त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले बिहीबारदेखि काम थालेको छ । शुल्कबारे विद्यार्थी सङ्गठनको विरोधका कारण उपकुलपति कार्यालयमा अवरोध हुनुका साथै विश्वविद्यालयको दैनिक गतिविधि प्रभावित हुन थालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले गत साता व्यवस्थापन सङ्कायका सहायक डीन प्राध्यापक डा दिलीप पराजुलीको संयोजकत्वमा शुल्क पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरेको थियो । कार्यदलमा अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख ध्रुव कार्की र शिक्षाशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा सूर्यबहादुर थापासमेत रहेका छन् । कार्यदललाई तीन महिनाभित्र सबै अध्ययन संस्थान, आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा लिइने सबै प्रकारका शुल्कको अध्ययान गरी समयानुकूल बनाउन र एकरूपता हुनेगरी कार्यविधि सिफारिस गर्न कार्यादेश दिइएको डा पराजुलीले जानकारी दिए । विश्वविद्यालयमा नेपाली कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कार्यालय सञ्चालन अवरुद्ध हुने गरी उपकुलपति कार्यालयको मूल ढोकामा विज्ञप्ति टाँसेपछि काम प्रभावित हुँदै आएको छ । अखिल (क्रान्तिकारीले) शुल्क वृद्धि फिर्ता लिनुपर्नेसहितका माग राख्दै विज्ञप्ति टाँसेको हो । यसैबीच, गतिरोध खुलाउन त्रिविले विद्यार्थी कल्याण महाशाखा प्रमुख दीपेन्द्र पराजुलीको संयोजनमा छलफल तथा परामर्श गरिरहेको छ ।
निपाह भाइरसको जोखिम बढेपछि सीमा नाकाहरूमा सरकारले थाल्यो निगरानी
काठमाडौं । छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिए । निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ । उनले भने, 'केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरेपछि हामीले सम्पूर्ण हवाई तथा थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरूको निगरानी सुरु गरेका छौँ । त्यसैगरी थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरूले संक्रमणका लक्षण भएका बिरामीलाई निगरानीमा राख्ने काम गरिरहेका छन् । निपाह भाइरस सर्ने प्रमुख माध्यम चमेरो, सुँगुर वा संक्रमित व्यक्ति भएकाले यी तीन पक्षलाई मध्यनजर गर्दै आम नागरिकलाई सचेत बनाइरहेका छौँ ।' निपाह संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले अपिल गरेको छ । निपाह भाइरस : अहिलेको अवस्था र सतर्कता निपाह भाइरस एक घातक जोनोटिक भाइरस हो, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्छ । यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट मानिसमा सर्छ । भारतको पश्चिम बंगाल राज्यमा जनवरी २०२६ को सुरुवातमा निपाह भाइरसका केस पुष्टि भएपछि यो भाइरस पुनः चर्चामा आएको छ । भारतमा वर्तमान प्रकोप जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुई जना नर्समा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । दुवै नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन् । एक जना कोमामा र अर्की भेन्टिलेटरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केही रिपोर्टमा पाँच जनासम्म संक्रमित भएको उल्लेख छ । करिब १२० जना उच्च जोखिममा रहेका सम्पर्कहरूलाई क्वारेन्टाइन तथा निगरानीमा राखिएको छ । नेपालमा जोखिम र सतर्कता नेपालमा हालसम्म निपाह भाइरसको कुनै केस पुष्टि भएको छैन । तर भारतको पश्चिम बंगालसँगको खुला सीमा र चमेरोको उपस्थितिका कारण जोखिम भने कायम रहेको विज्ञहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी तथा अचानक मृत्युका घटनाबारे जानकारी दिन निर्देशन दिएको छ । निपाह भाइरसका लक्षण र रोकथाम लक्षणहरू : सुरुमा ज्वरो, टाउको दुख्ने, खोकी, श्वासप्रश्वासमा समस्या देखिन्छ । पछि मस्तिष्क सुन्निने (इन्सेफलाइटिस), कोमा र मृत्यु पनि हुनसक्छ । सर्ने तरिका : चमेरोले टोकेका वा दूषित फलफूल, काँचो खजुरको रस सेवन गर्दा तथा संक्रमित व्यक्तिको ¥याल, खकार वा प्रत्यक्ष सम्पर्कबाट सर्न सक्छ । रोकथामका उपाय – काँचो खजुरको रस नपिउनु – चमेरोले टोकेका फलफूल नखानु – संक्रमितसँग सम्पर्क भए तुरुन्त स्वास्थ्य जाँच गराउनु – हात धुने, मास्क लगाउनेजस्ता सामान्य सावधानी अपनाउनु हाल निपाह भाइरसको कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन । तर समयमै सहयोगी उपचारले ज्यान बचाउन सकिने चिकित्सकहरू बताउँछन् । नेपालमा जोखिम कम भए पनि सतर्क रहन आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
होटेल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन रहेको छ । माघ ४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।