नेपाल राष्ट्र बैंकले माग्यो ६७ जना कर्मचारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । केन्द्रिय बैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी मागेको हो । बैंकले प्रशासनतर्फ अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदका लागि १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ सहायक निर्देशक पदकै लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जना सहायक निर्देशक मागेको हो । यस्तै, सहयाक द्धितिय स्तरको सहायक पदका लागि २० जना, कानुनतर्फ ४ जना र सूचना प्रविधि पदमा ११ जना कर्मचारी मागेको हो । रिक्त रहेका उक्त पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्ने राष्ट्र बैंकले जनाएको छ । योग्य नेपाली नागरिकहरूले आज पुस ६ गतेदेखि अनलाइन माध्यममार्फत दरखास्त फाराम पेश गर्नु पर्नेछ । पुस २६ गतेसम्म तोकिएको दस्तुर र माघ ४ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ ।
१५ हजार युवालाई सफ्टवेयर डेभलपमेन्ट तालिम दिँदै महानगर, ५ हजारलाई स्वरोजगार बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु गरेको छ । चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत महानगरले ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने भएको छ । तीमध्ये ५ हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको महानगरले बताएको हो । राष्ट्रिय सभा गृहमा तालिम शुभारम्भ गर्दै सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भने, ‘काठमाडौँ कोही पनि युवाले बेरोजगार बस्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । हामीले प्रदान गरेको निःशुल्क तालिम रोजगारमूलक तथा स्वरोजगारमूलक हो । हामी युवालाई आफैँ उद्यम गर्न सक्षम बनाउँछौँ । रोजगार क्षेत्रमा जान चाहनेलाई योग्य बनाउँछौं ।’ तालिमबाट व्यक्तिमा भएको सिप रोजगारका लागि योग्यता मापन गर्न सक्ने क्षमता हुनेछ । कार्यक्रममा समितिका सदस्य महेश नेपालीले भने, ‘क्षमता भएका तर योग्यताका लागि पेश गर्नु पर्ने प्रमाण पत्र नभएका युवालाई तालिमबाट प्रतिस्पर्धी र योग्य जनशक्ति बनाउँछौं । यसरी सिकेको सिप स्वरोजगारबाट आयमा रुपान्तरण गर्न सकिनेछ ।’ त्यस क्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले महानगर गौरव र स्वर्णिम योजनाबाट अपेक्षा गरिएको उपलब्धीका विषयमा चर्चा गर्दै, तालिमबाट बजारका लागि प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य पूरा गराउन कार्यक्रम थालनी भएको उल्लेख गरे । पहिलो ब्याचको तालिमको नतिजा अन्य तालिममा पनि प्रतिबिम्बित हुने भएकोले यसलाई सफल बनाउन प्रशिक्षक र प्रशिक्षार्थी दुवैको समान भूमिका हुने उनको भनाइ थियो । प्रशिक्षार्थीको सक्रियताले नतिजा मापन हुने उल्लेख गर्दै कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख बिमला कोइरालाले भनिन्, ‘महानगरपालिकाले तालिम दियो । कस्तो हुँदो रहेछ हेरौँ भनेर तालिम लिने होइन । लिएको तालिमबाट म केही गर्छु भन्ने सोच राख्नुपर्छ । यसकारण तपाईँहरुको इच्छाशक्तिलाई सक्रिय बनाउनुपर्छ ।’ २ महिने तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए । उनीहरुमध्ये सूचकका आधारमा छानिएका ४० जनालाई २ सिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको फोकल पर्सन शान्ता पहाडीले जानकारी दिइन् । सफ्टवेयस विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सिप प्रदान गर्नु हो । १२५ घण्टे यो तालिममा ७५ घण्टा अन द जब तालिममा आधारित हुन्छ । सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ । कम्प्युटर बिज्ञान, सूचना प्रविधि, इञ्जिनियरिङ्जस्ता विषयमा भर्खर स्नातक तह उत्तीर्ण गरेका, अन्य गैर प्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीब्र इच्छा भएका कोडिङ् तथा प्रविधिको विकासमा लाग्न जोश भएका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको छ । मोडलिङ्, व्रेम स्ट्रमिङ्, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामुहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन् । प्रोग्रामिङ्को आधारभूत ज्ञान, कम्प्युटर साक्षरता, तालिम लिएर केही गर्न सक्छु भन्ने प्रतिवद्धता, अंग्रेजी भाषाको ज्ञान भएका, इन्टरनेट र व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा पहुँच भएका आवेदकलाई तालिममा छनोट गरिएको हो । यसरी तालिम पाएका ९० प्रतिशत सहभागी रोजगारी क्षेत्रमा गएको वा स्वरोजगार भएको, रोजगारमा गएकाहरुको कार्य सम्पादनबाट रोजगारदाता सन्तुष्ट भएको, अहिलेभन्दा ५० प्रतिशत बढी आम्दानी गर्न थालेको तालिम सफलताको सूचकका रुपमा राखिएको छ । सिपमूलक तालिमका ३४ बिधामध्ये १० विधामा सरकारी तालिम प्रदायक कार्यालयसँगको सहकार्य हुनेछ । यसमा इलेक्ट्रिसियन, प्लम्बरिङ्, कम्प्युटर हार्डवेयर, मोटरसाइकल मर्मत तालिम, हलुका सवारी साधन मर्मत तालिम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) सँगको सहकार्यमा हुनेछ । यस्तै फास्टफुड, चाइनिज, इन्डियन कुकिङ्, बारिस्ता, बार टेन्डिङ् वेटर वेट्रेस र पर्यटक पथ प्रदर्शक (टुरिष्ट गाइड) तालिम नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसँगको सहकार्यमा हुनेछ । तालिमबाट उत्पादन भएका जनशक्तिलाई अवसर प्रदान गर्ने विषयमा यस अघि उद्योग तथा वाणिज्य क्षेत्र, विकास साझेदारसहित क्षेत्रगत छलफल भइसकेको छ । यसरी तालिम दिएका युवालाई अर्को स्वर्णिम योजना ‘श्रम वैङ्क’ मा आवद्ध गराएर रोजगारदातालाई आवश्यक परेका जनशक्ति प्राप्त गर्न सक्ने व्यवस्था मिलाइनेछ । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका), सिप नजानेका, सिप जानेका तर स्तरोन्नति गर्नुपर्ने अवस्थामा रहेका व्यक्ति तालिमका लक्षित वर्ग हुन् । तालिमका लागि सार्वजनिक सूचनामार्फत आव्हान गरिएको थियो । तालिम लिन इच्छुकले कुनै न कुनै विधामा अवसर प्राप्त गर्न सकनु भनेर फाराम भर्दा आफूलाई रुचि लागेको क्षेत्रमध्ये पहिलो रुचि भएको विधालाई १ त्यसपछिा दोस्रो रुचिको क्षेत्रलाई २ गर्दै क्रमशः ३, ४ र ५ नम्बर दिन लगाइएको छ । यसमा आफूले राजेका ५ विधामध्ये कुनै न कुनै विधामा तालिम प्राप्त गर्न सकिन्छ ।
सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार
पर्सा । बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् । आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्टले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन । कोरिडोमा सञ्चालित १२ उद्योग मध्ये चारवटा बन्द भएका छन् । बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष एवं श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले जानकारी दिए । उनले बैंकहरुको बढ्दो व्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुगतानी नगरिएका कारण समस्या उत्पन्न भएको हो । सिमेन्टको माग घट्दै गएकाले पनि उद्योगहरु बन्द भएका अधयक्ष अग्रवालले बताए। भारतले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रति टन रु एक हजार कर लिँदै आएको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उनको भनाइ छ । नेपाली सिमेन्ट उद्योगले वर्षौँदेखि माग गर्दै आएकोे भारतीय गुणस्तर चिन्ह बिआइएस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने तथा यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरुको भनाइ छ । रासस