एनटीसीको ३० प्रतिशत लाभांश घोषणा, सेयरधनीलाई ५ अर्ब ४० करोड रुपैयाँ
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम कम्पनी- एनटीसी) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनी सचिव द्वारिका प्रसाद पौडेलले जानकारी दिए । हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले ३० प्रतिशतका दरले ५ अर्ब ४० करोड रुपैयाँ नगद सेयरधनीलाई वितरण गर्ने भएको हो । उनका अनुसार उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् सेयरधनीलाई वितरण गरिनेछ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले लाभांशसँगै गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यस्तै, महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐनको प्रावधान अनुरूप कम्पनीको चालु आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
मानसिक स्वास्थ्यलाई सहयोग गर्ने यी पाँच जीवनशैली
काठमाडौं । मानसिक स्वास्थ्य सुधार गर्ने उपाय भनेको स्वस्थ जीवनशैलीका छनोटहरू अपनाउनु हो । दैनिक जीवनमा स्वस्थ बानीहरू विकास गर्दा सकारात्मक सम्बन्ध निर्माण गर्न र चुनौतीहरू सामना गर्न सहयोग पुग्छ । व्यायामले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ । नियमित व्यायाम वा शारीरिक गतिविधिले डिप्रेसन र एन्जायटीका भावना कम गर्न मद्दत गर्छ । यसले निद्राको गुणस्तर सुधार्नुका साथै समग्र भावनात्मक स्वास्थ्य पनि राम्रो बनाउँछ । मानसिक स्वास्थ्यमा सहयोग पु¥याउने शारीरिक गतिविधिहरू केके हुन्, आउनुहोस् यसबारेमा छलफल गरौं । नियमित व्यायाम दौडिनु, पौडी खेल्नु, साइकल चलाउनु, हिँडडुल गर्नु, बगैंचामा काम गर्नु शरीरका लागि फाइदाजनक काम हुन् । यदि समय मिल्यो भने नृत्य गर्दा अझ राम्रो हुन्छ । विशेषज्ञहरूले यसको लाभ महसुस गर्न हप्तामा १५० मिनेट एरोबिक व्यायाम गर्न सिफारिस गर्छन् स्वस्थ आहार स्वस्थ रहने आहार सन्तुलित आहार हो । कहिलेकाहीँ मिठाइँ वा फुर्सदको परिकार खानेले धेरै हानि गर्दैन । तर चिनी र बोसो बढी भएका खानाहरू धेरै मात्रामा खाने हो भने स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । मेन्टल हेल्थ फाउण्डेशनले विविधतापूर्ण आहार खान सिफारिस गरेको छ । जसमा अन्नका रोटी र दाना, बीज र स–साना दाना (नट्स, सीड) जस्ता खानेकुराहरू खानुपर्छ । गुणस्तरीय निद्रा गुणस्तरीय निद्राले भावनात्मक नियन्त्रण, संज्ञानात्मक क्षमता र मानसिक स्वास्थ्यलाई फाइदा गर्दछ । राम्रो निद्रा लाग्ने बानी विकास गर्दा तपाईंको मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ । यदि तपाईं हरेक रात ७–८ घण्टा निद्रा पाउन सक्नुहुन्छ भने तपाईंको मन र शरीर दुवैलाई फाइदा हुन्छ । सामाजिक सम्बन्ध मानसिक रूपमा स्वस्थ हुनको लागि सामाजिक सम्बन्ध दृढ हुनुपर्छ । यसबाट धेरै लाभहरू हुन्छन् । परिवार र साथीहरूसँगको सामाजिक सम्बन्धले चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ । यसले आत्मसम्मान बढाउने र सहानुभूति विकास गर्ने काम गर्छ, सम्बन्धहरूमा विश्वास र सहकार्य बढ्छ । दृढ र सकारात्मक सम्बन्धहरूले तपाईंलाई खुसी र सन्तुष्ट महसुस गराउन सक्छ । माइन्डफुलनेस अभ्यास माइन्डफुलनेस वा ध्यानले चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ । साथै स्वस्थ बानीहरू विकास गर्न पनि प्रेरित गर्छ । दिनको १० मिनेट मात्र अभ्यास गर्नाले पनि धेरै फाइदा हुन्छ । माइन्डफुलनेसले भावनाहरू व्यवस्थापन गर्न र सकारात्मक दृष्टिकोण निर्माण गर्न पनि सहयोग पुर्याउँछ ।
धनगढीमा २ अर्ब २० करोड लगानीमा पाँचतारे ‘होलिडे इन आईएचजी’ निर्माण हुँदै
काठमाडौं । धनगढीमा पाँचतारे होटल ‘होलिडे इन आईएचजी’ निर्माण हुने भएको छ । मंगलबार उक्त होटलको व्यवस्थापनसम्बन्धी होटल इन आईएजी र क्लब चौलानीबीच सम्झौता भएको छ । सम्भौता पत्रमा क्लब चौलानीको तर्फबाट डा. राजेन्द्र केसी र आइएचजीको तर्फबाट दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् । अध्यक्ष केसीका अनुसार धनगढीमा निर्माण हुन लागेको उक्त होटल सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल हुने छ । उनका अनुसार होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन् । त्यस्तै, १८ हजार ५ सय वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन् । परियोजनाको कुल लगानी २ अर्ब २० करोड रहेको छ । जसमा ६५ प्रतिशत अर्थात १ अर्ब ४३ करोड रुपैयाँ बैंक ऋण र ३५ प्रतिशत अर्थात ७७ करोड प्रवद्धकहरूको स्व–पूँजीमार्फत व्यवस्थापन गरिने होटलले जनाएको छ । होटल २०८४ को सुरुबाट सञ्चालनमा आउने तयारी छ । आवास, व्यवसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआतका रूपमा लिइएको । यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने क्लब चौलानीका सीए दीपक पाण्डेले बताए । पाण्डेका अनुसार होटल सञ्चालनपछि २ सय जना स्टाफ, ५ सय क्यासिनो कर्मचारी गरी ७ सयले रोजगारी पाउनेछन् । धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताले सम्पन्न क्षेत्र हो । भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको यो सीमावर्ती सहरले ठूलो संख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको छ । धनगढी सुदूरपश्चिमका ७ जिल्लाको प्रमुख जङ्सनको रूपमा विकसित हुँदै गएको छ । महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ ।