पूर्वस्वास्थ्य र शिक्षामन्त्रीहरू चुनावी मैदानमा, क-कसले दिए उम्मेदवारी ?

काठमाडौं । आज प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन । उम्मेदवारहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराइरहेका छन् । फागुन २१ गते हुने निर्वाचनमा पूर्व स्वास्थ्यमन्त्रीहरू पनि दौडधुपमा लागेका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका विभिन्न दलका नेताहरू यसपटक पनि चुनावी मैदानमा अग्रपङ्क्तिमा छन् । गगनकुमार थापा  पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यसपटक तराई झरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव जित्दै आएका उनले यसपटक निर्वाचन क्षेत्र बदलेका हुन् । पुख्र्यौली घर तराई मधेश भएका थापाले यसपटक सर्लाही ४ रोजेका छन् । थापा आज सर्लाही पुगेर मनोनयन दर्ता गर्दैछन् । विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई आगामी प्रधानमन्त्रीका रूपमा चर्चा गरिँदै आएको छ ।  उपेन्द्र यादव जसपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सप्तरी ३ बाट चुनाव लड्ने भएका छन् । यादवले आफ्नो पकड क्षेत्र मानिएका उम्मेदवारी दिने भएका हुन्। प्रदीप यादव  पूर्वस्वास्थ्यमन्त्री प्रदीप यादव यो पटक पर्सा १ बाट चुनाव लड्ने भएका छन् । जसपाबाट स्वास्थ्यमन्त्री बनेका यादव अहिले भने जसपा छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । फागुन २१ गतेको निर्वाचनमा उनी एमालेबाट चुनावी मैदानमा उत्रिँदै छन् । प्रदीप पौडेल  नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल काठमाडौं क्षेत्र नं ५ बाट लड्ने भएका छन् । यसअघि यही क्षेत्रबाट जितेका यादवले यो निवार्चनमा पनि यहीँ क्षेत्र रोजेका हुन् । पदम गिरी एमालेका नेता एवं पूर्वस्वास्थ्यमन्त्री पदम गिरी पर्वत १ बाट लड्ने भएका छन् । एमालेले टिकट दिएपछि उनले फागुन २१ गतेका लागि पुरानै क्षेत्र रोजेका छन् ।  शेरबहादुर तामाङ  एमालेबाटै चुनाव जितेर स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट लड्ने भएका छन् ।  भानुभक्त ढकाल पूर्वस्वास्थ्यमन्त्री एवं एमाले नेता भानुभक्त ढकाल तेह्रथुमबाट लड्ने भएका छन् ।  कोरानाकालमा स्वास्थ्यमन्त्री बनेका ढकाल अघिल्लो चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्दा पराजित भएका थिए ।  मोरङ नफापेपछि ढकाल यो पटक आफ्नो गृहजिल्ला तेह्रथुमबाट चुनाव लड्ने भएका हुन् । पूर्वस्वास्थ्यमन्त्रीहरू धमाधम प्रतिस्पर्धामा गइरहेको बेला पूर्वशिक्षामन्त्रीको नाम भने खासै देखिँदैन । केही मन्त्रीको नाम चर्चामा आएपनि सुमना श्रेष्ठ, विद्या भट्टराई र रघुजी पन्त यो पटक चुनाव नलड्ने भएका हुन् ।  पूर्व शिक्षामन्त्रीहरूमा आजमात्रै राजीनामा दिएका शिक्षामन्त्री महावीर पुनको नाममा मात्र चुनावी प्रतिस्पर्धामा देखिएको हो ।  महावीर पुन मन्त्री पुन आजै राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने भएका हुन् । पुनले आजै आफ्नो नाम मनोनयन गराइसकेका छन् । देवेन्द्र पौडेल  पूर्वशिक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका नेता देवेन्द्र पौडेल पश्चिम नवलपरासीबाट निर्वाचन लड्ने भएका छन् । यसअघि बाग्लुङ २ बाट निर्वाचित भएका पौडेलले फागुन २१ गतेको निर्वाचनका लागि ठाउँ परिवर्तन गरेका हुन्।   शिशिर खनाल पूर्व शिक्षामन्त्री एवं रास्वपाका नेता शिशिर काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्ने भएका छन् । योभन्दा अगाडिको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका उनी फागुन २१ गतेको निर्वाचनका लागि पनि यही क्षेत्रबाट लड्ने भएका हुन् । यस अगाडिका शिक्षामन्त्री अशोक राई, सुमना श्रेष्ठ, विद्या भट्टराई, रघुजी पन्तले यो पटक चुनाव नलड्ने भएका हुन् ।   

नेपाल बैंकको ‘लिङ्क, लोड तथा विदड्र’ अभियान, १५ हजार जित्ने अवसर

काठमाडौं । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लिङ्क, लोड तथा विदड्र – पुरस्कार जित्ने अवसर’ नामक अभियान सञ्चालनमा ल्याएको छ । नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा सञ्चालनमा आएको उक्त अभियान बैंकको ब्राण्ड प्रवर्द्धन तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई लक्षित गरिएको बैंकले जनाएको छ । माघ महिनाभर सञ्चालन हुने यस अभियानमा नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरू सहभागी हुन सक्नेछन् । अभियान अवधिभर नेपाल बैंकको खाता खल्ती वालेटसँग लिङ्क गरी कारोबार गर्ने ग्राहक तथा कर्मचारीहरूमध्ये हरेक हप्ता एक जना भाग्यशालीलाई चलचित्र टिकट वा खल्ती प्रो सदस्यता पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, अभियान अवधिभर भएको कुल कारोबारको आधारमा एक जना सहभागीलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको घोषणा अभियान समाप्त भएपछि गरिनेछ । अभियानमा सहभागी हुन इच्छुक व्यक्तिले खल्ती वालेटमा दर्ता भई आफ्नो परिचय विवरण अद्यावधिक गरेको हुनुपर्नेछ। साथै, नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरी उक्त खातामार्फत कारोबार गरेको हुनुपर्ने सर्त तोकिएको छ। यस सम्बन्धमा थप जानकारी लिन नजिकैको नेपाल बैंकको शाखा कार्यालय वा बैंकको कल केन्द्रको फोन नम्बर ०१–५९७१२२२ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । उक्त अभियानले ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ स्वचालित टेलर मेशिन (एटिएम) तथा ६१ विस्तार काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।   

चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढायो

चितवन । प्रतिनिधि सभा निर्वाचन २०८२ को मिति नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारी हुनसक्ने जनाउँदै उच्च सतर्कता बढाएको छ । निर्वाचनका समयमा नयाँ मानिसहरूको आवतजावत बढ्ने र चोरी सिकारी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले स्थानीय, सरोकारवाला निकायहरूसँगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाइएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज प्रशासनले आन्तरिक तथा बाह्य सुरक्षाको व्यवस्था गरेको छ । निर्वाचन लागेपछि चोरी सिकारीको खतरा बढ्ने भएकाले निकुञ्जले त्यहीअनुसार व्यवस्थापन गरेको उनले बताए। निकुञ्ज क्षेत्रको कोर इलाकाभित्र र मध्यवर्ती एवं आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाइएको छ । उनका अनुसार चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी तथा कर्मचारी र स्थानीयलाई निर्वाचनको समयमा सजग हुन आग्रह गरिएको छ । उनले भने, 'प्रतिनिधिसभा निर्वाचनको समयमा निकुञ्ज सुरक्षाका लागि हामी तयार छौँ ।' निकुञ्जभित्र र आसपासका क्षेत्रमा गस्ती बढाउने, एम्बुसिङ, स्विमिङलगायत कामलाई निरन्तर कायम राखिने छ । ९५२/६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा २२ वटा मध्यवर्ती उपभोक्ता समिति छन् । निकुञ्जभित्र स्थायी ५७ वटा र अस्थायी तीनवटा पोष्ट छन् । उनले भने, 'सबै पोष्टलाई उच्च सतर्कमा रहन भनिएको छ । कर्मचारी पनि सोहीअनुसार परिचालन गरिएको छ ।' पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजनकुमार महतो निर्वाचन नजिकिएसँगै उपभोक्ता समितिले पनि उच्च सतर्कता अपनाएको बताउछन् । निर्वाचनको समयमा नकारात्मक सोच राखेका व्यक्ति सलवलाउन सक्ने भएकाले सबै उपभोक्तासहितले आ–आफ्नो ठाउँबाट चनाखो भएर काम गरेको उनले बताए। उनले भने, 'चोरी सिकारी हुनसक्छ कि भनेर निगरानी बढाइएको छ । चनाखो रहन सबै उपभोक्तालाई आग्रह गरिएको छ ।' उपभोक्ता समितिहरू वन्यजन्तु संरक्षणका लागि सधैँ एक भएर काम गर्दै आएको उनको भनाइ छ । अहिले निकुञ्ज क्षेत्रमा रहेका मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन पनि भइराखेकाले केही बढी सक्रियता बढेको छ भने संरक्षण शिक्षाका बारेमा पनि ज्ञान दिइँदै आएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त निर्वाचनको समयमा सबैको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदा चोरी सिकार हुनसक्ने भएकाले पूर्वतयारीस्वरुप कडाइका साथ काम गरिएको बताउछन् । उनले भने, 'हामी सधैँ चनाखो अवस्थामा रहन्छौँ, यतिबेला थप चनाखो बनेका छौँ ।'