दुर्गम खानीखोलामा श्रमाधान-कल सेन्टर सञ्चालन
काभ्रेपलाञ्चोक । जिल्लाको दुर्गम खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । उक्त सेन्टरबाट असल श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष संकलनसहित सम्बोधन गरिने जनाइएको छ । उक्त स्थानीय तह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’ मा सूचीकृत गाउँपालिका हो । सेन्टरमार्फत् प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका काम कारबाहीबारे जिज्ञासा तथा सरोकारवालालाई जानकारी दिइने र गुनासाको सुनुवाइ गरी तत्काल समस्या समाधानमा पहल गरिने गाउँपालिकका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार सेन्टरको सञ्चालनबाट गाउँपालिकास्थित निकायका कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह भई सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने अपेक्षा गरिएको छ । यस्तै दैनिकरूपमा प्राप्त हुने गुनासालाई सुनुवाइ गरी तत्काल सम्बोधन गर्न, जानकारी लिन वा गुनासो सेन्टरबाट सम्बद्ध निकायमा सम्पर्क एवं समन्वय गर्न र सम्बन्धित निकायले समेत तत्काल सम्बोधन गरे/नगरेको विषयमा गाउँपालिकाबाट नियमित अनुगमन एवं ताकेता गर्न सकिने व्यवस्था मिलाइएको थिङले बताए । यसका लागि गाउँपालिकाको केन्द्रस्थान साल्मेचाकलमा सेवाग्राहीले सेन्टरका निःशुल्क फोन तथा सेन्टरको क्युआर कोड स्क्यानमार्फत् निःशुल्क गुनासो गर्न सकिने व्यवस्था गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही साताबाट श्रम तथा रोजगारसँग सम्बन्धित नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमाधान’ अभियानअन्तर्गत ‘सेकेन्ड इनिङ्स’, रोजगार बैंक, समता, कनेक्ट, साथ, कल सेन्टर, पेसागत यात्राको सहयात्रीलगायत कार्यक्रम अभियानकारूपमा लैजाने योजना सुरुआत गरेको छ ।
महानरपालिकाको श्रम बैंकबाट ४ सयले पाए रोजगारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए । उनका अनुसार रोजगार पाउनेमा स्थानीय र केही भाडामा बसोबास गर्ने व्यक्तिको निवेदन प्राथमिकतामा परेको छ । व्यक्तिको कार्यक्षमताका आधारमा दैनिक ज्यालामा रोजगार दिने गरिएको उनले बताए । ‘कार्यालयमै आएर फाराम बुझाउनेहरु थुप्रै हुनुहुन्छ’, उनले भने, ‘यद्यपि श्रमप्रतिको सम्मान भाव नभएका कारण अझै रोजगार खोज्दै आउने युवाको जमात थोरै देखिन्छ ।’ अनलाइन फाराम भर्ने भनिए पनि भौतिक उपस्थिति अनिवार्य भएकाले बैंकसम्म आउनेको सङ्ख्या तुलनात्मकरुपमा थोरै भएको उनको बुझाइ छ ।
अर्बौँको लगानी रहेका होटलमा २५ हजार श्रमिकले पाए रोजगारी
गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध छन् । अर्बौँको लगानी रहेका ती होटलमा झण्डै २५ हजार श्रमिकले रोजगारी पाएको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । उनका अनुसार अधिकांश मझौला तथा साना होटल महासङ्घमा समेटिएका छन् । ‘पोखराको लेकसाइडबाहेक अन्यत्रका पर्यटकीयस्तरीय होटल पनि महासङ्घमा आबद्ध छन्’, उनले भने, ‘सबैभन्दा बढी नवलपुरमा करिब दुई हजार होटल व्यवसायी महासङ्घमा जोडिएका छन् ।’ कोभिड–१९ महामारीका बेला गरिएको जिल्लागत अध्ययनले आठ हजार बढी होटल गण्डकी प्रदेशमा सञ्चालनमा रहेको पाइएको अध्यक्ष चोखालले बताए । ‘आतिथ्य सेवामा झण्डै २५ हजार जनशक्ति परिचालित रहेको हाम्रो अनुमान छ’, उनले भने, ‘कोभिड–१९ का बेला केही मात्रामा श्रमिकको कटौती भए पनि पर्यटकीय क्षेत्रमा नयाँनयाँ होटल खुलिरहेकाले रोजगारी पनि थपिएको छ ।’ पर्यटकीय राजधानी पोखरामा रहेका पृथ्वी होटल व्यवसायी समिति, पोखरा नगर रेष्टुराँ एण्ड बार एशोसिएसनलगायत संस्था पनि महासङ्घमा आबद्ध छन् । महासङ्घअन्तर्गत पोखराका झण्डै एक हजार चार सय होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध रहेको अध्यक्ष महासङ्घ गण्डकी प्रदेशका महासचिव देवेन्द्र लम्सालले जानकारी दिए । सबैभन्दा कम बागलुङमा एक सय ३० होटलले सेवा दिइरहेको उनको भनाइ छ । ‘केही पुराना व्यवसायी विस्थापित भए पनि आतिथ्य सेवामा लगानी आकर्षण बढ्दै गएको छ, यसबाट देशभित्रै रोजगारी सिर्जनामा योगदान पुगेको छ’, महासचिव लम्सालले भने । उनले होटलको लगानी प्रवर्द्धनसँगै कार्यरत कर्मचारीको सीप विकास र व्यावसायिक सुरक्षाका लागि महासङ्घले योजना बनाएर काम थालेको बताए । स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहमा प्रदेशभरिका होटल व्यवसायी तथा कर्मचारीलाई सक्षम बनाउन क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको महासचिव लम्सालले बताए। महासङ्घ र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा कालीगण्डकी करिडोरअन्तर्गतका जिल्लालाई समेटेर नवलपुर तथा म्याग्दीमा तालिम सम्पन्न भइसकेको जनाइएको छ । मस्र्याङ्दी करिडोरमा पर्ने तनहुँमा यही महिनाको अन्तिम साता तनहुँ र जेठ दोस्रो साताभित्र हिमालपारिको जिल्ला मनाङमा क्षमता अभिवृद्धि तालिम आयोजना गरिने महासङ्घले जनाएको छ । ‘होटलमा कार्यरत जनशक्तिको समयसापेक्ष सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन भइरहेको हो’, अध्यक्ष चोखालले भने, ‘तालिमले होटलको सेवा थप गुणस्तरीय र मर्यादित हुने अपेक्षा लिइएको छ ।’ गण्डकी प्रदेशको राजधानी सहर पोखरा पर्यटनकोसमेत राजधानी घोषणा भएका सन्दर्भमा यहाँ सञ्चालित होटलले पर्यटकमैत्री सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ छ । धार्मिक पर्यटनका हिसाबले पनि गण्डकी प्रदेश महत्त्वपूर्ण रहेको भन्दै उनले पर्यटक आवागमनको वृद्धि सँगसँगै होटलहरूले आफ्नो आन्तरिक क्षमता र सेवाको गुणस्तर बढाउनुपर्ने बताए । तालिममा खाद्य स्वच्छता, सरसफाइ, पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको व्यवसायीकरणलगायतका विषयमा विज्ञहरूले तालिम दिने महासङ्घका महासचिव लम्सालले बताए । रासस