भारतको हिमाञ्चलमा सबैभन्दा बढी ३३.९ प्रतिशत बेरोजगारी दर, कम गुजरातमा ७.१

एजेन्सी । राष्ट्रिय नमुना सर्वेक्षण कार्यालय (एनएसएसओ) ले देशका विभिन्न राज्यमा युवा बेरोजगारीको तथ्यांक सार्वजनिक गरेको छ । एनएसएसओले जारी गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष दोस्रो त्रैमासिकमा १५ देखि २९ वर्ष उमेर समूहका बीचमा हिमाञ्चल प्रदेशमा ३३.९ प्रतिशत बेरोजगारी दरका साथ सहरी क्षेत्रमा अग्रस्थानमा रहेको छ भने राजस्थान ३०.२ प्रतिशतका साथ दोस्रो स्थानमा रहेको छ । यो तथ्य एनएसएसओको सन् २०२३ जुलाई–सेप्टेम्बर त्रैमासिकको श्रम बल सर्वेक्षण (पीएलएफएस) डाटाबाट प्रकाशमा आएको हो । देशका २२ राज्यमा गरिएको सर्वेक्षणअनुसार समीक्षा अवधिमा १५–२९ उमेर समूहका युवाहरूमा सबैभन्दा कम बेरोजगारी दर गुजरातमा ७.१ प्रतिशत रहेको छ भने नयाँदिल्लीमा ८.४ प्रतिशत रहेको छ । एनएसएसओले आफ्नो पहिलो त्रैमासिक श्रम बल सर्वेक्षण २०१७ अप्रिलमा गरेको थियो । यो हरेक चौमासिकमा जारी हुन्छ । सर्वेक्षणअघि सात दिनको गतिविधिको अवस्थालाई वर्तमान साप्ताहिक स्थिति (सीडब्ल्यूएस) भनिन्छ । तथ्यांकले २०२३ जुलाई–सेप्टेम्बर त्रैमासिकमा देशका सहरमा १५–२९ वर्ष उमेर समूहमा कुल बेरोजगारी २२.९ प्रतिशत रहेको देखाएको छ भने महिलामा १५.५ प्रतिशत रहेको छ । हिमाञ्चल प्रदेशमा पनि महिला बेरोजगारी चरम सीमामा सर्वेक्षणअनुसार सहरी क्षेत्रमा १५–२९ वर्ष उमेर समूहका महिलाहरूमा बेरोजगारी दर पछिल्लो त्रैमासिकमा हिमाञ्चल प्रदेशमा सबैभन्दा बढी ४९.२ प्रतिशत रहेको हुँदा पुरुषहरूको बेरोजगारी दर २५.३ प्रतिशत छ । राजस्थानका सन्दर्भमा यो त्रैमासिकमा सहरका महिलाहरूमा बेरोजगारी दर ३९.४ प्रतिशत छ। जबकि, पुरुषहरूमा २७.२ प्रतिशत थियो। बेरोजगारी दरलाई श्रम बलमा बेरोजगार व्यक्तिहरूको प्रतिशतका रूपमा परिभाषित गरिएको छ। जम्मू र कश्मीरले पनि सहरी क्षेत्रमा यस उमेर समूहमा बेरोजगारीको उच्च दर २९.८ प्रतिशत रेकर्ड गरेको छ । यो त्रैमासिकमा महिलाको बेरोजगारी दर ५१.८ प्रतिशत रहेको छ भने पुरुषको बेरोजगारी दर १९.८ प्रतिशत रहेको छ । हालको साप्ताहिक अवस्थाअनुसार देशका सहरहरूमा १५ देखि २९ वर्ष उमेर समूहका कुल बेरोजगारी १७.३ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

समता घरेलु लघुवित्तमा रोजगारीको सुनौलो अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले व्यवस्थापकीय अधिकृतका लागि केही, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाईजर, बरिष्ठ सहायक, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीहरु माग गरेको हो । कम्पनीले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।  

नेपाल आयल निगमले माग्यो ३१ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । निगमले विभिन्न पदमा ३१ जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको हो । निगमले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३१ कर्मचारी माग गरेको हो । जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियन लगायतका पदमा कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।