बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे सम्झौता, होटेल अन्तर्राष्ट्रिय ब्रान्डमा सञ्चालन हुने
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अन्तर्राष्ट्रिय होटेल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटेल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै बन्दीपुरस्थित होटेल अब लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्ड अन्तर्गत सञ्चालनमा आउने भएको छ । सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्सको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विलास पवारले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार होटेलको व्यवस्थापन, ब्रान्डिङ, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संशोधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच लेमन ट्री होटल्समार्फत सुनिश्चित हुनेछ । यस सहकार्यले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । १०० भन्दा बढी होटेल र ९ हजारभन्दा बढी कोठासहित भारत, मध्यपूर्व तथा एसियाका विभिन्न मुलुकमा उपस्थिति रहेको लेमन ट्री होटल्सको वैश्विक नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्ट र अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँगको सहकार्यले बन्दीपुरको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीका अनुसार यो सहकार्य बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका लागि रणनीतिक माइलस्टोन हो । अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले होटेलको अकुपेन्सी दर वृद्धि, विदेशी मुद्रा आर्जन, राजस्व स्थायित्व तथा कम्पनीको ब्रान्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय रोजगारी सिर्जना हुने र सेवा गुणस्तर तथा पर्यटन पूर्वाधारमा सुधार आउने अनुमान गरिएको छ । बन्दीपुरस्थित होटेल छिट्टै लेमन ट्री होटल्सको ब्रान्ड नाम र मानकअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
लाभांश पारित गर्न तारागाउँ रिजेन्सीले डाक्यो साधारणसभा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २३ गते २९औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बुधबार बिहान ११ बजे नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गर्ने जनाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
चन्द्रागिरी हिल्सले सेयर वितरणपश्चात हकप्रद जारी गर्ने, डाक्यो साधारण सभा
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २३ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बुधबार बिहान ११ बजे चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन परिसर, थानकोट काठमाडौंमा साधारण सभा आयोजना गर्न लागेको हो । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।