सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

भक्तपुर । सुकुम्बासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा स्वास्थ्य उपचारदेखि पठनपाठन सञ्चालनमा ल्याइएको छ ।       सोमबारदेखि यहाँ स्वास्थ्य शिविर सञ्चालन गरी उपचार र औषधि वितरण सुरु गरिएको हो । शिविरमा भक्तपुर अस्पतालको चिकित्सक, नर्स, प्राविधिक टोली, तिलगङ्गा आँखा अस्पतालको आँखारोग बिशेषज्ञसहितको टोलीद्वारा शिविर सञ्चालन गरी १५८ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत एवं कार्यालयकी प्रमुख अञ्जना खड्काले जानकारी दिइन् ।       उनले भनिन्, 'यहाँ रहेका सबै सुकुम्बासी बस्तीदेखि सारिएका २६ जना बालबालिकासहित १५८ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिरहेका छौँ ।' शिविरमा घाँटीमा प्वाल पारेर उपचार गराइरहेका आठ वर्षीय बालक, घाउमा नियमित ड्रेसिङ गर्नुपर्ने बिरामी, प्यारालाइसिस भएका ज्येष्ठ नागरिक, दृष्टिविहीन परिवार, कृष्ठरोगी, हिँड्न र बोल्न नसक्ने तथा सुस्तमनस्थिति भएका परिवार, सुत्केरी, गर्भवतीलगायत छन् ।       उनले स्वास्थ्य शिक्षा र मनोपरामर्श सेवा सञ्चालन गरिरहेको बताइन् । क्षयरोगका बिरामी पनि हुनसक्ने आशङ्काले जन्त्र नामक संस्था र भक्तपुरको राष्ट्रिय क्षयरोग केन्द्रलाई तत्काल एआई प्रविधिको एक्सरे मेसिनबाट क्षयरोगको परीक्षण गर्न अनुरोध गरेको जानकारी दिइन् ।               बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले सङ्घीय स्वास्थ्य मन्त्रालयसँग यसबारेमा छलफल भइरहेको जानकारी दिँदै प्रदेश सरकारले शिविरमा रहेसम्म यहाँका बिरामीको सेवामा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्योपचारको जिम्मेवारी लिने बताए ।       यहाँ रहेका २६ जना बालबालिकालाई ‘मोनिटर’मार्फत शिक्षासम्बन्धी चेतनामूलक जानकारीसहितको कक्षा सञ्चालन गरिएको र आजदेखि अस्थायी रूपमा नियमित पठनपाठनसमेत सुरु गरिएको छ । रासस 

नेपालमा करिब ८ प्रतिशत मानिस दमबाट प्रभावित

काठमाडौं । आज विश्व दम दिवस ‘दम भएका सबैलाई एन्टी–इन्फलामेटरी इनहलेरमा पहुँच अहिलेको प्रमुख आवश्यकता’ नाराका साथ विविध कार्यक्रम गरी मनाइँदैछ ।       दिवसकै अवसरमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा निर्देशक डा अनुज भट्टचनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा करिब छदेखि आठ प्रतिशत मानिस दमबाट प्रभावित हुने गरेको पाइएको छ ।      उनका अनुसार नेपालमा तीव्र सहरीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमी र जलवायु परिवर्तनका कारण दमको जोखिम निरन्तर बढ्दो छ । दमले बालबालिका, किशोरकिशोरी, वयस्क तथा वृद्धसहित सबै उमेर समूहका मानिसलाई प्रभावित गरेको उनको भनाइ  छ ।      विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर करिब २६ देखि ३० करोड मानिस दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ । दमले शारीरिक गतिविधिमा सीमितता आउने, निद्रामा समस्या हुने र निरन्तर थकान महसुस हुनेजस्ता समस्या देखा पर्छन् ।      दम अझै पनि कम पहिचान हुने भएकाले धेरै बिरामीले पर्याप्त उपचार नपाउने गरेको उनको भनाइ छ । स्वास्थ्य संस्थामा दम उपचारका आधारभूत सामग्री, विशेषगरी इनहेल्ड कोर्टिकोस्टेरोइडयुक्त (एन्टी–इन्फलामेटरी) इनहेलरको उपलब्धता कम हुनु वा मूल्य अत्यधिक महँगो हुनुका कारण विश्वभर हुने दमसम्बन्धी करिब ९६ प्रतिशत मृत्यु हाम्रोजस्तो मध्यम आय भएका देशमा हुने गरेको पाइएको छ ।       'इनहेलरको सट्टा मुखमार्फत वा सुइमार्फत दिने औषधिमा बढी निर्भर हुने प्रवृत्ति अझै देखिन्छ, जुन सधैँ प्रभावकारी हुँदैन । त्यसैले उपचारमा ढिलाइ तथा आवश्यक औषधिको अभावका कारण जटिलता बढ्ने जोखिम रहन्छ', उनले भने ।   

बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन

काठमाडौं । कान्ति बाल अस्पताल प्रशासनले आफ्ना कमजोरी लुकाउन तल्लो तहका कर्मचारीमाथि दबाब बढाएको छ । अस्पतालको एकीकृत सेवा प्रणालीमा देखिएको अनियमितताबारे विकासन्युजले समाचार सार्वजनिक गरेपछि व्यवस्थापनले कर्मचारीसँग स्पष्टीकरण सोध्ने र कारबाहीको चेतावनी दिने गतिविधि सुरु गरेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरूका अनुसार प्रयोगशाला विभाग प्रमुख डा. मोनी सुवेदीले सोमबार इमर्जेन्सी विभागका कर्मचारीहरूलाई बोलाएर मिडियामा सूचना दिने व्यक्तिलाई कडा कारबाही गर्ने चेतावनी दिएकी छन् ।  सोमबार दिउँसो खाजा समयअघि सबै कर्मचारीलाई भेला गराएर उनले मिडियामा सूचना चुहाउनेलाई पानीमुनि गए पनि नछोड्ने चेतावनी दिएकी हुन् । ती कर्मचारीका अनुसार केही कर्मचारीलाई लक्षित गर्दै स्पष्टीकरणसमेत सोधिएको छ । उनले प्रयोगशालासम्बन्धी रिपोर्ट बाहिरिएको विषयलाई लिएर दोषी पत्ता लगाइ छोड्ने भन्दै कडा निर्देशन दिएको अस्पताल स्रोतले बताएको छ । कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण