बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ, कम्पनीलाई ३५ लाख दिन बाँकी

गोदावरी । बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । पालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाउँदा भवन अधुरो छ । निर्माण कम्पनीलाई ३५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र भएको छ ।  पालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ । प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार उक्त भवन निर्माण प्रारम्भ भएको हो ।  यसैगरी, जिल्लाको लम्कीचुहा नगरपालिका–१० चुहामा निर्माणाधीन ५० श्ययाको सामुदायिक अस्पताल भवन पनि अलपत्र छ । निर्माण कम्पनीले भुक्तानी नपाएपछि काम रोकिएको हो । दुई वर्षदेखि रोकिएको काम पुनः प्रारम्भ गर्न सम्बन्धित निकाय अग्रसर नहुँदा स्थानीय चिन्तित छन् । 

देशभरी गुड्ने एम्बुलेन्स र शववाहनको विवरण संकलन गर्दै मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरी गुड्ने एम्बुलेन्स र शववाहनको विवरण संकलन थालेको छ । अहिलेसम्म नेपालमा कति एम्बुलेन्स र शववाहनको एकिन विवरण स्वास्थ्य मन्त्रालयसँग छैन । पालिका, स्थानीयतह र रेडक्रस लगायत विभिन्न संस्थाले एम्बुलेन्स सञ्चालन गरिरहेकाले एकिन तथ्यांक मन्त्रालयसँग छैन । अहिले मन्त्रालयले एक सूचना जारी गर्दै यही मङ्सिर २१ गतेभित्र अनिवार्य रूपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन भनेको छ । आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री एम्बुलेन्स र शववाहन सेवाका लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहेकाले हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स तथा शववाहनहरुको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरूले पठाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५.२५ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकको लागि लिइएको नाम दर्ता (विशेष परीक्षा)को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार ७५.२५ प्रतिशत उत्तीर्ण भएका हुन् । काउन्सिलका अनुसार विभिन्न २८ विषयका २०४ जनाले फारम भरेकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी २ सय २ जनामध्ये १ सय ५२ जना ७५.२५ प्रतिशत चिकित्सक पास भएका जनाइएको छ । परीक्षामा सहभागी ५० जना चिकित्सकले चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह परीक्षा पास गर्न सकेनन् । नेपाल मेडिकल काउन्सिलले स्नातक तह (एमबीबएिस र बीडीएस) चिकित्सकहरूको नाम दर्ता (लाइसेन्स) परीक्षा र विशेषज्ञ चिकित्सकहरूको विशेष परीक्षा वर्षको तीन तीन पटक लिने गरको छ ।