लमजुङको मध्यनेपाल नगरपालिकाले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिकाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । पालिकाले एक सूचना जारी गर्दै मेडिकल अधिकृत, कार्यालय सुरक्षा गार्ड र कार्यालय सहयोगीको लागि कर्मचारी माग गरेको हो । पालिकाकाअनुसार मंसिर २३ गतेभित्र उक्त पदका लागि दरखास्त दिन सकिनेछ । पालिकाले १ जना मेडिकल अधिकृतका लागि २१ वर्षदेखि ४५ वर्ष ननाघेको हुनुपर्ने र मान्यता प्राप्त शिक्षक संस्थाबाट एमबिबिएसको उपधारी प्राप्त गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने जनाएको छ । यस्तै, ४ कार्यालय सुरक्षा गार्ड र ३ जना कार्यालय सहयोडीका लागि १८ वर्षपूरा भई ३५ वर्ष ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आधारभूत तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक व्यक्तिले दरखास्त आवेदनका साथमा मेडिलक अधिकृतका लागि १ हजार २ सय रुपैयाँ तथा कार्यालय सहयोगी तथा गार्डका लागि ५ सय रुपैयाँ दस्तुत लाग्ने जनाएको छ । दरखास्तसाथमा व्यक्तिगत विवरण, हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो, कार्यानुभवको प्रमाणपत्र, दरखास्त शुल्क बुझाएको रसिद पेश गरी सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंमले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्ने जनाईएको छ । आवदेन पालिकाको प्रशासन शाखामा बुझाउनेपर्ने सूचनामा उल्लेख छ ।  

पोखरा चाइनिज इटाबाट सय युवालाई रोजगारी

काठमाडौं । पोखराको पोल्याङमा रहेको पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान गर्न सफल भएको छ । अत्याधुनिक, वातावरणमैत्री प्रविधिमा चाइनिज इटाको उत्पादन गर्दै आएको यस होफम्यान क्लिन इटा उद्योगले झन्डै एक सय युवालाई रोजगारी दिन सफल भएको जनाएको छ । यद्यपि उत्पादनको धेरैजसो काम मेशिनमार्फत गरिन्छ । तथापि उद्योगले एक सय जना नेपालीहरूलाई रोजगारी उपलब्ध गराउन सकेको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आफ्नै ८५ रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरी एक वर्षअघि इटाको उत्पादन सुरु गरेको थियो । झन्डै ५० करोड रुपैयाँ लगानीमा जर्मन होफम्यान क्लिन प्रविधि प्रयोग गरी इटा उत्पादन गर्दै आएको कम्पनीले वार्षिक एक करोड इटा उत्पादन क्षमता रहेको जनाएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिका टेक्निकल डाइरेक्टर इन्जिनियर कृष्णभक्त दुवालले उद्योग स्थापना भएदेखि अहिलेसम्म करिब एक सय नेपाली युवालाई रोजगारी दिन सफल भएको जानकारी गराए । उनले जानकारी दिएअनुसार, यो प्रविधि ४५ वर्षअघि भक्तपुरको भक्तपुर चाइनिज इटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इटा तथा टायल कारखानामा प्रयोग गरिएको इटा पोल्ने प्रविधिको आधुनिक रूप हो । ‘सामान्यतया इटा पोल्ने संरचना र जनशक्ति भारतको विहारबाट आएका मजदुरहरूले सञ्चालन गर्दै आएका थिए । तर, पोखराको पोल्याङमा होफम्यान क्लिन प्रविधि प्रयोग गरी नेपाली जनशक्तिबाट नै उत्पादन सुरु गरेका छौं,’ डाइरेक्टर दुवालले भने । कारखाना पोखरा र दमौलीबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित रहेको छ । जर्मन वैज्ञानिक फ्रेडरिक होफम्यानले सन् १८५८ मा विकास गरेको होफम्यान क्लिन प्रविधिबाट इटा पोल्नका लागि आधुनिक भटाको निर्माण गरी उत्पादन सुरु गरिएको थियो । नेपालमा यो प्रविधि भित्रिएको लगभग आधा शताब्दीपछि यस प्रविधिमार्फत अत्याधुनिक चाइनिज इटा उत्पादन गर्न सफल भएको हो । संसारभरि नै यो होफम्यान प्रविधिलाई इटा उत्पादनमा वातावरणमैत्री प्रविधि मानिन्छ । यस प्रविधिबाट उत्पादन गर्दा अधिकांश काम मेशिनले नै गरिनेछ । ड्रायर बनिसकेपछि वर्षभरि कारखाना सञ्चालन गर्न सकिनेछ । प्रालिले आफ्ना इटा देशभर डेलिभरी गर्न सक्ने क्षमता रहेको बताएको छ । नेपालमा यसअघि यो प्रविधिमा आधारित दुईवटा चाइनिज इटा उद्योग—भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग—थिए । तीमध्ये भक्तपुर इटा तथा टायल उद्योग अहिले निजी क्षेत्रद्वारा सञ्चालन हुँदै आए पनि हरिसिद्धि कारखाना बन्द भइसकेको छ ।

म्याग्दीमा करिब तीन हजार उद्योग सञ्चालनमा, ३०० जनालाई रोजगारी

म्याग्दी । यस जिल्लामा करिब तीन हजार उद्योग सञ्चालनमा रहेका पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । दशौँ उद्योग दिवस–२०८१ का अवसरमा आज पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख पोषानाथ शर्माले तीन हजार तीन सय ८४ उद्योग दर्ता भएकामा दुई हजार नौ सय १९ वटा सञ्चालनमा रहेका जानकारी गराए । ‘पछिल्लो केही वर्षयता उद्योग ब्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ’, उनले भने, ‘वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज भएका हुन् ।’ आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ वटा खारेज भएका थिए । कार्यालयका अनुसार २०८०/८१ मा ३१ वटा उद्योग र ५३ वटा व्यावसायिक फर्म खारेज भएका हुन् । आर्थिक वर्ष २०७९/८० मा १४ वटा उद्योग र २९ वटा व्यावसायिक फर्म खारेज भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा सात सय ६२, २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । गत वर्ष तीन सय २२ उद्योग र तीन सय ९४ व्यावसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगमा तीन सय जनालाई रोजगारी सिर्जना भएको कार्यालय प्रमुख शर्माले बताए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायी विदेश पलायन हुने र अन्य पेसा रोज्नेक्रम बढेको बताए ।  उद्योग वाणिज्य सङ्घको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फर्महरु पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका हुन् । यसैगरी दशौँ उद्योग दिवस–२०८१ का अवसरमा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान गरेको छ । रघुगङ्गा गाउँपालिका–१ बेगकी मेनुका सिलाइकटाइ तथा प्रशिक्षण केन्द्रका मेककुमारी पुन, बेनी नगरपालिका–८ गणेशटोलको वेदना सु–सेन्टरका सुकलाल किसान र बेनी नगरपालिका–७ कुरिलाखर्कको शर्मा कृषि तथा पशपक्षी फार्मका सञ्चालक कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन), जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले उनीहरुलाई दोसल्लो ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । प्रदेशसभा सदस्य जुग्जालीले म्याग्दीमा आवश्यकता र सम्भावनामा आधारित भएर सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक भएको बताए । गण्डकी प्रदेशसभाबाट स्थानीय मदिरासम्बन्धी कानुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउँदै म्याग्दीमा पनि यस किसिमका उद्यम स्थापना गरी मदिरा आयात घटाउन आवश्यक देखिएको विचार व्यक्त गरे । रासस