होटेल फरेष्ट इनको आईपीओ बिक्री खुला, २ लाख कित्ता आवेदन दिन सकिने
काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले आज माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
लस एन्जलस । अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस इन्फ्लुएन्जा (फ्लु) बाट संक्रमित भएका छन् । यस अवधिमा करिब दुई लाख ३० हजार बिरामी अस्पताल भर्ना भएका छन् भने ९ हजार ३ सय जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो अनुमानमा उल्लेख गरिएको छ । सीडीसीका अनुसार अमेरिकाभर मौसमी फ्लुको गतिविधि अझै उच्च अवस्थामा नै रहेको छ, तर पछिल्ला दुई सातादेखि संक्रमण दर घट्दो वा स्थिर रहेको देखिएको छ। यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) भाइरस सबैभन्दा बढी फैलिएको प्रकारको रूपमा पुष्टि भएको छ। जनवरी १० मा समाप्त भएको सातासम्म फ्लुसँग सम्बन्धित १५ बालबालिकाको मृत्यु भएको सीडीसीले जनाएको छ। यससँगै यस सिजनमा फ्लुका कारण ज्यान गुमाउने बालबालिकाको संख्या ३२ पुगेको छ। सीडीसीका अनुसार तीमध्ये करिब ९० प्रतिशत बालबालिका फ्लु विरुद्ध पूर्ण रूपमा खोप नलगाएका थिए। सीडीसीले अमेरिकामा फ्लु प्रायः शरद र जाडो याममा देखिने र यसको चरम अवस्था प्रायः डिसेम्बरदेखि फेब्रुअरी महिनासम्म रहने जानकारी दिएको छ। हालको अवस्थालाई ध्यानमा राख्दै सीडीसीले ६ महिनाभन्दा माथिका सबै व्यक्तिहरूलाई, यदि यस सिजनको फ्लु खोप नलगाएका भए, सकेसम्म छिटो खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरूले समयमै खोप लगाउने, सरसफाइमा ध्यान दिने र लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु नै फ्लुबाट जोगिने प्रभावकारी उपाय भएको बताएका छन् । रासस
कामना सेवा विकास बैंकद्वारा झापाको आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको एक आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय इट्टाभट्टामार्फत मेचीनगर नगरपालिका–०८, झापा स्थित सृजनाचोकको आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर प्रदान गरिएको हो । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले मेचीनगर नगरपालिका–०८, सृजनाचोक, झापाका वडा अध्यक्ष गिरीराज धमलाको उपस्थितिमा स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् । बैंकको यस सहयोगबाट स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सबै वर्गका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गर्दै प्रमुख पौडेलले विशेषगरी गरिब तथा असहाय सेवाग्राहीका लागि यो सुविधा थप सहज हुने बताए । साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस परोपकारी कार्यप्रति उनले बैंकप्रति धन्यवाद ज्ञापन गरे । बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।