जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकको उपाध्यक्षमा नियुक्त

काठमाडौं । विश्व बैंकले जोहानेस जुटलाई दक्षिण एसिया क्षेत्रका नयाँ उपाध्यक्षका रूपमा नियुक्त गरेको छ । हालका उपाध्यक्ष मार्टिन रेजरको स्थानमा नियुक्त भएका जुटले २०२५ जुलाई १ देखि औपचारिक जिम्मेवारी सम्हाल्नेछन् । दक्षिण एसिया क्षेत्रका उपाध्यक्षका रूपमा जुटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँगको विश्व बैंकको सम्बन्ध व्यवस्थापन गर्नुका साथै ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहयोग र वित्तीय स्रोतहरूको सुपरिवेक्षण गर्नेछन् । उनको नेतृत्वमा दक्षिण एसिया क्षेत्रमा रोजगारी सिर्जना, जलवायु र विपद् सहनशीलता, मानव पूँजी विकास र निजी लगानी परिचालनजस्ता क्षेत्रमा सहयोगलाई निरन्तरता दिइने विश्व बैंकले जनाएको छ । डच नागरिक जुट १९९९ देखि विश्व बैंकसँग आवद्ध छन् र यसबीच उनले ब्राजिलका लागि देश निर्देशक, रणनीति र परिणाम सम्बन्धी निर्देशक, तथा बंगलादेश, भुटान, नेपाल, टर्किये, कोमोरस, एरित्रिया, केन्या, रवाण्डा, सेशेल्स र सोमालियाका लागि देश निर्देशकको जिम्मेवारी समेत निर्वाह गरेका छन् ।  'दक्षिण एसियामा १० वर्षअघि काम गरेको समय यता निकै विकास भएको देखेर म खुशी छु,' जुटले भने, 'फेरि यस क्षेत्रका जनताको आत्मीयता र सांस्कृतिक विविधतालाई नजिकबाट अनुभव गर्न पाउँदा उत्साहित छु ।' जुटले टोरन्टो विश्वविद्यालयबाट दर्शनमा बीए र एमए, हार्वर्ड विश्वविद्यालयबाट कानूनको डिग्री र अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनमा विद्यावारिधि गरेका छन् । जुट भारतको नयाँ दिल्लीमा आधारित भएर दक्षिण एसिया क्षेत्रको लागि नयाँ क्षेत्रीय केन्द्रको रूपमा काम गर्ने विश्व बैंकले जनाएको छ । उनको कार्यक्षेत्र भारतको नयाँ दिल्लीमा रहनेछ, जुन दक्षिण एशियाका लागि विश्व बैंकको नयाँ क्षेत्रीय केन्द्रका रूपमा स्थापना गरिएको छ। 

नेपाल प्रहरीले माग्यो १८ सय ४२ जना प्रहरी जवान

काठमाडौं । नेपाल प्रहरीले प्रहरी १ हजार ८४२ जना प्रहरी जवान मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर १ हजार ८४२ जना प्रहरी माग गरिएको हो ।  गत मंसिरमा नेपाल प्रहरीमा (जनपद) प्रहरी समूहतर्फ प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम १ हजार १६५ जनाका लागि दरखास्त आह्वान गरेको थियो । तर, यस अवधिमा रिक्त हुन आई ६७७ जना थप माग गरिएको प्रहरी कार्यालयले जनाएको छ । 

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई संस्थाको प्रवक्ताको रूपमा नियुक्त गरेको छ । राष्ट्र बैंकको हालैको निर्णयअनुसार पण्डित अब बैंकको आधिकारिक सूचना सम्प्रेषण तथा सार्वजनिक संचार व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् । पण्डितले आर्थिक, मौद्रिक र वित्तीय नीति तथा राष्ट्र बैंकका गतिविधिबारे सञ्चार माध्यमलाई समयमै सूचना उपलब्ध गराउने दायित्व निर्वाह गर्नेछन् । राष्ट्र बैंकका अनुसार प्रवक्ताको रूपमा उनको कार्यकाल बुधबारदेखि औपचारिक रूपमा सुरु भएको हो । पण्डितको कार्यकालमा बैंकको सूचना प्रवाह थप पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।