहज पदमार्ग राखिएको छ । एक दिन भन्दा बढी समय यात्रा गरिने अधिकतम तीन हजार मिटर उचाइसम्मको मार्गलाई सहज पदमार्ग राखिएको छ । त्यस्तै, तेस्रो नम्बरमा साहसिक पदमार्ग राखिएको छ । एक दिनभन्दा बढी समय यात्रा गरिने तीन हजार मिटर भन्दा माथिको उचाईको मार्गलाई सहासिक पदमार्गका रुपमा परिभाषित गर्न खोजिएको छ । पदमार्गको रेखाङ्कनसम्बन्धि मापदण्ड पनि दिग्दर्शनमा स्पष्ट पारिएको छ । पदमार्गले प्राकृतिक, जैविक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वका स्थानलाई जोड्नुपर्ने, पदमार्ग मोटरबाटोसँग नजोडिने गरी रेखाङ्कन गर्नुपर्ने, स्थानीय सम्पदाहरुको संरक्षण हुने गरी रेखाङ्कन हुनुपर्ने उल्लेख गरिएको छ । मन्त्रीस्तरीय निर्णयबाट जारी गरिएको पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गको मापदण्ड तोकिएको छ । जसमा पदमार्गको न्युनतम लम्बाई पाँच कि.मी हुनुपर्ने, पदमार्गको न्युनतम चौडाई, हाइकिङ पदमार्गको हकमा २ मिटर, सहज पदमार्गको हकमा २ मीटर र साहसिक पदमार्गको हकमा १.५ मीटर उल्लेख गरिएको छ। पदमार्गमा सिँढी निर्माण गर्नुपर्ने भएमा सिँढीको उचाइ पनि तोकिएको छ । हाइकिङ पदमार्ग १८ देखि २० सेन्टिमिटर, सहज पदमार्ग १६ देखि १८ सेन्टिमिटर, साहसिक पदमार्ग १४ देखि १६ सेन्टिमिटर उचाइ तोकिएको छ । पदमार्गमा सिँढी निर्माण गर्दा अपाङ्गमैत्री संरचनासमेत बनाउनुपर्ने उल्लेख छ । पदमार्गको निर्माण कसले गर्ने भन्ने पनि उल्लेख गरिएको छ । हाइकिङ पदमार्ग निर्माण स्थानीय तहले गर्नुपर्ने,सहज पदमार्ग निर्माण प्रदेश सरकारले गर्नुपर्ने, साहसिक पदमार्ग निर्माण नेपाल सरकारले गर्नुपर्ने, पदमार्ग निर्माण गर्दा स्थानीय निर्माण सामग्री, जैविक प्रविधि, परम्परागत सीप र श्रमको प्रयोग गर्नुपर्नेछ तर, भाैगोलिक दृष्टिले जटिल रहे प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । पदमार्ग निर्माण गर्दा पदयात्रीको लागि आवश्यक पर्ने विश्राम स्थल, शौचालय, फोहोर संकलन तथा व्यवस्थापन पूर्वाधार जस्ता आधारभुत सेवाको सुनिश्चितता हुने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज र आरक्षभित्र पदमार्गको निर्माण गर्दा वन तथा वातावरण मन्त्रालयको पूर्व सहमति लिएर र संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पूर्वसहमति लिई पदमार्ग निर्माण गर्नुपर्ने उल्लेख छ । पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गमा उपलब्ध हुनुपर्ने सेवा समेत तोकिएको छ । तीनै तहका सरकारले पदयात्रीलाई लक्षित गरी पदमार्गमा खानेपानी, शौचालय, आधारभूत सूचना तथा सञ्चार/पर्यटन सूचना केन्द्र,विश्राम स्थल, आधारभूत स्वास्थ्य उपचार, सुरक्षा तथा आपतकालीन उद्दार, स–साना पुलपुलेसा, दृष्यावलोकन स्थल (भ्यू प्वाइन्ट) को व्यवस्था गर्नुपर्ने उल्लेख छ । आवास तथा खानपिनको व्यवस्थाका बारेमा समेत पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनले तीनै तहका सरकारले पदमार्गमा स्थानीय समुदाय तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपने उल्लेख गरेको छ ।
समय अगावै जन्मिने बच्चामा देखिने समस्या र अभिभावकले दिनुपर्ने चासो
काठमाडौं । बच्चा आमाको गर्भमा ३८ देखि ४० हप्तासम्म रहन्छ । त्यसपछि उसले जन्म लिन्छ । सुन्दर संसारमा उज्यालो भविष्यको लागि जन्मेका कतिपय बच्चाहरूले उज्यालो देख्न पाउँदैनन् । जसका कारण आमाको पेटबाट बाहिर निस्कँदै जिन्दगीभर अन्धकारमा जीवन बिताउनुपर्ने बाध्यता हुन्छ । यो समस्या विभिन्न कारणले हुन सक्छन् । तर आजभोलि समय नपुगेर जन्मेको प्रिम्याच्योर बालबालिका बढ्दै गएको छ । हामी कहाँ ४० हप्ता गर्भमा रहेका र जन्मदा बच्चाको लगभग वजन २.५ किलोग्राम भयो भने स्वस्थ मानिन्छ । कतिपय बच्चाहरूको तौल यो भन्दा बढी हुन्छ । तर, केही बच्चाहरू ३४ देखि ३५ हप्ता अगाडि जन्मने अर्थात समय अगावै जन्मने गरेका छन् । यस्ता बच्चाको तौल पनि २.५ किलोग्राम हुँदैन । यस्ता बच्चाहरू प्रायः स्वस्थ्य हुँदैनन् । उनीहरूलाई तुरुन्तै सघन कक्षमा राखेर अक्सिजन दिनुपर्ने हुन्छ । कतिपय बच्चालाई भेन्टिलेटरमा हप्ता दिनभन्दा पनि बढी राख्नुपर्ने हुन्छ । यसरी जन्मने बच्चाको संख्या आजभोलि नेपालमा पनि बढ्दै गएको छ । एनआईसियूबाट डिस्चार्ज गरिसकेका बच्चाहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू भइरहेका छन् । यसमध्ये एक समस्या हो । नवजात शिशुमा हुने आँखाको पर्दा सम्बन्धी समस्या । रेटिनोप्याथी अफ प्रिम्याच्युरेटी (आरोपी) नेपालमा १० जना नर्मल बच्चा जन्मदा एक जना समय अगाबै जन्मिएको पाइन्छ । समय अगाबै जन्मेका सय जना बच्चामध्ये २० देखि ३० बच्चाहरूमा आँखामा समस्या देखिन्छ भने उपचार गरिहाल्नुपर्ने अवस्थामा ७ देखि ३० प्रतिशत बच्चाहरू हुन्छन् । जुन बच्चाको समयमै उपचार गरिएन भने उनीहरूको जीवन अन्धकार हुन्छ अर्थात् उहाँहरूको आँखाको ज्योती गुम्छ । समय अगावै जन्मिएका बच्चाहरूमा आँखाको रेटिनामा रक्तनलीमा असमान्य वृद्धि हुन्छ । यसले नवजात शिशुको दृष्टिमा गम्भीर असर पार्छ । कहिलेकाहीँ यसले अन्धोपनको समस्या निम्त्याउन सक्ने हुन्छ । स्वास्थ्यकर्मीको भूमिका बढी समय अगावै बच्चा नजन्मन रोक्न सकिँदैन । तर, जन्मिसकेका बच्चाहरूका अभिभावकलाई सम्झाउने काम भनेको स्वास्थ्यकर्मीहरूको हो । बच्चा पेटमै हुँदा गर्भवती आमाको सबैभन्दा नजिक रहेर काम गर्ने भनेको स्वास्थ्यकर्मी हो । उहाँहरूलाई स्वास्थ्यका विषयमा धेरै जानकारी हुन्छ । यदि कुनै पनि आमाले समय नपुगेर अर्थात् ४० हप्ता नपुगेर ५/६ हप्ता अगाडि नै बच्चा जन्माएको छ भने यस्ता कुराहरूमा जानकारी गराउनुपर्छ । यस्ता बच्चाहरू जन्मेको २८ दिनभित्र अनिवार्य आँखा जाँच गर्नुपर्ने हुन्छ । आजभोलि धेरै ठाउँबाट यस्ता बच्चाहरूलाई रिफर गरेर तिलगंगा अस्पताल पठाउनेक्रम बढेको छ । तर पनि हुनुपर्ने रोकथाम बच्चाहरूलाई अन्धोपनाबाट बचाउने उपाय अझै पुगेको छैन । किन समय अगावै जन्मन्छन् बच्चा ? समय अगावै अर्थात् प्रिम्याच्योर जन्म किन हुन्छ भन्नुका पछाडि विभिन्न कारणहरू छन् । आमामा कुनै स्वास्थ्य सम्बन्धी संक्रमण छ भने पनि यस्तो अवस्थामा बच्चा समय अगावै जन्मने सम्भावना हुन्छ । गर्भाशय वा गर्भमुख कमजोर हुँदा पनि बच्चा समय अगावै जन्मने सम्भावना हुन्छ । यस्तै पेटमा दुई वा दुईभन्दा बढी छन् भने पनि बच्चा समय अगावै जन्मनसक्ने सम्भावना बढी हुन्छ । आजभोलि नेपालमात्र होइन विश्वमा आर्टिफिसिएल फर्टिलाईजेसनको क्रम बढेको छ । नेपालमा पनि यसरी बच्चा जन्माउने आमाको संख्या धेरै छ । एउटा महिलालाई आमा बन्ने रहर हुनु स्वाभाविक हो । यसरी बच्चा जन्माउन खोज्दा एक जना मात्र होइन तीन÷चार जना बच्चा बस्ने सम्भावना बढी हुन्छ । एउटा पाठेघरमा तीन चार बच्चा हुँदा पछिटो जन्मने हुन्छ । एक भन्दा बढी बच्चा जन्मदा छिटो जन्मने र छिटो जन्मेका बच्चामा यो समस्या धेरै हुन्छ । २८ दिनभित्र जाँच गरिसक्नुपर्ने समय नपुगेर अगावै जन्मिसकेका बच्चालाई आँखामात्र होइन अन्य रोगको संक्रण हुने सम्भावना पनि निकै बढी हुन्छ । रेटिनोप्याथी अफ प्रिम्याच्युरेटी हुने सम्भावना उत्तिकै हुन्छ । यसबाट बचाउन २८ दिनभित्र अनिवार्य आँखाको पर्दा जाँच गराउनुपर्छ । तर, पछिल्लो समय १८ दिनको बच्चामा पनि यस्तो समस्या भएको भेटेका छौं । अहिले अर्को समस्या समय अगावै जन्मने बच्चामामात्र होइन, समयपछि समय पुग्दै वा एक÷दुई हप्तामात्र अगाडि जन्मेर एनआईसियूमा धेरै राखेका बालबालिकामा पनि यो समस्या भएको भेटिएको छ । एनआइसियुमा लामो समयदेखि राखेको, रगत नै चढाउन परेको र कुनै संक्रमण भएर अशक्त छ एन्टिबाइटिक दिएको छ, मुटु, छातीमा समस्या भएको छ भने त्यस्तो बच्चाहरूमा पनि यो समस्या देखिने गरेको छ । अभिभावकमा चेतनाको कमी नवजात शिशुहरूमा स्वास्थ्य समस्या देखिनेगरे पनि अभिभावक भने सचेत छैनन् । कतिपय अभिभावक बच्चा समय अगावै जन्मियो अव के गर्ने भनेर युट्यवमा गएर हेरेर बल्ल अस्पताल पुग्छन् भने कतिपयलाई स्वास्थ्यकर्मीले सल्लाह दिने गर्छन् । अस्पताल आउने धेरैजस्तो अभिभावक स्वास्थ्यकर्मीकै सल्लाहले उपचारको लागि आउने गरेको पाइन्छ । यो विषयमा अभिभावकलाई त्यति जानकारी भएको पाइँदैन । थाहा भएका कतिपय अभिभावक पनि बच्चालाई अस्पताल ल्याउन मान्दैनन् । धेरैदिनसम्म आईसीयूमा राखेको बच्चालाई आमाले आफ्नो काखमा राख्न पाएको हुँदैन, आईसीयूबाट झिकेर फेरि अस्पतालमै लिनुभन्दा आफ्नै काखमा राख्न आमाहरूलाई रहर लाग्छ । कतिपय अभिभावक यो कुरामा झन चिन्तित हुन्छन् । जाँच गर्दा मेसिन राख्दा सुई लगाउँदा झन केही असर हुन्छ कि भन्ने ठूलो पीर हुन्छ जुन स्वाभाविक पनि हो । उपचारमा सकस बालबालिकाको आँखा उपचार आफैमा जटिल हुन्छ । सानो बच्चालाई बेहोस गर्न मिल्दैन । उनीहरूलाई सुताउनुपर्यो, आँखामा ड्रप राख्नुपर्यो, आँखामा औजार राख्नुपर्यो । आँखाको परेला फटाएर उपचार गर्नुपर्ने हुन्छ । यसो गर्दा बच्चा रुन्छ । बच्चा रुँदा अभिभावकलाई पनि मन पर्दैन चिकित्सकलाई पनि अफ्ठेरो महसुस हुन्छ । यो उपचारले गर्दा कतिपय अभिभावक अस्पतालसम्मै आइपुग्दैनन् । कतिपय भने पहिलो दृश्यदेखि त्यसपछि फलोअपका लागि आउँदैनन् । बच्चाको लागि उपचार गर्ने, अभिभावक सबैको लागि तनाव हुन्छ । यस्ता बच्चाहरूको आँखाको उपचार जति छिटो भयो त्यति आँखाको ज्योती गुम्नबाट बचाउन सकिन्छ । तर, अस्पतालमा अभिभाकहरू बच्चा ढिलोगरी ल्याउने गर्छन् । अहिले पनि ५ देखि ६ प्रतिशत अभिभावकले ७÷८ महिना पुगेका बच्चाहरूलाई अस्पताल पुर्याउनुहुन्छ । तर यो अति ढिला हो । यो सयमसम्म ढिला भइसकेको हुन्छ । जाँच आवश्यक प्रिमिच्योरमात्र होइन जन्मेका तर अस्वस्थ महसुस गरिएका वा भएका सबै बालबालिकाको उपचार अवश्य गर्नुपर्छ । आजभोलि विश्वका विभिन्न ठाउँमा जाँच सुरु भइसकेका छन् । मोतिबिन्दु जल बिन्दु हुन्छ यस्ता कुराहरूबारे थाहा हुन्छ । शिशु लगायत वृद्धसम्मको आँखा सम्बन्धी उपचार नेपालमै हुन्छ । दैनिक दुई÷तीन जना बालबालिकालाई हामीले हेरिरहेका हुन्छौं । कतिपय बालबालिकामा देखिएको आँखाको समस्या आफै निको हुँदै जान्छ । ७५ प्रतिशत आफै निको हुन्छ । उपचार गर्नुपर्ने छ भने उपचारमा ढिलाई हुँदैन । सुई लगाउने लेजर गर्ने काम सजिलो भने पक्कै छैन । सुई लगाउँदा एकैछिन भएपनि लेजर गर्दा एउटा आँखाको आधा घण्टा बढी लाग्छ । मेरो आग्रह जो नवजात शिशुसँग नजिक भएर काम गरिरहनुभएको तपाईंहरूले जन्मेको २८ दिनमा आँखा जाँच गर्नको लागि पठाइदिनुहोस् । बच्चा जति स्वस्थ हुनु आवश्यकता छ, त्यति दृष्टि देख्नु पनि आवश्यक छ । रेटिनापाथी अफ प्रिम्याच्योरिटी भन्ने बच्चाले बोल्न सक्दैन, आमा बुवाले पनि भन्न सक्दैनन् । त्यसै समस्या बुझन गाह्रो हुन्छ । यो जाँच गरेमात्र थाहा हुन्छ । सचेतना र स्वास्थ्यकर्मीको सल्लाहले मात्र यस्तो समस्याबाट बचाउन सकिन्छ । हामीले बिस्तारै उपचार गर्छु भनेर बस्न हुँदैन । (वरिष्ठ परामर्शदाता नेत्र रोग विशेषज्ञ डा. इली प्रधानसँग गरिएको कुराकानीमा आधारित)