एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरञ्जन फुँयाल
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरञ्जन फुँयाललाई नियुक्त भएका छन् । कात्तिक १९ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले फुँयाललाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै कार्यभार समाल्नेछन् ।
परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय
काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय नियुक्त भएका छन् । महाशाखा निर्देशक रहेका डा. विवेककुमार लाल भ्रष्ट्राचारको अभियोगमा विशेष अदालतमा मुद्धा दायर भएपछि उनी निलम्बनमा परेका थिए । विवेककुमार निलम्बनपछि रिक्त निर्देशक पदमा डा. उपाध्याय नियुक्त भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. उपाध्यायलाई महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिएको हो । डा. उपाध्याय वीर अस्पतालमा कार्यरत थिए ।
राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले लिए शपथ
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नियुक्त भएका निर्मल ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले सोमबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई शपथ गराएका हुन् । नेपाल सरकारले कात्तिक १४ गतेको निर्णयअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।