सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६, सशस्त्र प्रहरी उपरीक्षकमा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा एक र सशस्त्र प्रहरी नायब उपरीक्षकमा ४८ जनालाई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालिदास धौवजीले जानकारी दिए । ज्येष्ठता, व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कनलगायतलाई प्राथमिकतामा राखी रिक्त पदमा बढुवा गरिएको र यसले सङ्गठनको वृत्तिविकास, सुरक्षा फौजको मनोबलमा हौसला वृद्धि हुने विश्वास गरिएको उनले बताए । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरु छन्भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरु तेस्रो ब्याच, सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याचबाट ज्येष्ठता, व्यावसायिक क्षमता तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत आधार मानेर गरिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरु नवौँ ब्याचका छ्न् । मुख्यालयले बढुवा हुनका लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षकमा १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो । बढुवा मूल्याङ्कन फारामका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो ।
आरएसडिसी लघुवित्तको सीईओमा पुनः धुव्र कुमार पौडेल नियुक्त
काठमाडौं । आरएसडिसी लुघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः धुव्र कुमार पौडेल नियुक्त भएका छन् । साउन १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ र कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनको कार्यकाल ४ वर्षको हुनेछ । उनलाई भदौ १० गतेबाट लागू हुनेगरी पुनः सीईओ पदमा नियुक्त गरिएको छ ।
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डाअशोककुमार क्षेत्रीले जानकारी दिए । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा लिएका थिए । बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह–रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, सह न्यायाधिवक्ता सूर्यराज दाहाललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।