नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी

काठमाडौं । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्स सहित विभिन्न कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गरी कलेजले विशेषज्ञ स्वास्थ्य प्राविधिक जनशक्ति माग गरेको हो । सूचना अनुसार कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ । सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरुले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् । प्रकाशित सूची अनुसार कलेजले नाक कान घाँटी, फरेन्सिक मेडिसिन, फिजियोलोजी, स्टाफ नर्स, ओरल मेडिसिन तथा रेडियोलोजी, फिजियोथेरापिस्ट तथा हेमोडायलाइसिस टेक्निसियन माग गरिएको छ । कलेजले अस्पताल तथा सम्बन्धित विषयमा अनुभव हासिल गरेकाहरुलाई प्राथमिकता दिने जनाएको छ । इच्छुक उम्मेदवारले आफ्नो ब्यक्तिगत बायोडाटा इमेल मार्फत पठाउनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारलाई कलेज प्रशासनले अन्तरवार्ताका लागि बोलाउने छ । स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँन थप जनशक्तिहरु माग गरिएको हो । कलेजले चाँडै क्याथ ल्याब समेत सञ्चालन गर्न गइरहेको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान 

 काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान गरिएको छ ।  निर्देशक छनोट समितिले एक सूचना जारी गर्दै माघ १५ गते भित्र योग्यता पुगेका व्यक्तिहरूलाई दरखास्त दिन आग्रह गरेको छ । नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद ६ बमोजिम त्रि.वि. शिक्षण अस्पतालको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरिएको छ । अस्पतालका निर्देशक प्रा.डा दिनेश काफ्लेको समय अवधी सकिएपछि हाल निमित्तको रुपमा डा. घनश्याम गुरुङले जिम्मेवारी सम्हाल्दै आएका छन् ।  

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद

इलाम । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनी २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किएका हुन् । ‘१५ लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ,’ उनले भने, ‘अहिलेसम्म साना–ठूला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास हजार भन्दा बढी इँटा प्रयोग भइसकेको छ ।’ उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन् । महिनामा सात हजार इँटा उत्पादन हुन्छ । एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको उद्यमी सापकोटाले बताए । ‘नगरपालिकाले नै इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ,’ उनले भने, ‘कच्चापदार्थ महँगो छ । सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ । महिनामा त्यस्तै एक लाख जति  बचत छ ।’ ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेटको ओपीसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताए । उनले भने, ‘यी सामग्री दाउन्ने, झापाको विर्तामोड र सुपर प्लास्टिक साईजर चैँ उडिसाबाट ल्याउने गरिएको छ ।’ उद्योगको उत्पादनले इँटाको माघ धान्न सकेको छैन । सूर्योदय नगरपालिका क्षेत्रमा नै धेरै माघ हुने गरेकाले जिल्लाका अन्य पालिकातिर माघ पूरा गर्न नसकिएको स्वस्तिका सापकोटा (भट्टराई) ले बताइन् । ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले यसको माघ बढिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘पालिकाले निर्माण गर्ने भवनमा हरित निर्माण सामग्री प्रयोग गर्ने भनिएको छ । त्यस्मा हाम्रो उत्पादन प्रयोग गर्नेगरि छलफल चलेको छ । त्यो सम्झौता भएमा उद्योगले उत्पादन अनिवार्य वृद्धि गर्नुपर्छ ।’ सापकोटा दम्पतिलाई घर–गाउँ छोडेर विदेशीन मन छैन । ‘जे गर्छु नेपालमै गर्छु, जति गर्छु नेपालिकै लागि गर्छु भन्ने लाग्छ,’ प्रमोदले भने, ‘आजभन्दा ६ वर्षअघि १५ लाख लगाएर उद्योग खोल्ने मेरो एउटा साहास नै थियो । त्यो बेला अमेरिका अस्ट्रेलिया वा कोरियातिरै गएको भए पनि अहिलेसम्म एक–दुई करोड कमाई त हुन्थ्यो होला । तर, गाउँको स्वच्छ हावा, परिवार, समाज र नेपाली माटोको सुगन्ध त्यो भन्दा मङ्गो लाग्यो । हामी यहीँ खुसी छौँ ।’ कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका थिए । प्रमोदसँग पनि कोभिड–१९ का बेला उद्योग बन्द गर्नुपरेको तीतो स्मरण छ । उनले भने, ‘महामारीमा उद्योग ठप्प भयो । भर्खर सुरु भएको उद्योग बन्द गर्नुपर्दा निराशा आएको थियो । पुनः स्थिति सुधार भयो । अब त डर छैन ।’ स्थानीय तहमै स्वरोजगार भइरहेका युवा उद्यमीलाई नगरपालिकाले प्रोत्साहन गर्ने गरेको नगरप्रमुख रणबहादुर राईले बताए । अनुदानमा सहुलियत दिएर युवालाई स्वरोजगार बन्न प्रोत्साहित गरिरहेको उनको भनाइ छ । उद्योगमा ईको इँटा मात्र होइन, कङ्क्रिट इँटा, कबर ब्लक, फुलको गमला, तुलसीको मोठ, तारजाली पिल्लरसमेत उत्पादन हुने गरेको छ । रासस