सामसुङको नयाँ शोरुम नयाँ बजारमा, एलइडी टिभीदेखि माइक्रोवेभ ओभनसम्म पाइने

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लिले मंगलबार सामसुङको नयाँ शोरुम राजधानीको नयाँ बजारमा विस्तार गरेको छ । शोरुमको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले ग्राहकहरुको मागलाई ध्यानमा राखेर बजारमा नयाँ शोरुमको स्थापना गर्न उत्साहित भएको बताए । शोरुमले ग्रहकका लागि आकर्षक अफर पनि प्रदान गर्ने कम्पनिले जनाएको छ । सामसुङ डिजिटल प्लाजामा सामसुङका उत्पादनहरु एलइडी टि.भी, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ वभेन, मोबाइल, तथा कर्भड टि.भी उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न तथा ग्राहकलाई सर्वसुलभ तरिकाले उपलब्ध गराउने उद्देश्य रहेको कम्पनी जानकारी दिएको छ । उपत्यकाभित्र ९ वटा र बाहिर ५ वटा गरेर हालसम्म १४ वटा प्लाजा खुलिसकेको कम्पनीले जानकारी दिएको छ ।  

टेलिकमले ल्यायो चाडपर्वमा विशेष अफर, युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज

काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा जीएसएम प्रिपेड र पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अफर उपलब्ध गराउने भएको छ । टेलिकमका अनुसार युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ । युट्युब डाटा प्याकेज लिनका लागि वाइटि १ जिबि वा वाइटी ५०० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि प्याक १५० वा प्याक २५० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने टेलिकमले जानकारी दिएको छ । यी सबै अफर आगामी भदौ ५ देखि भदौ १९ सम्म खरिद गर्न सकिने छ । त्यसैगरी यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने टेलिकमले जानकारी दिएको छ।  

चितवनमा स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलदै गर्दा फेरी डेंगु रोग देखियो

चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु लागेको पाइएको बताए । कालिका नगरपालिकास्थित जुटपानीकी १७ वर्षीया एक किशोरीमा रोग देखिएको जनाइएको छ । गएको साउन २७ गते भरतपुर अस्पतालमा डेंगु पुष्टि भएको र उनलाई स्क्रब टाइफससमेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक केसीले बताए । अहिलेसम्म जिल्लामा ३९१ जनामा गरिएको परीक्षणमा १०५ जनामा स्क्रब टाइफस रोग देखिएको छ । जसमा एक जना महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनको भरतपुर अस्पतालमा २७, रत्ननगर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा २३, नारायणी सामुदायिक अस्पतालमा ३६ र मनकामना अस्पतालमा दुई जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । यस्तै अन्य १३ जना बिरामी अन्य विभिन्न निजी ल्याबमा पत्ता लागेका हुन् । यस्तै स्वाइनफ्लुबाट तीन महिनाको अन्तरालमा १७२ जना बिरामी भएको केसीले जानकारी दिए । स्क्रब टाइफस र डेंगुको लक्षण अत्याधिक ज्वरो आउने, टाउको दुख्ने लगायत लक्षण उस्तै भए पनि स्वाइनफ्लुमा भने रुघाखोकी देखिने चिकित्सकले बताएका छन् । स्क्रब टाइफस माइट नामको सुक्ष्म कीराले टोकेमा सर्छ भने डेंगु एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्छ । जिल्लामा अहिले भाइरल ज्वरोसमेत फैलिएकाले सचेत हुन र ज्वरोसँगै लक्षण देखिनेबित्तिकै चिकित्सकको निगरानीमा जान भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले आग्रह गरेका छन् । रासस