नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे पुनः नियुक्त

काठमाडौं । नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा फेरि प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट पाण्डे पुनः अध्यक्षमा नियुक्त भएका हुन् । पाण्डे यसअघि पनि काउन्सिलको अध्यक्षका रूपमा कार्यरत थिए । फार्मेसी विज्ञ रहेका उनलाई सन् २०७७ चैतमा तत्कालीन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पहिलोपटक अध्यक्षमा नियुक्त गरेका थिए । नेपाल फार्मेसी काउन्सिलको अध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।   

घिमिरेले सम्हाले एनएमबि बैंकको सीईओको जिम्मेवारी, सुदेश उपाध्याय बने वरिष्ठ नायव प्रमुख

काठमाडौं । तीन दशकभन्दा बढी बैंकिङ अनुभव भएका गोविन्द घिमिरेले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध घिमिरे यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । घिमिरेले बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना र सञ्चालन सुधारमा निरन्तर योगदान दिँदै आएका छन् । उनको नेतृत्वमा प्रविधिमा आधारित सेवा विस्तार र दिगो बैंकिङ अभ्यासहरूमा उल्लेखनीय सुधार भएको बैंकले जनाएको छ । 'नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवा हाम्रो प्राथमिकता हुनेछ,' कार्यभार सम्हाल्दै घिमिरेले भने, 'डिजिटल प्रविधि र नयाँ सोचको प्रयोगमार्फत हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।' त्यस्तै, आजैबाट सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । स्वदेशी तथा विदेशी बैंकिङ क्षेत्रमा व्यापक अनुभव बटुलेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार र बैंकिङ्ग सम्बन्धमा दख्खल राख्ने बैंकर मानिन्छन् । एनएमबि बैंकले अनुभव, निरन्तरता र नवप्रवर्तनमा आधारित यो नेतृत्व परिवर्तनलाई आगामी ‘समृद्ध नेपाल’ को यात्रासँग जोडेर स्वागत गरेको छ ।

ग्लोबल आइएमई लघुवित्तको सीईओमा हरिकृष्ण जोशी पुनःनियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिकृष्ण जोशीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ । वित्तीय संस्थाको वैशाख २ गते बसेको बैठकको निर्णयअनुसार भानु नगरपालिका–११ स्थायी ठेगाना भएका जोशीलाई आगामी ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गरिएको हो । जोशीको दोस्रो कार्यकाल आगामी वैशाख १५ गतेदेखि लागू हुने संस्थाले जानकारी दिएको छ । जोशीको नेतृत्वमा संस्थाले अघिल्लो कार्यकालमा सन्तोषजनक प्रगति गरेकाले पुनः नियुक्ति गरिएको बताइएको छ । ग्लोबल आइएमई लघुवित्त ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारमा सक्रिय रहेको संस्थामध्ये एक हो ।