मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै थिए । परिवारसँग उब्जनीका लागि पर्याप्त जग्गा छैन, न रोजगारीका लागि अर्को भरपर्दो विकल्प थियो । त्यसैले ज्यालामजदुरी गरेर उनको जीविको चल्यो तर पछिल्लो तीन वर्षयता भने उनको काम बदलिएको छ । त्यसले ‘दाम’ पनि राम्रै कमाई भइरहेको छ । त्यो काम हो—ब्याण्डबाजा बजाउने । उनीमात्रै होइन सो शिविरका नौजना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्याण्डबाजा बजाएर जीविको चलाइरहेका छन् । ‘स्थानीयस्तरमा विवाह हुने तर ब्याण्डबाजा बजाउने मान्छे नपाएर टाढाटाढाबाट महङ्ग रकम तिरेर बोलाउनुपर्ने अवस्था थियो’, रानाले भने, ‘त्यो समस्या टार्न हामीले सीप सिक्यौ, पछि स्थानीय युवा मिलेर ब्याण्डबाजा बजाउने काम गरिरहेका छौँँ । त्यसबाट राम्रै आम्दानी भइरहेको छ ।’ उनका अनुसार सो समूहले एउटा विवाहमा ब्याण्डबाजा बजाएबापत २० हजारदेखि ३० हजार रुपैयाँसम्म ज्याला लिने गरेका छन् । प्रत्येक वर्ष सिजनमा औषतमा २० भन्दा बढी विवाहलगायतका समारोहमा बाजा बजाउने माग आउने गरेको छ । सोही समूहका अर्का सदस्य रामप्रवेश रानाले अहिले ब्याण्डबजा बजाएर जोहो गरेको आम्दानीले परिवारको लालनपालन र बच्चाहरूको पठनपाठनमा निकै सघाउ पुगेको बताए । केही वर्षअघि हातमा सीप भए पनि पर्याप्त बाजा नहुँदा धेरैले आफ्नो समूहलाई काम नदिने गरेकामा स्थानीय तहले बाजा खरिदका लागि सहयोग गरेपछि अहिले भने भ्याइनभ्याइँ भएको उनको भनाइ छ । ‘पहिलो थोरै बाजा हुँदा धेरै माग आउँदैनथ्यो । वडा कार्यालयले बाजा उपलव्ध गराएपछि माग पनि बढेको छ र हाम्रो आम्दानी पनि’, रानाले भने । ब्याण्डबाजा बजाउने समूहका वीरा रानाले पनि ब्याण्डबाजा बजाउन थालेपछि आफ्नो परिवारका लागि हातमुखजोर्ने समस्या टर्दै गएको बताए । वडा कार्यालयबाट बाजा पाएपछि त काम गर्न सहज हुनुका साथै माग धेरै आउन थालेकाले आम्दानी पनि बढ्न थालेको उनले बताए । ‘रानाथारु समुदायमात्रै होइन पहाडीलगायतका गीत बाजामार्फत गाउन जान्ने र बाजागाजा पनि भएकाले अहिले धेरै ठाउँबाट माग आउन थालेको छ । त्यसैले विवाहको समयमा माग धौधौ हुने गरेको छ’, वीराले भने । छङ्गा राना बाजाको व्यवस्था गरिदिन वडा कार्यालयलाई माग गरेपछि सुनुवाइ भएकामा निकै खुसी छन् । ‘बजाउने सीप भए पनि बाजा थिएनन् । त्यसैले माग पनि आउँथेन’, रानाले भने, ‘वडा कार्यालयले ५० हजार रुपैयाँमा बाजा खरिद गरिदिएपछि हामी नौजनालाई नै सहज भएको छ ।’ वडा अध्यक्ष अर्जुन साउदले मुक्तकमैया युवालाई स्वरोजगार बनाउन आवश्यक रकमको व्यवस्था मिलाई बैण्डबाजा खरिद गरिएको बताए । ‘गत वर्ष सालघारी मुक्तकमैया बस्तीका युवाका लागि वडाकै रकम खर्चेर बैण्डबाजा खरिद गर्यौंँ’, उनले भने, ‘यस वर्षको बजेटबाट बाणिका मुक्तकमैया युवाका लागि बैण्डबाजा खरिद गरेका हौँ । यसपछि बंकका युवाको मागअनुसार पञ्चेबाजा उपलब्ध गराउने योजना छ ।’ हाल बाणी मुक्तकमैया शिविरका बैण्डबाजा बजाउने युवासँग ट्रम्पट, ओवाउ, ब्रास, सहनाई, तम्बुर, ड्रम, झुनझुनालगायतका बाजा छन् । विवाहको समयमा ब्याण्डबाजा बजाउने युवाहरूले अरु बेला कपाल काट्ने, राजमिस्त्री, किराना पसल, तरकारी खेतीलगायतका काम गरी आम्दानी गर्दै आएका रामनाथ रानाले बताए । ‘विवाहको समयमा बाजा बजाएर आउने रकमले घरखर्च चल्ने गरेको छ’, उनले भने, ‘अन्य व्यवसाय गरी आएको आम्दानी बैंक, समूह र सहकारीमा बचत गर्दै आएका छौँ ।’ बैण्डबाजा बजाउने कार्य भने ति युवाले घरमै अभ्यास गरेर सिकेका हुन् । ‘सुरूमा अरुले बजाएको देखेर हामीले सिकेको थियौँ, त्यसपछि भारतीय बजारबाट बाजा खरिद गरेर घरमै अभ्यास गर्यौँ । आखिर इच्छाशक्ति भयो भने त हुँदो रहेछ नि !’, रामप्रसादले भने । धेरै युवाहरूले काम पाइएन भनेर गुनासो गरिरहेका हुन्छन् । पहिलेदेखि नै बाजा बजाने काम गर्दै आएका कतिपय समुदायका युवाहरूसमेत यो पेशाबाट पलाएन भइरहेका छन् तर यहाँका मुक्तकमैया युवाहरू भने ब्याण्डबाजा बजाएर राम्रो आम्दानी गरिरहेका छन् । यस कार्यको यहाँ निकै प्रशंसा भइरहेको छ । रासस
दुर्गम खानीखोलामा श्रमाधान-कल सेन्टर सञ्चालन
काभ्रेपलाञ्चोक । जिल्लाको दुर्गम खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । उक्त सेन्टरबाट असल श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष संकलनसहित सम्बोधन गरिने जनाइएको छ । उक्त स्थानीय तह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’ मा सूचीकृत गाउँपालिका हो । सेन्टरमार्फत् प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका काम कारबाहीबारे जिज्ञासा तथा सरोकारवालालाई जानकारी दिइने र गुनासाको सुनुवाइ गरी तत्काल समस्या समाधानमा पहल गरिने गाउँपालिकका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार सेन्टरको सञ्चालनबाट गाउँपालिकास्थित निकायका कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह भई सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने अपेक्षा गरिएको छ । यस्तै दैनिकरूपमा प्राप्त हुने गुनासालाई सुनुवाइ गरी तत्काल सम्बोधन गर्न, जानकारी लिन वा गुनासो सेन्टरबाट सम्बद्ध निकायमा सम्पर्क एवं समन्वय गर्न र सम्बन्धित निकायले समेत तत्काल सम्बोधन गरे/नगरेको विषयमा गाउँपालिकाबाट नियमित अनुगमन एवं ताकेता गर्न सकिने व्यवस्था मिलाइएको थिङले बताए । यसका लागि गाउँपालिकाको केन्द्रस्थान साल्मेचाकलमा सेवाग्राहीले सेन्टरका निःशुल्क फोन तथा सेन्टरको क्युआर कोड स्क्यानमार्फत् निःशुल्क गुनासो गर्न सकिने व्यवस्था गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही साताबाट श्रम तथा रोजगारसँग सम्बन्धित नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमाधान’ अभियानअन्तर्गत ‘सेकेन्ड इनिङ्स’, रोजगार बैंक, समता, कनेक्ट, साथ, कल सेन्टर, पेसागत यात्राको सहयात्रीलगायत कार्यक्रम अभियानकारूपमा लैजाने योजना सुरुआत गरेको छ ।
महानरपालिकाको श्रम बैंकबाट ४ सयले पाए रोजगारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए । उनका अनुसार रोजगार पाउनेमा स्थानीय र केही भाडामा बसोबास गर्ने व्यक्तिको निवेदन प्राथमिकतामा परेको छ । व्यक्तिको कार्यक्षमताका आधारमा दैनिक ज्यालामा रोजगार दिने गरिएको उनले बताए । ‘कार्यालयमै आएर फाराम बुझाउनेहरु थुप्रै हुनुहुन्छ’, उनले भने, ‘यद्यपि श्रमप्रतिको सम्मान भाव नभएका कारण अझै रोजगार खोज्दै आउने युवाको जमात थोरै देखिन्छ ।’ अनलाइन फाराम भर्ने भनिए पनि भौतिक उपस्थिति अनिवार्य भएकाले बैंकसम्म आउनेको सङ्ख्या तुलनात्मकरुपमा थोरै भएको उनको बुझाइ छ ।