टेलिकमकको नेटवर्कबाट१ करोड १२ लाख निःशुल्क एसएमएस आदनप्रदान

काठमाडौं । बाढी पीडितको उद्धार तथा राहतका लागि नेपाल टेलिकमकको नेटवर्कबाट १ करोड १२ लाख निःशुल्क एसएमएस आदनप्रदान भएको छ । बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतमा सहयोग पु¥याउन साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेको थियो । जसअनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएको टेलिकमकी प्रवत्ता प्रतिभा वैद्यले जानकारी दिइन् । यस्तै टेलिकमको नेटवर्क प्रयोग गरी जल तथा मौसम विज्ञान विभागले विपतको अवधिमा प्रभावित क्षेत्रका वासिन्दालाई ४ लाख ८६ हजार भन्दा बढी विपत् आउनु पूर्वको जानकारी (एलर्ट एसएमएस) पठाएको उनले बताइन् । विभागले साउन २० गते ९४ हजार ६ सय, साउन २९ गते ४ सय, साउन ३० गते १ लाख ६ हजार २ सय, ३१ गते ७८ हजार ८ सय र ३२ गते २ लाख ६ हजार ५ सय भन्दा बढी एसएमएस पठाएको छ । विभागले आवश्यकता अनुसारको संख्यामा आफै एसएमएस पठाउन सक्ने गरी व्यवस्था गरिदिएको टेलिकमले जनाएको छ । पुर्वमा ९१ प्रतिशत सञ्चार सेवा सुचारु भएको उनले जानकारी दिइन् ।  

एनआरएनले सप्तरीमा राहत बितरण गर्ने

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले सप्तरीका बाढी प्रभावितलाई आपतकालिन राहत बितरण गर्ने भएको छ । एनआरएनका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्माबीच बिहीबार बिहान भएको छलफलमा यस्तो निर्णय गरेको हो । गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रीत हुन आग्रह गरेको एनआरएनकी प्रवत्ता रञ्जु थापा वाग्लेले जानकारी गराइन । अध्यक्ष घलेले हाल राहत सामाग्री खरिदको प्रकृया चलिरहेको जानकारी दिँदै एक दुई दिनमै बितरणका लागि सप्तरी पुग्ने जानकारी गराएका थिए । मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा पीडितलाई राहत बितरण गर्न सुझाव दिएका छन् । अध्यक्ष घलेले सरकारको आग्रहअनुसार नै स्थानीय प्रशासनसँगको समन्वयमा प्रभावकारी राहत बितरण गरिने बताए । एनआरएनएले घर बगाएका पीडित परिवारलाई त्रिपाल तथा छोटो समयका लागि खाद्य सामाग्री समेत बितरण गर्ने तयारी गरेको छ । बाढीपछि फैलिनसक्ने प्रकोपलाई ध्यान दिँदै एनआरएनएले स्वास्थ्य शिविर स्थापना गर्ने जानकारी दिएको छ ।  

चौधरी फाउण्डेसनद्धारा बाढीपीडितलाई राहत वितरण शुरू

काठमाडौं । चौधरी फाउण्डेसनले बाढी पीडितहरूलाई तत्काल राहत पुर्याउन प्रभावित क्षेत्रमा खाद्यान्न, औषधी, कम्बल, म्याट लगायतका सामाग्री वितरण शुरू गरेको छ । फाउण्डेसनका छुट्टाछुट्टै टोली सुनसरी, सप्तरी, चितवन, नवलपरासी र बर्दियामा बाढीबाट सर्वाधिक प्रभावित क्षेत्रमापुगी राहतवितरण शुरू गरेका हुन् । बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव भएकाले पीडितहरूमा तत्काल राहत पुर्याउन फाउण्डेसनबाट छुट्टाछुट्टै टोली खटाई राहत वितरण गर्ने निर्णय लिइएको हो । चौधरी ग्रुपद्वारा उत्पादित तयारी खानेकुराहरु बाढीपिडितलाई वितरण गरिएको छ । जसमा वाईवाई चाउचाउ, वाईवाई भुजिया, रियो जुस र रियो पानी रहेका छन् । यी खाद्यान्न पीडितका हातमा पर्ना साथ उपभोग गर्न सकिने भएकाले पीडितलाई तत्कालै राहत पुग्ने विश्वास गरिएको छ । यसका साथै पीडितहरुलाई कम्बल, ओछयाउने म्याट पनि वितरण गरिएको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनले मंगलबार सप्तरी जिल्लाका बाढीबाट सर्वाधिक प्रभावित कदमाहा र जोगिनियामा पुगि राहत वितरण गरेको छ । बुधबार सुनसरीको देवानगञ्ज र हरिनगर लगायत गाउँमा राहत वितरण गरिएको छ । चितवनको दक्षिणी भेग मेघौलीको सुकुम्बासी वस्तीमा पनि राहत वितरण गरिएको छ । त्यसैगरि नवलपरासीको सरावल गाउँपालिकाको भुजवा गाउँमा राहत वितरणका लागि टोली प्रस्थान गरिसकेको छ । बर्दियामा प्रमुख जिल्ला अधिकारी बिष्णु थापालाई एक हजार प्याकेट राहत सामाग्री हस्तान्तरण गरिएको छ । स्थानीय प्रशासनले तत्कालै ति सामाग्री बाढीपीडितलाई वितरण गर्ने प्रतिवद्धता जनाएको छ । फाउण्डेसनले काठमाडौं, नवलपरासी र बर्दिया स्थित चौधरी ग्रुपका कार्यालयहरूमार्फत् राहत वितरणको अनुगमन गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा रहेका ग्रुपका डिलर र डिस्ट्रिब्युटरहरूलाई पनि परिचालन गरिएको छ । यससँगै फाउण्डेसनले पीडितहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘हेल्थ किट’ पनि वितरण गर्ने तयारी गरेको छ । जसमा अत्यावस्यकीय औषधी लगायत प्राकृतिक प्रकोपका समयमा स्वस्थ रहन सहयोग पुर्याउने सामाग्रीहरु रहनेछन् । ‘तराई क्षेत्र बाढी र डुवानको चपेटामा परेको छ । हजारौंब्यक्तिको जनधनक्षती हुनुका साथै विस्थापित हुनु परेको छ । यस्तो विपत्तीको समयमा मानवीय सहयोगका हात बढाउनु हाम्रो परम्परा हो’, चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने ‘चौधरी फाउण्डेसन बढीपीडितहरूलाई तत्काल राहत पुर्याउने प्रयासका साथ पीडितहरू समक्ष पुगेको छ । प्राकृतिक प्रकोपको चपेटामा पर्नु भएका महानुभावहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न म सबैमाआव्हानगर्दछु ।’ अध्यक्ष चौधरीले बाढी पीडितको तत्कालिन र दिर्घकालिन व्यवस्थापनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्न पनि आग्रह गरेका छन् ।