जागिर खाँदै इन्जिनियर बन्नेका लागि दैनिक ६ घण्टा नेक विडिएच

काठमाडौं । एसईई उत्तिर्ण गरेपछि तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेर जागिर खाइरहेकाहरुलाई त्यसभन्दा माथिको उच्च शिक्षा हासिल गर्न सहज हुँदैन । दैनिक ६ घण्टा हप्ताको ६ दिन कलेज धाएर पढ्नुपर्ने बाध्यताले गर्दापनि डिप्लोमा होल्डर्सहरुमा आफ्नो पढाईको चाहना मनमै दवाएर राख्नुपर्ने परिस्थिति छ । यद्यपि, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै पढ्दै काम गर्ने सोच बनाएकाहरुलाई उपाय नभएको हैन । डिप्लोमा गरेर सरकारी तथा गैरसरकारी निकायमा काम गरिरहेकाहरुलाई पढेर विश्वविद्यालयको सर्टिफिकेट हासिल गर्ने सहज उपाय सन्ध्याकालिन कक्षा हो । तर, यो सबै कलेज तथा विश्वविद्यालयहरुमा छैन । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले भने सिटिइभिटीको डिप्लोमा होल्डर्स विद्यार्थीको समस्या निराकरण गर्न ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम चलाइरहेको छ । जहाँ दिउसो काम गरेर साँझको समय अध्ययन गर्न सकिन्छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेकाहरुलाई इन्जिनियर बनाउनकै लागि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम छ । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालको पहलमा नेपालमा पहिलो पटक आधिकारीक रुपमा सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूको लागि सिभिल इन्जिनियरिङ पढाईको लागि नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन संस्थापक अध्यक्ष स्वप्राडा दीपक भट्टराई, पूर्व प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र प्राडा राजेन्द्र प्रसाद अधिकारीले पोखरा विश्वविद्यालयसँग समन्वय गरि सन् २००१ देखि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम सञ्चालन गरेका हुन् । सिभिल इन्जिनियरिङ अध्ययन गर्ने चाहना भएपनि बञ्चित सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूलाई कुशल सिभिल इन्जिनियर बन्ने अवसर प्रदान गरिएको नेकका प्राचार्य दुर्गाप्रसाद भण्डारी बताउँछन् । ‘डिप्लोमा गरेका तथा फुल टाइम काम गरेर पार्टटाइम पढ्ने योजना बनाएकाहरुलाई यो विडिएच कार्यक्रम अत्यन्त लाभदायक छ । डिप्लोमा पछिपनि विश्वविद्यालयको सर्टिफिकेट प्राप्त गर्न सक्छन् ।’ प्राचार्य भण्डारी भन्छन् । डिप्लोमा गरेकाहरुलाई काम गर्दै इन्जिनियरिङको उच्च शिक्षा अध्ययन गर्ने बाटो नेपाल इन्जिनियरिङ कलेजले खोलिदिएको छ । ९ सेमेष्टरको यो विडिएच कार्यक्रम अन्य कार्यक्रम भन्दा एक सेमेष्टर लामो छ । स्नातक तहका अन्य कोर्ष चार वर्षे हुँदा यो कोर्ष पुरा गर्न भने साढे ४ वर्ष लाग्छ ।नेपाल इन्जिनियरिङ कलेजले ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम बेलुका ५:३० देखि ९:०० बजे (माघ देखि कार्तिक सम्म) र बेलुका ४:३० देखि ८:०० बजे सम्म (कार्तिक देखि माघ सम्म) सञ्चालन गर्दछ । साँझ सञ्चालन हुने कक्षाका कारण सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूले सिभिल इन्जिनियरिङ अध्ययन गर्नको लागि कार्यालयबाट अध्ययन बिदा लिनुपर्ने तथा जागिर नै छोडी पढ्नु पर्ने बाध्यता छैन । नेक विडिएच कार्यक्रममा १३० क्रेडिटको हुन्छ । हप्ताको ६ दिन वेलुका सैद्धान्तिक पढाई र शनिबार विहान ७ बजेदेखि ३ बजे सम्म प्रयोगात्मक कक्षा हुने गर्दछ । सन् २००१ देखि २०२१ सम्म आई पुग्दा नेक विडिएचमा ९०० बढी बिद्यार्थीहरुले सिभिल इन्जिनियरिङ अध्ययन गरि सकेका छन् । त्रिभुवन विश्वविद्यालयको २ वर्षे डिप्लोमा कार्यक्रम हुँदा फिजिक्स केमिष्ट्री र गणितको विस्तृत अध्ययन नहुने हुनाले विज्ञान र गणित विषय समावेश गरि थप एक सेमेष्टर अध्ययन गराउनु परेको थियो । तर, हाल तीन वर्षे डिप्लोमा कार्यक्रम भएको अवस्थामा यसलाई परिमार्जन गर्ने प्रस्ताव पोखरा विश्वविद्यालयसँग रहेको जनाएको छ । नेकमा पोखरा विश्वविद्यालयले दिने छात्रवृत्ति सँगै कलेज आफैंले विभिन्न शीर्षकमा छात्रबृत्तिहरु पनि दिएको छ । प्रवेश परीक्षामा उत्कृष्ट हुने, सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई छात्रवृत्ति दिइन्छ । यसका अलावा कलेजले प्रादेशिक तथा स्थानीय तहमा पनि छात्रवृत्तिहरु दिइरहेको कलेजका प्राचार्य भण्डारी बताउँछन् । सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई पछिल्लो समय नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तरगत गठन गरिएको बोर्डमार्फत यो कलेज सञ्चालनमा रहेकाले अन्य निजी क्षेत्रको दाँजोमा यहाँको शैक्षिक शुल्क कम रहेको छ भने, शैक्षिक गुणस्तर अन्तराष्ट्रिय स्तरकै रहेको दावी गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकलाई निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव गरेको छ । महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै श्रमिक अभावका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । निर्माण क्षेत्रमा भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । श्रमिकका लागि राज्यले एकद्वार प्रणालीमार्फत तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष सिंहले महासङ्घले सुरु गर्न लागेको तालिम केन्द्र सञ्चालनमा सहयोग गर्न आग्रह गरे । महासङ्घले राज्यका विभिन्न निकायले दिने तालिमलाई समयानुकूल बनाउँदै एकद्वार प्रणालीबाट सञ्चालन गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष सिंहले मुलुकमा निर्माण उद्योगले २० लाखभन्दा बढी जनालाई रोजगारी दिइरहेको उल्लेख गर्दै स्वदेशमा श्रमिकको अभाव भएर भारतबाट मजदुर ल्याउनुपर्ने अवस्था अन्त्य गरिनुपर्ने बताए । ध्यानाकर्षणपत्र बुझ्दै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीअन्तर्गत निर्माण क्षेत्रमा जाने श्रमिकलाई दक्ष बनाउन महासङ्घसँगको सहकार्यमा तालिम दिइने बताए । उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट प्रदान गरिने सीप तालिमलाई अन्तर्राष्ट्रियस्तरको बनाइने स्पष्ट पारे ।

नेपालगञ्ज औद्योगिक क्षेत्र : ३४ उद्योगमा ८ सयलाई रोजगारी, अधिकांश कामदार भारतीय

राँझा । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा ८ सय जनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरूले रोजगारी पाएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन् । विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग सञ्चालनमा छन् । ती उद्योगमा विगतमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए । औद्योगिक क्षेत्रमा अधिकांश कामदार भारतीय नागरिक छन् । नेपालीलाई रोजगारीमा प्राथमिकता दिन माग गर्दै आए पनि आफूहरू सफल हुन नसकेको नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य पूर्ण केसीले बताए । विसं २०३० मा २ सय ३३ रोपनीमा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग बन्द छ । पूर्ण क्षमतामा सञ्चालित औद्योगिक क्षेत्रमा तामा, पित्तल, काँस, आल्मुनियमका भाँडा, खाद्य सामग्री, विद्युतीय सामग्री, प्लाइउड, ढोका, ट्रान्सफर्मर र प्लास्टिकका भाँडाकुँडा उत्पादन हुने गरेका छन् । औद्योगिक क्षेत्रभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित भेरी प्राविधिक शिक्षालय पनि सञ्चालनमा छ ।