सीप मेला आयोजना गर्दै काठमाडौं महानगर, १५ हजारलाई रोजगारमूलक तालिम दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि एक महिने ‘सीप मेला’ आयोजन गर्ने भएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरिएको जनाएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्नेगरी कामपा सामाजिक विकास विभाग र महासङ्घबीच सम्झौता भइसकेको विभागका निमित्त प्रमुख बिमला कोइरालाले जानकारी दिए ।उनका अनुसार वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना हुने ‘सीप मेला’ बाट १० क्षेत्रका ३६ पेसासम्बन्धी दुई हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ । तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासङ्घको हुने कोइरालाले बताए । कामपाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज कामपालाई बुझाउनुपर्ने उनको भनाइ छ । ‘मेलाले, छरिएर रहेका सीपलाई एकीकृत गर्ने र सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउने लक्ष्य पूरा गराउन मद्दत गर्नेछ’, प्रमुख कोइरालाले भने, ‘१८ वर्ष उमेर पूरा भएका ५८ वर्षसम्म उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन पाउनेछन् ।’ उनका अनुसार १५ हजार व्यक्तिलाई रोजगारमूलक तालिम दिएर पाँच हजारलाई प्रत्यक्ष रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको हो । तालिममा १० क्षेत्र निर्धारण ‘अहिले तर्जुमा गरिएका तालिमका क्षेत्रमध्ये हलुका सवारीसाधन एउटा हो । यसमा अटो इलेक्ट्रिक, अटो डेन्ट पेन्ट, अटो एअर कन्डिसन प्रशिक्षण राखिएका छन् । विद्युतीय सवारीसाधनमा मोटरबाइक र स्कुटर रिपेयर तालिम यसअन्तर्गत राखिएका छन्’, प्रमुख कोइरालाले भने । निर्माण क्षेत्रअन्तर्गत सिकर्मी, टाइल एण्ड मार्बल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन् । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधाअन्तर्गत चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, बेकरीसम्बन्धी, सूचना प्रविधिअन्तर्गत डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सिसीटिभी क्यामरा जडानसम्बन्धी हुने उनले जानकारी दिए । त्यस्तै, मेकानिकलमा रेफ्रिजेरेटर र एसी टेक्निसियन, आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण, टेलरिङ, ब्यूटिसियनअन्तर्गत नेल, मेक अप, आइलेस, हेअर कट एण्ड स्टाइल हुनेछ । नवौँ क्षेत्र इन्टेरियर डिजाइनिङ् हो भने दशौँमा ग्रीन सोलुसन, प्लास्टिक रिसाइक्लिङलगायत छन् । रासस
मार्चमा दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो
कोरिया । मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार र श्रम मन्त्रालयको तथ्याङ्क अनुसार रोजगार खोज्नका लागि मार्चमा नयाँ आवेदकहरूको सङख्या एक लाख ३० हजार ८०० पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले कमी हो । फेब्रुअरीमा दोहोरो अङ्कमा झरेको यो सङ्ख्या लगातार दोस्रो महिना पनि तल झरेको हो । शिक्षा सेवा, उत्पादन, थोक तथा खुद्रा उद्योगमा लाभग्राहीको अवस्थामा कमी आएको छ । तर वित्त, बिमा, सूचना तथा सञ्चार क्षेत्रमा भने गत महिनाको तथ्याङ्कमा वृद्धि भएको छ । बेरोजगारीको अत्यधिक सङ्ख्यालाई लिएर रोजगारी खोज्न मद्दत गर्न सरकारले रोजगारी खोज्न सघाउने प्रस्ताव गरेको छ । यो कार्यक्रम राज्यको रोजगार बिमा कोषद्वारा वित्त पोषित छ । रोजगार प्राप्तकर्ताहरूको सङ्ख्या मार्चमा छ लाख ५४ हजार ६०० थियो । जुन एक वर्ष अघिको समान अवधिको तुलनामा तीन प्रतिशतले कम हो । यसले १४ महिनाको पहिलो गिरावटलाई अङ्कित गरेको छ । कूल रोजगारी प्राप्तिको अवस्था ६.२ प्रतिशतले घटेर ९६९.६ अर्ब वोन (७१६.७ मिलियन अमेरिकी डलर) मा झरेको छ । रासस
वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई साढे २ करोड क्षतिपूर्ति
दमौली । वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरूप दुई करोड ३१ लाख रुपैयाभन्दा भन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरूप उक्त रकम प्राप्त गरेका हुन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरूले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले जानकारी दिइन् । उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले ६१ लाख ९१ हजार, भानु नगरपालिकाका १६ जनाले एक लाख २० हजार, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले ११ लाख, म्याग्दे गाउँपालिकाका २२ जनाले ४५ लाख ५० हजार, भिमाद नगरपालिकाका २५ जनाले ६४ लाख ७९ हजार, बन्दीपुर गाउँपालकाका ११ जनाले दुई लाख, देवघाट गाउँपालिकाका ११ जनाले २१ लाख, आँबुखैरेनी गाउँपालिकाका चार जनाले ५० हजार, ऋषिङ गाउँपालिकाका १४ जनाले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । तनहुँबाहेक अन्य ठाउँका सात जनाले २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, ६ जेल, १२ करार उल्लंघन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए । रानाले भनिन्, ‘आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो ।’ सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको उनको भनाइ छ । ६ हजार बढीलाई परामर्श कार्यक्रममार्फत हालसम्म ६ हजार ६ सय ९१ जनालाई परामर्श प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा जानुपूर्व सुरक्षित रूपमा जानका लागि सर्वसाधारणलाई आवश्यक परामर्श प्रदान गरिएको छ । रानाका अनुसार व्यासका एक हजार चार सय ५६, शुक्लागण्डकीका एक हजार ७३ तथा भानु नगरपालिकाका एक हजार १४, म्याग्देका पाँच सय १७, भिमादका छ सय ७१, बन्दीपुरका तीन सय ९९, देवघाटका तीन सय चार, घिरिङका तीन सय ८३, ऋषिङका पाँच सय ५४ र आँबुखैरेनी गाउँपालिकाका तीन सय २० जनालाई परामर्श सेवा दिइएको छ । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ । जिल्लाका व्यास, भानु र शुक्लागण्डकी नगरपालिकाका साथै म्याग्दे, भिमाद, देवघाट र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएकामा यो प्रभावकारी बनेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘सामी कार्यक्रमलाई अबको आर्थिक वर्षदेखि स्थानीय तहले सञ्चालन गर्नुपर्ने अवस्था आउन लागेको छ । यो कार्यक्रम निकै प्रभावकारी बनेकाले त्यसका लागि हामी तयार छौँ ।’ गण्डकी प्रदेशका जिल्लामध्ये वैदेशिक रोजगारीमा जाने तनहुँ उच्च जिल्ला रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन यो कार्यक्रमले सहयोग पुगेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले बताए । उनका अनुसार चालु आव तनहुँबाट श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या १३ हजार नौ सय ५१ छ । त्यसमध्ये महिलाको सङ्ख्या एक हजार तीन सय ९० छ । उनले भने, ‘गरिबी र वैदेशिक रोजगारमा आकर्षणले विदेश जानेको सङ्ख्या बढ्दो छ । यसलाई रोक्न सक्ने अवस्था छैन तर वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सबै ज्ञान लिएर मात्रै जानुपर्छ । नत्रभने पछि समस्या आउन सक्छ ।’ रासस