काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ५२औं दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ ।
त्रिविका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी तथा सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन सक्नेछन् ।
आवेदन असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत दिन सकिने त्रिविले जनाएको छ ।
विद्यार्थीलाई सहज हुने गरी यसपटक त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोहका लागि केन्द्र निर्धारण गरेको छ ।
बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्र तोकिएको त्रिविले जनाएको छ । विद्यार्थीले अनलाइन आवेदन फाराम भर्दा आफू सहभागी हुने केन्द्रसमेत छनोट गर्नुपर्नेछ ।
एमफिल, पीएचडी तथा टपर र मेडल प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेशलाई केन्द्र तोकिएको छ ।
दीक्षान्त समारोहमा सहभागी हुन तहअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ । स्नातक तहका विद्यार्थीका लागि तीन हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि तीन हजार पाँच सय रुपैयाँ र विद्यावारिधिका लागि चार हजार रुपैयाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क तोकिएको छ ।
त्यस्तै, गाउन–स्कार्फका लागि सबै तहका विद्यार्थीले दुई हजार पाँच सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ । उक्त रकममध्ये पाँच सय रुपैयाँ मर्मतसम्भार खर्च कट्टा गरी बाँकी रकम विद्यार्थीको बैंक खातामा फिर्ता गरिनेछ ।
विद्यार्थीले दीक्षान्त समारोहमा बढीमा दुई जना अभिभावक सहभागी गराउन सक्नेछन् । प्रत्येक अभिभावकका लागि चार सय रुपैयाँ फिर्ता नहुने शुल्क तोकिएको छ ।
इच्छुक विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको लोगो अंकित प्रमाणपत्र राख्ने फोल्डर लिन चाहेमा थप पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
त्रिविका अनुसार दीक्षान्त समारोहका लागि लाग्ने सम्पूर्ण शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमा अनलाइन बैंकिङमार्फत मात्र दाखिला गर्न सकिने त्रिविले जनाएको छ ।