मार्चमा दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो

कोरिया । मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार र श्रम मन्त्रालयको तथ्याङ्क अनुसार रोजगार खोज्नका लागि मार्चमा नयाँ आवेदकहरूको सङख्या एक लाख ३० हजार ८०० पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले कमी हो । फेब्रुअरीमा दोहोरो अङ्कमा झरेको यो सङ्ख्या लगातार दोस्रो महिना पनि तल झरेको हो । शिक्षा सेवा, उत्पादन, थोक तथा खुद्रा उद्योगमा लाभग्राहीको अवस्थामा कमी आएको छ । तर वित्त, बिमा, सूचना तथा सञ्चार क्षेत्रमा भने गत महिनाको तथ्याङ्कमा वृद्धि भएको छ । बेरोजगारीको अत्यधिक सङ्ख्यालाई लिएर रोजगारी खोज्न मद्दत गर्न सरकारले रोजगारी खोज्न सघाउने प्रस्ताव गरेको छ । यो कार्यक्रम राज्यको रोजगार बिमा कोषद्वारा वित्त पोषित छ । रोजगार प्राप्तकर्ताहरूको सङ्ख्या मार्चमा छ लाख ५४ हजार ६०० थियो । जुन एक वर्ष अघिको समान अवधिको तुलनामा तीन प्रतिशतले कम हो । यसले १४ महिनाको पहिलो गिरावटलाई अङ्कित गरेको छ । कूल रोजगारी प्राप्तिको अवस्था ६.२ प्रतिशतले घटेर ९६९.६ अर्ब वोन (७१६.७ मिलियन अमेरिकी डलर) मा झरेको छ । रासस

वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई साढे २ करोड क्षतिपूर्ति

दमौली । वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरूप दुई करोड ३१ लाख रुपैयाभन्दा भन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरूप उक्त रकम प्राप्त गरेका हुन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरूले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले जानकारी दिइन् । उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले ६१ लाख ९१ हजार, भानु नगरपालिकाका १६ जनाले एक लाख २० हजार, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले ११ लाख, म्याग्दे गाउँपालिकाका २२ जनाले ४५ लाख ५० हजार, भिमाद नगरपालिकाका २५ जनाले ६४ लाख ७९ हजार, बन्दीपुर गाउँपालकाका ११ जनाले दुई लाख, देवघाट गाउँपालिकाका ११ जनाले २१ लाख, आँबुखैरेनी गाउँपालिकाका चार जनाले ५० हजार, ऋषिङ गाउँपालिकाका १४ जनाले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । तनहुँबाहेक अन्य ठाउँका सात जनाले २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, ६ जेल, १२ करार उल्लंघन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए । रानाले भनिन्, ‘आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो ।’ सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको उनको भनाइ छ । ६ हजार बढीलाई परामर्श कार्यक्रममार्फत हालसम्म ६ हजार ६ सय ९१ जनालाई परामर्श प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा जानुपूर्व सुरक्षित रूपमा जानका लागि सर्वसाधारणलाई आवश्यक परामर्श प्रदान गरिएको छ । रानाका अनुसार व्यासका एक हजार चार सय ५६, शुक्लागण्डकीका एक हजार ७३ तथा भानु नगरपालिकाका एक हजार १४, म्याग्देका पाँच सय १७, भिमादका छ सय ७१, बन्दीपुरका तीन सय ९९, देवघाटका तीन सय चार, घिरिङका तीन सय ८३, ऋषिङका पाँच सय ५४ र आँबुखैरेनी गाउँपालिकाका तीन सय २० जनालाई परामर्श सेवा दिइएको छ । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ । जिल्लाका व्यास, भानु र शुक्लागण्डकी नगरपालिकाका साथै म्याग्दे, भिमाद, देवघाट र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएकामा यो प्रभावकारी बनेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘सामी कार्यक्रमलाई अबको आर्थिक वर्षदेखि स्थानीय तहले सञ्चालन गर्नुपर्ने अवस्था आउन लागेको छ । यो कार्यक्रम निकै प्रभावकारी बनेकाले त्यसका लागि हामी तयार छौँ ।’ गण्डकी प्रदेशका जिल्लामध्ये वैदेशिक रोजगारीमा जाने तनहुँ उच्च जिल्ला रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन यो कार्यक्रमले सहयोग पुगेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले बताए । उनका अनुसार चालु आव तनहुँबाट श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या १३ हजार नौ सय ५१ छ । त्यसमध्ये महिलाको सङ्ख्या एक हजार तीन सय ९० छ । उनले भने, ‘गरिबी र वैदेशिक रोजगारमा आकर्षणले विदेश जानेको सङ्ख्या बढ्दो छ । यसलाई रोक्न सक्ने अवस्था छैन तर वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सबै ज्ञान लिएर मात्रै जानुपर्छ । नत्रभने पछि समस्या आउन सक्छ ।’ रासस

स्नातक छोरी बुहारीलाई सूर्योदय नगरपालिकाले रोजगारी दिने

इलाम । सूर्योदय नगरपालिका–१, बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । ‘कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे । नगरपालिकाले पढायो’, शाहले भनिन्, ‘जागिरको खोजीमा थिएँ, पालिकाले नै शिक्षकको जागिर दिएको छ । आजदेखि पढाउन थालेँ ।’ बिहीबारदेखि महेन्द्रोदय विद्यालयमा अध्यापन सुरु गरेको उनले सुनाइन् । शाह मात्र होइन नगरपालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण गरेकाले बिहीबारदेखि रोजगारी पाएका छन् । ‘नगरको इच्छा,छोरीबुहारीलाई शिक्षा’ नाराका साथ कर्फोक क्याम्पसमा निःशुल्क स्नातक पढाइ सुरु भएको पाँच वर्ष भएको छ । ‘हालसम्म १५३ छोरीबुहारीले स्नातक तहको अध्ययन गरिसकेका छन् भने तीमध्ये २३ जनाले उत्तीर्ण गरेका छन्’, नगरप्रमुख रणबहादुर राईले भने, ‘उत्तीर्ण भएकालाई नगरपालिकामा रोजगारी दिन निवेदन माग गरेकोमध्ये १५ जनाको आवेदन प्राप्त भयो । उहाँहरुलाई बिहीबारदेखि एक सय दिनको रोजगारीका लागि यहाँका विभिन्न विद्यालय र अन्य कार्यालयमा खटाइएको छ ।’ विद्यार्थीले पढेको विषय र उनीहरूको योग्यताअनुसार नगरपालिकाले रोजगारी दिएको हो । दुई जनालाई वडा कार्यालय, एक जनालाई नगरको शिक्षा, युवा तथा खेलकुद शाखा, एक जनालाई प्रसूति तथा बाल क्लिनिक र बाँकी सबैलाई विभिन्न विद्यालयमा खटाइएको छ । उनीहरूले खटाइएका ठाउँमा सय दिन काम गर्नेछन् । नगरप्रमुख राईले छात्रवृत्तिमा स्नातक उत्तीर्ण महिलालाई प्रोत्साहन गर्न छोटो समयका लागि भए पनि रोजगारी दिइएको बताए । ‘बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको हो’, प्रमुख राईले भने, ‘छात्रवृत्तिमा अध्ययन गरेका छोरीबुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरीबुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको छ ।’ राईले रोजगारीको अवसर छोटो समयका लागि भए पनि उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सहयोग गर्न सहयोगी बन्ने बताए । ‘स्नातक गरेका छोरीबुहारीलाई रोजगारीका कार्यक्रमले थप मद्दत पुग्नेछ,’ उनले भने, ‘उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग पाउने छ ।’ नगरपालिकामा बसोवास गर्ने परिवारका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई नगरपालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगर प्रमुख राईले बताए । ‘कानुनी रूपमा उमेर पुगे पनि २०–२२ वर्षका छोरीहरु विवाह होइन पढाइप्रति नै ध्यान दिनुपर्छ । उनीहरुलाई पढाइप्रति नै आकर्षित गर्नुपर्छ भनेर यो कार्यक्रम कार्यक्रम कार्यान्वयन गरिएको हो,’ उनले भने । नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटरलगायत विद्यार्थीको जुन विधामा योग्यता छ, त्यसैमा रोजगारी दिइएको बताए । ‘कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन गरेका छौं,’ उनले भने । यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरीबुहारीको सङ्ख्या दुई सय पुगेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले बताए । नगरपालिकाबाट छात्रवृत्ति पाएका छोरीबुहरी करफोक क्याम्पसमा विविध विषयमा अध्ययन गरिरहेका छन् । क्याम्पस प्रमुख कट्टेलले नगरपालिकाको छात्रवृत्ति कार्यक्रमका माध्यमबाट ग्रामीण भेगका छोरीबुहारीले क्याम्पस पढ्न पाएका बताए । ‘आर्थिक अवस्था सबल नभएका गाउँका छोरीबुहारीलाई छात्रवृत्ति कार्यक्रमले क्याम्पससम्म ल्याएको छ’, उनले भने, ‘छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप सय दिनको रोजगारी पनि हुने भएपछि छात्राहरूलाई प्रोत्साहन मिलेको छ ।’ करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबिए, बिबिएच र बिएड अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्ला बाहिर रहेकाले १५ जनाले मात्र सय दिनको रोजगारी लिएका नगरपालिकाको शिक्षा शाखा प्रमुख भट्टराईले बताए । शिक्षा क्षेत्रमा नगरपालिकाले गरेको लगानी परिणाममुखी भएको विद्यार्थीले बताएका छन् । गोर्खेकी सुजता बजगाईंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक गर्ने भन्ने चिन्ता थियो तर उनलाई नगरपालिकाले पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी सुजता ‘नगरको इच्छा छोरीबुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा नै स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरहेकी छन् । ‘परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ’, सुजताका बुबा प्रेमले भने, ‘हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक तहमा पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह गर्नुपर्नेलगायत समस्याबाट मुक्त हुन पालिकाको यो काम उदाहरणीय मात्र होइन प्रशंसनीय छ ।’ रासस