नेपाल उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा भारतमा सम्मानित
काठमाडौं । भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम) मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ । यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवार्डस् नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ । उक्त अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नारायण बस्यालले ग्रहण गरेका थिए । अवार्ड समारोहमा आयोजित ‘डेस्टिनेसन प्रिजेन्टेशन’ सत्रमा बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले नेपालको विविध पर्यटन आकर्षणहरू, बुद्ध सर्किट, रामायण सर्किट, तथा अन्तरदेशीय इको–ट्रेलहरूजस्ता पर्यटन उत्पादन समेटिएको श्रव्यदृश्य प्रस्तुति गरेका थिए । जसमा नेपालमा युनेस्को विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरू, आध्यात्मिक तीर्थाटन मार्गहरू, विश्वस्तरीय पदयात्रा तथा हिमाल आरोहण अवसरहरू र रोमाञ्चक साहसिक खेलहरू प्रमुख आकर्षण रहेको बारे जानकारी गराइएको हो । आइआइटीएम पुणे, २०२५ मा नेपाल पर्यटन बोर्डको सक्रिय सहभागिताले भारतीय पर्यटन बजारसँगको सम्बन्ध अझ प्रगाढ बनाउने तथा नेपाललाई ‘अल सिजन डेस्टिनेसन’ र ‘लाइफटाइम एक्सपेरियन्स’ प्रदान गर्ने देशका रूपमा प्रवर्द्धन गरिएको बोर्डको नेतृत्व गर्दै कार्यक्रममा सहभागी वरिष्ठ अधिकृत रेग्मीले बताए । आइआइटीएममा नेपाल पर्यटन बोर्डले १५ वटा प्रमुख ट्राभल व्यापार कम्पनीहरूसँगको सहकार्यमा भारतका यात्रा व्यवसायी तथा प्रमोटरका माझ नेपालका विशिष्ट पर्यटन प्याकेज तथा आकर्षणहरू प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए । तीनदिने ट्राभल मार्टमा विश्वका विभिन्न मुलुकका विभिन्न ट्राभल व्यापार प्रतिनिधि तथा पर्यटन व्यवसायी र पर्यटकहरूको सक्रिय सहभागिता छ । बोर्डले आइआइटीएममा रहेको नेपाल पभेलियनमा नेपालका समृद्ध सांस्कृतिक सम्पदा, साहसिक गन्तव्य, र अतिथिसत्कार प्रस्तुत गर्ने सशक्त मञ्च भएको उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्ड तथा साझेदारहरूको सफल सहभागिताले नेपालप्रति भारतीय बजारमा उल्लेखनीय चासो र माग बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । यस किसिमका अन्तरराष्ट्रिय मञ्चहरुमा भएको बोर्डको सक्रिय सहभागिताले नेपाललाई भारतीय पर्यटकहरूको प्राथमिक गन्तव्यका रूपमा थप सशक्त बनाउने सीईओ जोशीको विश्वास छ ।
चार महिनामा १६ हजार पर्यटक मनाङमा
मनाङ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन् । इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन् ।
तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै
बागलुङ । एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ । अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा निर्माण थालिएको भवन अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ । २०७९ साल माघ ६ गते एक वर्षमा सक्ने गरी निर्माण थालेको भवन अझै सम्पन्न हुन नसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । उनका अनुसार दुई पटक थपेको म्यादसमेत अहिले सकिएकाले भवन निर्माणमा अझै अन्योलता छाएको छ । 'एक वर्षमा सकिने भवन तीन वर्षमा सकिएको छैन, दुई पटकसम्म थपेको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ, भवनमा प्लाष्टरको काम अझै सकिएको छैन, तिहार यता कामदार भवनमा देखिएका छैनन्' घर्तीले भने, 'भवन समयमा नबन्दा ठेक्का तोड्ने वा म्याद थप्ने विषयमा छलफल भइरहेको छ, नगरपालिकाले निर्माण व्यवसायीलाई धरौटी जफत गरेर भएपनि सम्पन्न गर्ने योजनामा छ ।' भवन निर्माणका लागि दोस्रो पटक थप गरिएको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ । निर्माण व्यवसायी डिएनप्रसाद जेभीसँग एक करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले थोरै कामदार परिचालन गर्ने, सम्पर्क बिहिन हुने लगायतका कारण भवन समयमै बन्न नसकेको हो । नगरपालिकाकै नमुना स्वास्थ्य चौकीको रुपमा रहेको नारायणस्थान स्वास्थ्य चौकी अहिले साँघुरो भवनबाट सेवा प्रभाह भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिए । भवन सम्पन्न भए गुणस्तरीय सेवा प्रभाह गर्न सहज हुने उनको भनाइ छ । जनताले चन्दा उठाएर २१ लाख रुपैयाँ संकलन गरी स्वास्थ्य चौकीको नाममा जग्गा खरिद गरेर भवन निर्माणका लागि काम थालेपनि समयमा भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको शर्माले बताए । रासस