उपकुलपति नेपालमाथि अनेरास्वियू क्रान्तिकारीको दुर्व्यवहार, आर्थिक अनियमितता गरेको आरोप
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि आइतबार बिहान दुर्व्यवहार भएको छ । अनियमितता गरेको आरोप लगाउँदै नेकपा बहुमत निकट अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी नेताहरूले मोसो दल्दै दुर्व्यवहार गरेको विश्वविद्यालयका एक प्राध्यापकले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ८ बजेतिर ६ जनाको समूहमा पुगेका अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीहरूले बेलझुण्डीस्थित उपकुलपति नेपालको क्वाटरमै पुगेर मोसो दल्नुका साथै अभद्र व्यवहार गरेका थिए । दाङ प्रहरीका सूचना अधिकारी दीपक चक्र बहादुर शाहले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी खोजीकार्य भइरहेको जानकारी दिए । घटनापछि तत्काल प्रहरी टोली परिचालन गरिएको छ । संलग्नहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको शाहले बताए । उपकुलपति नेपालमाथि दुव्र्यवहार भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुखसहित इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली विश्वविद्यालय परिसर पुगेको थियो । हाल बेलझुण्डी आसपासका क्षेत्रमा प्रहरी परिचालन गरी घटनामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । बेलझुण्डीस्थित विश्वविद्यालय परिसरमै प्रहरी चौकी रहे पनि दुव्र्यवहार गर्ने समूह उपकुलपतिको कार्यकक्ष होइन, निजी क्वाटरसम्म पुगेर मोसो दल्नुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको प्राध्यापकहरुले दाबी गरेका छन् । यस घटनापछि विश्वविद्यालय परिसरमा सुरक्षा सतर्कता बढाइएको शाहले जानकारी दिए । यसैबीच घटनाको जिम्मेवारी अनेरास्ववियू क्रान्तिकारीका लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत लिएका छन् । जारी विज्ञप्तिमा उपकुलपति धनेश्वर नेपालमाथि विभिन्न आरोप लगाइएको छ । विज्ञप्तिमा विश्वविद्यालयमा आर्थिक तथा प्रशासनिक अनियमितता, नियुक्ति प्रक्रियामा पक्षपात, विद्यार्थी हितविपरीत निर्णयलगायतका विषय उल्लेख गरिएको छ । आन्दोलनात्मक कार्यक्रमअन्तर्गत उक्त कदम चालिएको दाबी छ । तर, आरोपबारे उपकुलपति नेपाल वा विश्वविद्यालय प्रशासनको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन ।
एकै परिवारका ७ जना चिकित्सक, डेढ अर्ब लगानीमा जीबी हस्पिटल बनाउँदै
काठमाडौं । झापाको दमक नगरपालिका-९ मा एक सय बेडको जीबी मेट्रिनिटी एण्ड चाइल्डकेयर जनरल हस्पिटल सञ्चालनमा आउने भएको छ । झापामा पेट्रोलपम्प, एमआरएफ टायरको लिडरसिप र रियल स्टेट व्यवसाय गरिरहेको लगानीकर्ता एवं चिकित्सक डा. सुमन आचार्यको परिवारले अब आफ्नै गाउँमा एक सय बढी शय्याको अस्पताल सञ्चालन गर्ने भएको हाे । डा. आचार्यले भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगिसकेकोले अब चाँडै सञ्चालनमा ल्याउने जानकारी दिए । ‘अहिले निर्माणको अन्तिम चरणमा छ,’ विकासन्युजसँग कुरा गर्दै आचार्यले भने, ‘छिट्टै हामी आफ्नै गाउँमा स्वास्थ्य सेवा सुरु गर्ने छौं ।’ एमबीबीएस गरेर विभिन्न अस्पतालमा सेवा दिँदै आएका आचार्यले आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागेकाे बताए । ‘म एक चिकित्सक हुँ, पढाइ सकेपछि पाटनलगायत विभिन्न अस्पतालमा काम गरेँ तर, अब स्वास्थ्य सेवा आफ्नै गाउँमा सेवा दिनुपर्छ भन्ने लाग्यो अनि पारिवारिक सल्लाहमा अस्पताल सञ्चालन गर्ने निर्णयमा पुग्यौं,’ उनले भने । एकै घरमा ७ जना चिकित्सक बनिसकेपछि ७ जना चिकित्सकले एउटा अस्पताल सञ्चालन गर्न सक्ने भन्दै आफ्नै अस्पताल सञ्चालन गर्ने निर्णय गरेको उनले सुनाए । ‘मेरो श्रीमती पनि चिकित्सक हुन्, उनीसहित बुवाआमा र अन्य सदस्यसँग सल्लाह गर्यौं,’ आचार्य भन्छन्, ‘सबैको सहमति अनुसार एक सय बेडको अस्पताल बनाउने सहमति भयो ।’ पारिवारिक सहमति अनुसार आजभन्दा तीन वर्ष पहिलेदेखि अस्पताल निर्माण कार्य सुरु गरिएको थियो । आचार्यका बुवा घानु आचार्य पहिल्यैदेखि व्यवसायमा आबद्ध छन् । अस्पताल सञ्चालन गर्ने सुमनको निर्णयमा लगानी र सहयोग बुवा घानुकै छ । दमक नगरपालिका वडा नम्बर ९ मा ठूलो अस्पताल छैन । मान्छे बिरामी हुँदा बिर्तामोड, विराटनगर लगायत भारत जानुपर्ने बाध्यता छ । विशेषगरी महिलाहरूमा देखिने गाइनोसम्बन्धी समस्या र बालबालिका सामान्य बिरामी हुँदा पनि स्थानीयहरूले भौतारिनुपरेको छ । स्थानीय नागरिकलाई उपचारका लागि अन्यत्र जान नपरोस् भन्ने उद्देश्यले गाउँमै सेवा दिने योजना अनुसार अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको डा. आचार्यले बताए । उनी भन्छन्, ‘हाम्रो गाउँमा राम्रो अस्पताल छैन, नागरिकले सेवा लिन विराटनगर बिर्तामोड पुग्नुपर्छ, सामान्य सेवादेखि गम्भीर प्रकृतिका जोखिमबाट सेवा लिन सहज होस् भनेर हामीले अस्पताल सञ्चालन गर्ने योजना बनाएका हौं ।’ आचार्यले बन्न लागेको अस्पताल जनरल अस्पताल हुने बताए । महिला स्वास्थ्य (गाइनो) र बालरोग (पेड)लाई डेडिकेटेड गरे पनि पहिलो चरणमा जनरल अस्पतालका रुपमा सञ्चालन गरिनेछ । ‘हामीले सञ्चालन गर्न लागेको मल्टिस्पेसालिटी अस्पताल नै हो, जुन एक सय बेड भन्दा माथिको हुन्छ, । लक्षित बालबालिका र गाइनोलाई नै हो,’ आचार्यले भने । तीन वर्ष अगाडिदेखि निर्माण कार्य सुरु भएकाले संरचना अन्तिम चरणमा आइसकेको छ । परिवारका ७ जना चिकित्सक आचार्यको परिवारमा ७ जना चिकित्सक छन् । अहिले उनीहरू विभिन्न अस्पतालमा सेवा दिइरहेका छन् । एकै घरमा धेरै व्यक्ति चिकित्सक भइसकेपछि पनि आचार्य परिवारलाई अस्पताल खोल्न प्रेरणा मिलेको हो । उनी भन्छन्, ‘श्रीमती, भाइबहिनीलगायत घरैमा धेरै चिकित्सक पनि भयौँ, अर्को गाउँमा ट्रसरी सेन्टरको सेवा दिने अस्पताल पनि भएन, हामीले आफै सक्ने भएपछि गाउँमै किन सुरु नगर्ने त भन्ने लाग्यो र त्यही अनुसार काम सुरु गर्यौं ।’ आचार्यको परिवारमा उनीसहित डा. जनश आचार्य, डा. ज्योति आचार्य, डा. दीक्षा आचार्य, डा. जेमिश आचार्य , डा. उत्सव आचार्य र डा. सञ्जीव विष्ट गरी ७ जना चिकित्सक छन् । डा. आचार्य र उनको परिवार विगत दुई दशकभन्दा बढी समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको छ, जसका कारण व्यवसायीक व्यवस्थापन, वित्तीय अनुशासन र उद्यम सञ्चालनमा राम्रो अनुभव हासिल भएको बताइएको छ । आचार्यले २०८३ सालसम्म अस्पताल सञ्चालनमा ल्याइसक्ने योजना बनाएका छन् । डेढ अर्ब लगानी अर्याल परिवारले सञ्चालन गर्न लागेको अस्पतालमा डेढ अर्ब रुपैयाँ लगानी रहेको सुमनले जानकारी दिए । उनका अनुसार यसको नाम जीबी मेट्रिनिटी एण्ड चाइल्डकेयर जनरल हस्पिटल राखिएको छ । जग्गासहित करिब १ अर्ब ४४ करोड रुपैयाँ लागतमा झापाको दमक नगरपालिका-९ मा हस्पिटल बनिरहेको हो । मेट्रिनिटी एण्ड चाइल्डकेयर जनरल हस्पिटल ६९:३१ को ऋण-पुँजी अनुपातमा वित्तीय व्यवस्थापन गरिने छ, जसअनुसार १ अर्ब दीर्घकालीन ऋण र ४४ करोड रुपैयाँ पुँजी रहने बताइएको छ । सन् २०२५ नोभेम्बरसम्म हस्पिटल निर्माण प्रगति ५० प्रतिशत पुगेको कम्पनीले जनाएको छ । सन् २०२० मा निर्माण सुरु भएको उक्त अस्पताल करिब २ एकड क्षेत्रफल जग्गामा सञ्चालन हुनेछ । मातृत्व तथा बाल स्वास्थ्य सेवामा विशेष ध्यान दिने उद्देश्यले स्थापना गरिएको यस अस्पतालले झापा, इलाम, मोरङ र भारतका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दाबी गरेको छ ।
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन्। कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली जहाज’ ले लोभ्याइरहेको थियो । खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने यो साहसिक गतिविधिमा रुची राख्नेहरुको रोजाइमा पर्ने यो जहाजमा अहिले पर्यटकको कमी हुन थालेको छ । शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ। 'पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो भयो, नागरिक उड्डयन प्राधिकरणले ‘टेक अफ’ र ‘ल्याण्डिङ’ को शुल्क बढाएपछि उडान शुल्क महँगो हुन गर्यो, यसले व्यवसायमा ठूलो मार परेको छ ।' केही वर्षअघिसम्म आठ हजार पाँच सयमा पर्यटकले आकाशमा उडेर आनन्द लिन पाउँथे भने अहिले यो शुल्क बढेर १७ हजार ५०० पुगेको छ। शुल्क दोब्बर हुँदा अल्ट्रालाइट गर्ने पर्यटक सङ्ख्या घटेको उनको भनाइ छ । ‘एड्भेञ्चरको माता’ को उपनाम पाएकी श्रेष्ठ नेपालमा साहसिक हवाई पर्यटनको परिकल्पनाकार मानिन्छिन् । ‘एभिया क्लब नेपाल’ ले विसं २०५३ मा प्रबन्ध निर्देशक नताशा श्रेष्ठ र उनका रुसी साझेदारहरुले यसलाई नेपाल भित्र्याएकी थिइन् । पोखराको भूगोल अल्ट्रालाइटका अनुकूल मानिन्छ । पोखरामा अल्ट्रालाइट दक्षिण एसियामै पहिलो पटक सञ्चालनमा आएको हो । श्रेष्ठले नेपालमा यसको सम्भावना राम्रो रहेको उल्लेख गर्दै यसमार्फत विश्व बजारमा नेपाल चिनाउन र पर्यटन भित्र्याउन सकिने धारणा राखिन् । दक्ष जनशक्ति र राज्यको पर्यटनमैत्री नीतिको अभावले निजी क्षेत्रका व्यवसाय धरासायी हुँदै जानु र नयाँ लगानीमा सम्भावना कम हुँदै जाँदा पर्यटन क्षेत्रलाई असर गरेको उनको भनाइ छ । 'सुरुमा पोखरामा यस्तो साहसिक खेल भित्र्याउँदा धेरैलाई अनौठो लागेको थियो, तर आज यो पोखराको पहिचान बनेको छ', श्रेष्ठ भनिन्, 'हामीले पोखराको पर्यटनलाई केवल ताल र गुफामा सीमित नराखी आकाशको उचाइसम्म पु¥याउन सफल भएका छौँ यसको प्रवर्द्धन विस्तार जरुरी छ ।' उनका अनुसार सुरुवाती दिनहरूमा अल्ट्रालाइट उडाउन पूर्णरूपमा रुसी पाइलटहरूमा भर पर्नुपर्ने अवस्था थियो । एभिया क्लबले नै अनुभवी रुसी पाइलट ल्याएर यसको उडान सुरु गरेको हो । तर, अहिले नेपाली युवा पाइलटले नै उडान गर्न थालेका छन् । हाल पोखरा एभिया क्लब र पोखरा अल्ट्रालाइट प्रालिले मात्र यो सेवा प्रदान गरेको पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुनै समय दिनको ४० उडान गर्दै आएका कम्पनिले अहिले दिनको चार वटा उडानमा सीमित हुनुपर्ने अवस्था आएको छ । पर्यटकलाई आकर्षित गर्ने गतिविधिमा राज्यले पर्यटनमैत्री नीति बनाएर सहजको वातावरण गराउन सके नीति क्षेत्रलाई राहत मिल्ने र पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ । कुनै समय साहासिक गतिविधिमा रुची राख्ने पर्यटकले रुचाएको अल्ट्रालाइट अहिले पर्यटकको अभाव र चर्को शुल्कले सुस्ताउनु दुर्भाग्य भएको उनको बुझाइ छ । केही वर्षअघि विदेशी साथिसँगै अल्ट्रालाइटको उडान भरेका पोखराका रामबजारका विकास गुरुगंले अहिले शुल्क बढी भएको गुनासो गरे । 'अहिले शुल्क महँगो भयो, शुल्क घटाउने हो भने आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ', उनले भने । उनले साहसिक खेलमा प्याराग्लाइडिङ अल्टालाइट आआफ्नै विशेषता रहेको सुनाए । गुरुङले भने 'विदेशी पर्यटकहरू त झन् पोखराको यो उडानलाई विश्वकै उत्कृष्टमध्ये एक मान्छन्, धेरै देशमा उडान भरेका मेरा एक जर्मनी साथिले पोखराको आकाश उडेपछि यहाँको सुन्दरताको निकै तारिफ गरेका थिए ।' रासस