विद्युत प्राधिकरणले भन्यो: तिहारमा बत्ती कम बाल्नुस्
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा बढी बिजुली खपत हुने उपकरण प्रयोग नगर्न भनेको छ । बढी बिजुली माग हुने साँझको समयमा उच्च भोल्टेजका बत्ति, हिटर, राइसकुकर, ओभन, आइरन, एसी, इनडक्सन हिटर, वाटर पम्प जस्ता उपकरण प्रयोग नगर्न अनुरोध गरेको हो । प्राधिकरणले साँझ ५ देखि राती १० बजेसम्म प्रयोग नगर्न प्राधिकरणले सुझाएको छ । बढी बिजुली खपत हुने उपकरण प्रयोगमा ल्याउदा वितरण ट्रान्सफरमर, फिडर लाइन ओभरलोड भइ ट्रिप हुने र बिजुली आपूर्ति समेत बन्द हुने भन्दै प्राधिकरणले यस्ता उपकरण प्रयोग नगर्ने अनुरोध समेत गरेको छ । तिहारमा साँझका बेला दीपावली गर्नका लागि बढी बिजुलीको माग हुने र सोही अनुपातमा आपूर्ति गर्न कठिन हुने प्राधिकरणको भनाई छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पुर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहारभर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफयुल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ । भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति गर्ने प्राधिकरणको तयारी छ । यस्तै भारतबाट ४१५ मेगावाटसम्म बिजुली आयात हुने छ ।
कैलाश विकास बैंकको नयाँ शाखा बाँकेको कोहलपुरमा
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले बाँकेको कोहलपुरमा आफ्नो ३९औँ शाखा स्थापना गरी आइतबारदेखि कारोवारको शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले गरेका हुन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ३९ पुगेका छन् भने एटीएम संख्या १९ पुगेका छन् । बैंकले निकट भविश्यमा दाङ्ग जिल्लाको लमही, सुनसरी जिल्लाको इटहरी, कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप चार शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । उक्त पूजींमा न्यूनतम १० प्रतिशतका दरले मात्र बोनस सेयर जारी गरे पनि नेपाल राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पुग्नेछ । यस संस्थाले हाल सम्म १८ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
पाँचथरमा रानीटार विमानस्थल बन्दै, लागत ५५ करोड
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाँचथरको रानीटारमा विमानस्थल बनाउने भएको छ । क्यानले पाँच वर्षमा काम सक्ने लक्ष्य सहित फिदिम नगरपालिकामा विमानस्थल बनाउन लागेको हो । मेची पहाडी जिल्ला ताप्लेजुङको सुकेटारमा बाहेक अन्य जिल्लामा विमानस्थल छैन । प्रस्तावित विमानस्थल निर्माण भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमवासी लाभान्वित हुनेछन् । एयरपोर्ट निर्माण भएपछि पाँचथरको रमणीयस्थल पाथिभरा, माईपोखरी, तिम्बुपोखरी, सिलौटी र कन्चनजंङघा, कुम्भकर्ण, मनास्लु हिमश्रृङला लगायत महत्वपूर्ण पर्यटकीयस्थलहरु छन् । विमानस्थल निर्माण भएपछि पाँचथरको पर्यटकीयस्थलहरुमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । क्यानले करिब ८ वर्ष अगाडी विस्तृत सर्वेक्षण पुरा गरेपनि सरकारले आवश्यक बजेट विनियोजन नगर्दा विमानस्थल निर्माण हुन सकेको थिएन । २०६९ सालमा क्यानले आवश्यक भएका विभिन्न आठ स्थानमा विमानस्थल बनाउने योजना ल्याएको थियो । सोही अन्तर्गत रानीटार विमानस्थललाई पनि प्रस्ताव गरेपछि यसको काम अघि बढेको हो । आगामी असारम सान्तसम्ममा विमानस्थल निर्माणकार्य सुरु गर्नुपूर्व आवश्यक टेन्डर प्रक्रिया पुरा गर्ने ईञ्जिनियर नरविक्रम थापाले जानकारी दिए । क्यानले प्रस्तावित विमानस्थलका लागि वातावरणिय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सो स्थानमा वन क्षेत्रसहितको १५.०९ हेक्टर क्षेत्रफलको सरकारी जग्गा, १.२ हेक्टरको निजि र अन्य गरी जम्मा १८.१९ हेक्टर जग्गामा ६७० मिटर लामो र ४० मिटर चौडा धावन मार्ग तथा विमान स्थाललाई आवश्यक पर्ने सहायक संरचना निर्माण गर्न लागिएको हो । क्यानले आवश्यक राय सुझावका लागि सो प्रतिवेदन सम्बन्धित सरोकारवाला निकायलाई पठाइएको थापाले बताए । उनले भने, ’विभिन्न सरोकारवाला निकायहरुबाट विज्ञहरुको टोली गठन भएको छ । सो टोलीले प्रतिवेदन अध्ययन गरेर दिएको राय सुझाव संकलन गर्न कम्तीमा १ महिना लाग्छ । त्यसपछि चार महिना लगाएर त्यसको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्छौं । चालु आर्थिक वर्षको अन्तिममा सम्पूर्ण औपचारिकताका प्रक्रिया पुरा गरेपछि विमानस्थलको निर्माण काम सुरु हुन्छ ।’ विमानस्थल निर्माणमा ५५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्राधिकरणले जानकारी दिएको छ । ६७० मिटर लामो हवाई मैदान (रनवे) निर्माणका लागि १६ करोड ५४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रस्तावित विमानस्थलको लम्बाइ एकहजार मिटर र चौढाइ दुइ सय ५० मिटरको हुनेछ ।