गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद
इलाम । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनी २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किएका हुन् । ‘१५ लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ,’ उनले भने, ‘अहिलेसम्म साना–ठूला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास हजार भन्दा बढी इँटा प्रयोग भइसकेको छ ।’ उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन् । महिनामा सात हजार इँटा उत्पादन हुन्छ । एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको उद्यमी सापकोटाले बताए । ‘नगरपालिकाले नै इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ,’ उनले भने, ‘कच्चापदार्थ महँगो छ । सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ । महिनामा त्यस्तै एक लाख जति बचत छ ।’ ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेटको ओपीसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताए । उनले भने, ‘यी सामग्री दाउन्ने, झापाको विर्तामोड र सुपर प्लास्टिक साईजर चैँ उडिसाबाट ल्याउने गरिएको छ ।’ उद्योगको उत्पादनले इँटाको माघ धान्न सकेको छैन । सूर्योदय नगरपालिका क्षेत्रमा नै धेरै माघ हुने गरेकाले जिल्लाका अन्य पालिकातिर माघ पूरा गर्न नसकिएको स्वस्तिका सापकोटा (भट्टराई) ले बताइन् । ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले यसको माघ बढिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘पालिकाले निर्माण गर्ने भवनमा हरित निर्माण सामग्री प्रयोग गर्ने भनिएको छ । त्यस्मा हाम्रो उत्पादन प्रयोग गर्नेगरि छलफल चलेको छ । त्यो सम्झौता भएमा उद्योगले उत्पादन अनिवार्य वृद्धि गर्नुपर्छ ।’ सापकोटा दम्पतिलाई घर–गाउँ छोडेर विदेशीन मन छैन । ‘जे गर्छु नेपालमै गर्छु, जति गर्छु नेपालिकै लागि गर्छु भन्ने लाग्छ,’ प्रमोदले भने, ‘आजभन्दा ६ वर्षअघि १५ लाख लगाएर उद्योग खोल्ने मेरो एउटा साहास नै थियो । त्यो बेला अमेरिका अस्ट्रेलिया वा कोरियातिरै गएको भए पनि अहिलेसम्म एक–दुई करोड कमाई त हुन्थ्यो होला । तर, गाउँको स्वच्छ हावा, परिवार, समाज र नेपाली माटोको सुगन्ध त्यो भन्दा मङ्गो लाग्यो । हामी यहीँ खुसी छौँ ।’ कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका थिए । प्रमोदसँग पनि कोभिड–१९ का बेला उद्योग बन्द गर्नुपरेको तीतो स्मरण छ । उनले भने, ‘महामारीमा उद्योग ठप्प भयो । भर्खर सुरु भएको उद्योग बन्द गर्नुपर्दा निराशा आएको थियो । पुनः स्थिति सुधार भयो । अब त डर छैन ।’ स्थानीय तहमै स्वरोजगार भइरहेका युवा उद्यमीलाई नगरपालिकाले प्रोत्साहन गर्ने गरेको नगरप्रमुख रणबहादुर राईले बताए । अनुदानमा सहुलियत दिएर युवालाई स्वरोजगार बन्न प्रोत्साहित गरिरहेको उनको भनाइ छ । उद्योगमा ईको इँटा मात्र होइन, कङ्क्रिट इँटा, कबर ब्लक, फुलको गमला, तुलसीको मोठ, तारजाली पिल्लरसमेत उत्पादन हुने गरेको छ । रासस
बीमा प्राधिकरणले माग्यो धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न पदका लागि आवेदन खुलाएको छ । प्राधिकरणले कार्यकारी निर्दैशकदेखि साहायक प्रथमका लागि आवेदन माग गरेको हो । प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कद्वारा हुने बढुवा, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा र खुला, समावेशी प्रतियोगितात्मक लिखित परिक्षाबाट कर्मचारी परिपूर्ति गर्न लागेको सूचनामा उल्लेख छ । जसअनुसार कार्यक्षमताको मूल्याङ्कद्वारा हुने बढुवा अन्तर्गत एक जना कार्यकारी निर्देशक, ४ जना निर्देशक र २ जना कानून तर्फको उपनिर्देशक सहित ५ जना उपनिर्देशकका लागि आवेदन खुलाएको हो । यसैगरी, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा अन्तर्गत एक जना उपनिर्देशक पदका लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ । खुला तथा समावेशी तर्फ १० जना साहायक निर्देशक र ४ जना सहायक प्रथमका लागि आवेदन माग गरिएको छ । सहायक निर्देशकका लागि स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने छ । यसैगरी, सहायक प्रथमका लागि स्नातक तहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । आवेदन दिने अन्तिम मिति माघ १८ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सकिने छ ।
इन्स्पेक्टरसहित सशस्त्र प्रहरीमा भर्ना खुल्यो, १ हजार १७९ जनालाई रोजगारीको अवसर
काठमाडौं । सशस्त्र प्रहरीमा १ हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गर्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना पक्राशित गरेको हो। सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ । यसैगरी भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि भर्ना खुलाएको हो । दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ ।