२० घण्टामा २ हजार मतदान गरे, ईश्वर पोखरेललाई लाग्यो १ घण्टा ४ मिनेट

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सुरु गरिएको मतदान २० घण्टादेखि निरन्तर जारी छ। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा लामो समयसम्म तानिएको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म कुल २,२६२ मतदातामध्ये २००५ जनाले मतदान गरिसकेका छन् । अहिले ८० जना विद्युतीय मेसिनमा मतदान गरिरहेकाले बाँकी २७६ मत खस्न अझै बाँकी रहेको आयोगले जनाएको छ। मतदानका लागि प्रतिनिधिहरू लाइनमा बसेर पालो कुर्दै मतदान गरिरहेका छन्। निर्वाचन प्रक्रियामा हरेक घण्टामा औसतमा करिब १०० मत खसेको देखिएको छ। विद्युतीय मतदान प्रणाली प्रयोग गरिएकाले प्रत्येक मतदातालाई मतदान गर्न अपेक्षाकृत बढी समय लागेको आयोगको भनाइ छ। नेपाली वैज्ञानिकका रूपमा परिचित नुवाकोटका रिमाल दाजुभाइ राम-लक्ष्मणको प्रविधि प्रयोग गरिएको थियो । उनीहरुले बनाएको विद्युतीय मतदान प्रणाली आम निर्वाचनमा समेत प्रयोग गर्न माग उठिरहेको बेलामा नेकपा एमालेले आन्तरिक निर्वाचनमा यसका प्रयोग गरेको थियो । तर उक्त निर्वाचनमा मतदान प्रक्रिया निकै सुस्त भएपछि राम-लक्ष्मण प्रविधि काम नलाग्ने रहेछ भन्दै आलोचना भइरहेको छ । राम-लक्ष्मण दाजुभाइ एमालेले भने उम्मेदवारको संख्या धेरै भएको र मतदातामा विद्युतीय मतदान शिक्षाको कमी भएकाले मतदान ढिला भएको बताएको छ । एमाले अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले आफूलाई मतदान गर्न १ घण्टा ४ मिनेट लागेको निर्वाचनपछि सञ्चारकर्मीहरूलाई बताए । लामो समयसम्म चले पनि मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको छ। मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्राविधिक टोली समेत सतर्क अवस्थामा राखिएको छ। २० घण्टा लामो यो मतदानलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरणका रूपमा हेरिएको एमाले नेता माधव ढुङ्गेलले बताए । नेतृत्व चयनमा प्रतिनिधिहरूको सक्रिय सहभागिताले एमालेको आन्तरिक लोकतन्त्रलाई व्यवहारमै अभ्यास गरिएको ढुङ्गेलको धारणा छ।

माइक्रोसफ्टपछि अमेजन पनि ओपनएआईतर्फ ? १० अर्ब डलरभन्दा ठूलो सम्झौताको संकेत

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप ओपनएआईले सम्भावित लगानी र आफ्ना एआई चिप्स प्रयोग गर्ने सम्झौताबारे अमेजनसँग छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।  विषयसँग परिचित एक व्यक्तिका अनुसार सम्झौताका विवरणहरू अझै अन्तिम भइनसकेका र परिवर्तन हुन सक्ने अवस्थामा छन् ।  ती व्यक्तिका अनुसार लगानी रकम १० अर्ब डलरभन्दा बढी हुन सक्ने अनुमान छ । सम्भावित सम्झौताबारे ‘द इन्फर्मेशन’ले पहिलोपटक समाचार प्रकाशित गरेको थियो। यो छलफल ओपनएआईले अक्टोबरमा पुनर्संरचना पूरा गरी माइक्रोसफ्टसँगको साझेदारीका विस्तृत विवरण सार्वजनिक गरेपछि सुरु भएको हो । यसले ओपनएआईलाई पूँजी जुटाउन र फराकिलो एआई इकोसिस्टमभित्र अन्य कम्पनीहरूसँग साझेदारी गर्न थप स्वतन्त्रता दिएको छ । माइक्रोसफ्टले सन् २०१९ देखि ओपनएआईलाई समर्थन गर्दै आएको छ र हालसम्म १३ अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ । तर अक्टोबरमा जारी विवरणअनुसार अब माइक्रोसफ्टसँग ओपनएआईको कम्प्युट सेवा प्रदायक बन्न पहिलो प्राथमिकताको अधिकार (राइट अफ फर्स्ट रिफ्युजल) छैन । ओपनएआईले अब तेस्रो पक्षसँग पनि केही उत्पादन विकास गर्न सक्ने भएको छ । अमेजनले ओपनएआईको प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकमा कम्तीमा ८ अर्ब डलर लगानी गरिसकेको छ । तर ई–कमर्स क्षेत्रको दिग्गज अमेजनले तीव्र गतिमा बढिरहेको जेनेरेटिभ एआई बजारमा आफ्नो उपस्थिति अझ विस्तार गर्न खोजिरहेको हुन सक्ने देखिन्छ । माइक्रोसफ्टले पनि गत महिना एन्थ्रोपिकमा ५ अर्ब डलरसम्म लगानी गर्ने घोषणा गरेको थियो भने एनभिडियाले उक्त स्टार्टअपमा १० अर्ब डलरसम्म लगानी गर्ने जनाएको छ । अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) ले सन् २०१५ तिरदेखि आफ्नै एआई चिप्स डिजाइन गर्दै आएको छ । मोडेल प्रशिक्षण र बढ्दो कम्प्युट माग पूरा गर्न एआई कम्पनीहरूका लागि हार्डवेयर अत्यन्तै महत्त्वपूर्ण बन्दै गएको छ ।  एडब्ल्यूएसले २०१८ मा आफ्नो ‘इन्फरेन्टिया’ चिप्स घोषणा गरेको थियो भने यसै महिनाको सुरुमा ‘ट्रेनियम’ चिप्सको नयाँ पुस्ता सार्वजनिक गरेको हो । हालका महिनाहरूमा ओपनएआईले एनभिडिया, एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) र ब्रडकम जस्ता चिप निर्माता कम्पनीहरूसँग सम्झौतासहित १.४ ट्रिलियन डलरभन्दा बढीको पूर्वाधारसम्बन्धी प्रतिबद्धता गरेको छ । गत महिना ओपनएआईले क्लाउड पूर्वाधार क्षेत्रमा अग्रणी एडब्ल्यूएससँग ३८ अर्ब डलर बराबरको क्षमता खरिद गर्ने सम्झौता गरेको थियो, जुन एडब्ल्यूएससँग ओपनएआईको पहिलो सम्झौता हो । अक्टोबरमै ओपनएआईले ६.६ अर्ब डलरको द्वितीय सेयर बिक्री (सेकेन्डरी सेयर सेल) टुंगो लगाएको थियो, जसअन्तर्गत वर्तमान तथा पूर्व कर्मचारीहरूले ५०० अर्ब डलरको मूल्याङ्कनमा आफ्ना सेयर बिक्री गर्न पाएका थिए।

नेपाल चिकित्सक संघको चुनावी माहोल तात्यो, बद्री रिजाल र मंगल रावल आमनेसामने

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व छनोटका लागि चिकित्सकहरू दौडधूपमा लागेका छन् ।  आगामी माघ २ र ३ गते काठमाडौं उपत्यकाभित्र र १५, १६ र १७ गते उपत्यका बाहिर निर्वाचन गर्ने मिति सार्वजनिक गरिएसँगै चिकित्सकलाई चुनाव लागेको हो ।  आगामी नेतृत्वका लागि बुधबार (बुधबार) चिकित्सकहरू नामावली दर्ता गराएका छन् । जसमा प्रजातन्त्रवादी चिकित्सक समूहको तर्फबाट डा. बद्री रिजाल, प्रगतिशील समूहबाट डा. मंगल रावलले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।   बद्री समूह रिजालको प्यानलमा वरिष्ठ उपाध्यक्षका डा. सञ्जीव तिवारी, उपाध्यक्षमा सुदूरपश्चिम प्रदेशबाट डा. प्रमोद जोशी, कर्णालीबाट डा. सोभित, लुम्बिनीबाट डा. दिनेश चौधरी, गण्डकीबाट डा.नवराज लम्डारी रहेका छन् ।  यस्तै, बागमती प्रदेशबाट डा. बिना श्रेष्ठ, मधेशबाट डा. रोशन खड्का र कोशीबाट डा. अमित रञ्जन मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।  यस्तै, रिजाल समूहबाट महासचिवका लागि डा. विश्वराज दुवाडी, सहसचिवका लागि डा. हुलास अग्रवाल र कोषअध्यक्षका लागि डा. संयुक्त आचार्य र सह कोषध्यक्षको लागि डा. तेजुसिंह मल्लको उम्मेदवारी परेको छ भने सदस्यका लागि डा. हिमलाल भण्डारी, सुवोध मिश्र, डा सोहित काफ्ले डा. प्रभुराम घिमिरे, डा. राकेश साह र डा. सुवाश भट्टराई रहेका छन् । मंगल समूह यस्तै, डा. मंगल रावल समूहमा अध्यक्षका लागि स्वं डा. रावल, महासचिवका लागि डा. कालुसिंह खत्री, सहसचिवका लागि डा. रामजीवन प्रसाद, कोषाध्यक्षका लागि डा.चन्दनी जयसवाल र सह कोषध्यक्षका लागि डा. सुवास गुरुङको नाम दर्ता भएको छ ।  यस्तै, उपाध्यक्षका लागि भने सुदूरपश्चिम प्रदेशबाट डा निरज अर्या, कर्णाली प्रदेशबाट डा. रविन खड्का, लुम्बिनीबाट डा. सन्तोष पोख्रेल, गण्डकीबाट डा. यज्ञराज सिग्देलको उम्मेदवारी दर्ता भएको छ ।  यस्तै, बागमती प्रदेशबाट डा. अरुण शाही, मधेशप्रदेशबाट डा. उदणनारायण सिंह र कोशी प्रदेशबाट डा. टंक बाराकोटीको उम्मेदवारी दर्ता भएको छ  भने सदस्यका लागि  डा. निराजन तामाङ, डा. जेबाना अन्सारी, डा. दिक्षा बोहरा, डा. पल्पसा श्रेष्ठ, डा. अमित झा र डा. अरुण उप्रेती रहेका छन् ।  चिकित्सक संघको विधानअनुसार केन्द्रीय कार्यकारणी समितिका लागि एक जना अध्यक्ष, प्रत्येक प्रदेशबाट ७ जना उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक-एकजना प्रादेशिक संयोजक रहने गरी महासचिव एक जना, सहसचिव एक, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र ६ जना सदस्य गरी जम्मा १९ जना र नेपाल चिकित्सक संघ परिषद सदस्य ६० जनाको हुने गर्छ ।  अब आउने नेतृत्वले २०८५ सालसम्म स्वास्थ्यका क्षेत्रमा काम गर्ने छ ।