महासंघको नयाँ कार्यसमितिमा स्वास्थ्य क्षेत्रका चार सदस्य निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा स्वास्थ्य क्षेत्रबाट चारजना प्रतिनिधि निर्वाचित भएका छन् । एसोसिएटतर्फ ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी,फर्च्यूना हेल्थ केयरका बाबुकाजी कार्की निर्वाचित भएका छन् भने वस्तुगततर्फ रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)का अध्यक्ष भक्तबहादुर हमाल र नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार भण्डारीले १ हजार ४३ मत प्राप्त गर्दै जित हात पारेका हुन् भने कार्कीले १ हजार ६ मत प्राप्त गर्दै जितेका हुन् । अधिकारी र उनका प्रतिस्पर्धीबीच समान मत आएपछि दुवैले आधा–आधा कार्यकाल सम्हाल्ने सहमति गरेका छन् ।
पर्यटन बोर्डको निमित्त सीईओको जिम्मेवारी हिक्मत सिंह ऐरलाई
काठमाडौं। नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार गरेको निर्णय अनुसार ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको हो । सरकारले अध्यादेश ल्याएपछि बोर्डका सीईओ दीपकराज जोशीलाई पदमुक्त भएका थिए । अध्यादेशपछि बोर्डको नेतृत्व रिक्त बनेको थियो । सोही रिक्तता पूर्ति गर्न तत्कालका लागि वरिष्ठताको आधारमा ऐरलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो । मन्त्रालयले परिपत्र जारी गर्दै ऐरले बोर्डको दैनिक प्रशासन, नीति कार्यान्वयन, कार्यक्रम समन्वय तथा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिहरू सञ्चालन गर्नेछन् । बोर्डका नियमित कार्यहरू अवरुद्ध नहुने गरी व्यवस्थापनलाई निरन्तरता दिन उनलाई यो जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ। बोर्डभित्र लामो समयदेखि कार्यरत ऐर पर्यटन क्षेत्रको प्रशासनिक तथा व्यवस्थापकीय अनुभव भएका वरिष्ठ निर्देशक हुन् । उनले यसअघि विभिन्न परियोजना तथा बोर्डका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । पर्यटन क्षेत्रका सरोकारवालाहरूले बोर्ड नेतृत्वमा आएको परिवर्तनले नीतिगत निरन्तरता र कार्यक्रम कार्यान्वयनमा नियमितरुपमा सञ्चालन हुने प्रतिक्रिया दिएका छन् । हाल ऐरको नेतृत्वमा बोर्डले पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थितिलाई मजबुत बनाउने तथा आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउने कार्यलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।
नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना गरिएको थियो । जलन शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल किसिमका छ जना बिरामीलाई काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको छ । जलन उपचार शिविर सञ्चालन गर्नुअघि मधेश प्रदेशका विभिन्न छ जिल्लाका २७ पालिकामा स्क्रिनिङ्ग क्याम्प आयोजना गरिएको थियो । उक्त क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहमै पुगेर बिरामीहरुको प्रारम्भिक विवरण लिएका थिए । नबिल बैंकले काठमाडौँमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ । ‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो’, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)मनोजकुमार ज्ञवालीले भने । बैंकका अनुसार यही वैशाख २५ गतेदेखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यसप्रकारका शिविर आयोजना हुँदैछ । फेक्ट नेपाल, कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा शंकरमान राईसहितका विशेषज्ञ चिकित्सकको टोलीले मधेश प्रदेशका जलनका बिरामीहरु लक्षित शिविरमा शल्यक्रिया गरेका हुन् । ‘हामी जलनका बिरामीको निःशुल्क उपचार र नारायणी अस्पतालको क्षमता अभिवृद्धि गर्ने दुई वटा उद्देश्य लिएर यहाँ आएका थियौँ, चार दिनको शिविरमा अपेक्षाभन्दा बढी सेवा दिन सकेको अनुभव भएको छ’, डा राईले भने, ‘भविष्यमा जलनसम्बन्धी यसप्रकारको उपचार नारायणी अस्पतालबाटै होस् भन्ने हाम्रो चाहना हो ।’ नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चितरन्जन शाहले जलनका कारण अङ्गभङ्ग भइ वर्षौदेखि असहज रुपमा जीवन बाँचिरहेका बिरामीहरुले उपचारपछि सहज रुपमा काम गर्न पाएकामा खुसी लागेको बताए । ‘उचित उपचारको अभावमा लामो समयसम्म असहज जीवन बिताइरहेका बिरामीका लागि शिविर निकै फलदायी भयो, शिविरमार्फत उहाँहरुको व्यक्तिगत र सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउनेमा म विश्वस्त छु ।’ नबिल बैंकले यअघि सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा निःशुल्क जलन शिविर सञ्चालन गरिसकेको छ । गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त पहिलो शिविरमार्फत ६५ जना र गत चैत २७ देखि कर्णालीमा प्रदेशमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका थिए ।