सीआईटीबाट बाहिरिए रमण नेपाल, नयाँ कार्यकारी निर्देशक खोजिँदै

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि बाहिरिएका छन् । वि.सं. २०७५ कात्तिक २५ गते कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका नेपाल ५ वर्षे कार्यकाल सकिएपछि कोषबाट बाहिरिएका हुन् । नेपालको कार्यकाल सकिएपछि कोषले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । कोषले मंगलबार एक सूचना जारी गर्दै रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरेको छ । कोषको कार्यकारी निर्देशक बन्न नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ । त्यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने सूचनामा उल्लेख छ । उक्त मापदण्ड अनुसार योग्यदा पुगेका आवेदकहरुले निवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नु पर्नेछ । प्राप्त आवेदन मध्ये बढीमा ५ जनाको नाम सर्टलिस्ट गरिने र सर्टलिस्टमा छनौट भएका उम्मेदवारले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नु पर्ने छनौट समितिले जनाएको छ । दोस्रो चरणमा अन्तिम ३ जनाको नाम अर्थ मन्त्रालय समक्ष सिफारिस गरिने सूचनामा उल्लेख छ । इच्छुक नेपाली नागरिकहरुले २१ दिन अर्थात् मंसिर ११ गतेसम्म आवेदन पेश गर्न कोषले आग्रह गरेको छ ।

नेपाली सेनामा २ सय २९ जनालाई जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले कर्मचारीको माग गरेको छ । नेपाली सेनाले २२९ जना कर्मचारीको माग गरेको हो । रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो । कार्यालयकाअनुसार कुल २२९ जनामध्ये १२ जना सैनिक तालिम तथा आफ्नो कर्तव्य गर्दा कुनै चोट लागेर सोही कारणबाट अशक्त भएका वा कर्तव्य पालना गर्दागर्दै मृत्यु भएका नेपाली सैनिकका सन्ततीबाट पदपुर्ति गरिने सेनाले जनाएको छ । त्यस्तै, १२२ जनालाई खुल्लातर्फ, १७ जना महिला समूहतर्फ, ३३ जना आदिवासी तथा जनजातीतर्फ, २७ जना मधेशीतर्फ, १५ जना दलिततर्फ र ३ जना पिछडिएको क्षेत्रतर्फबाट पदपूर्ति गरिने जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिने जनाएको छ ।

विदेशबाट फर्की स्वरोजगार बनेका भोजपुरका सुमन

भोजपुर । सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ । तुलानात्मकरूपमा हेर्ने हो भने सवारी साधनको क्षेत्रमा काम गरेर धेरै मानिस स्वरोजगार बनेको देख्न सकिन्छ । खास गरेर युवावर्गलाई सवारी साधन चलाउन सिक्ने बढी चाहना हुन्छ तर भोजपुरवासीलाई सवारी साधन चलाउन सिक्न भने त्यति सहज छैन । उनीहरुलाई सवारी साधन चलाउने सीप आर्जन गर्न जिल्ला बाहिरका सहरमा जानुपर्ने बाध्यता छ । यसरी सीप लिनको लागि बाहिर जाँदा धेरै खर्च हुन्छ । भोजपुरवासीले भोगेको दुःखलाई ध्यानमा राखेर वैदेशिक रोजगारीबाट फर्किएका युवा सुमन प्रधानले आफू स्वरोजगार बन्ने र अरुलाई पनि स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले ड्राइभिङ सेन्टर सञ्चालन गरेपछि स्थानीयवासीलाई सहज भएको छ । विदेशमा दुई वर्ष बिताएर आएका उनले सीपको अभावमा मलेसियामा नेपालीले पाएको दुःख देख्न नसकेर आफ्नै गाउँमा फर्केर पहिलो पटक यो काम सुरु गरेको बताए । मानिसलाई सहजरुपमा जीवनयापन गराउने आधार नै सीप हो’, उनले भने, ‘सीप भएको मानिसले जहाँ पनि आफ्नो क्षमता देखाएर खानसक्छ । विदेशमा पनि सीपका कारण धेरैले दुःख पाएको देखेँ । त्यहाँका नेपालीले भोगेको दुःख बुझेरै सवारी साधन चलाउने सीप प्रदान गर्दै आएको छु ।’ योसँगै आफूले टेम्केमैयुङ–२ कृषि समूह गठन गरेर छिनामखुमा व्यावसायिकरूपले सुन्तला खेतीसमेत गर्दै आएको व्यवसायी प्रधानले बताए। उनले भने, ‘मेरो अगुवाइमा कृषि समूह गठन गरेर अरुलाई पनि यसमा समेटेको छु । विदेशमा गएर दुःख गर्नुभन्दा यही नै फरक ढङ्गले काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’ कृषिबाट बाँकी रहेको समय सदुपयोग गर्दै व्यवसायी प्रधानले पाँच वर्षअघिदेखि पाथीभरा ड्राइभिङ सेन्टर खोलेर स्थानीयवासीलाई दुई पाङ्गे्र, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन चलाउन सिकाउँदै आएका छन् । ‘विदेशमा धेरै दुःख गरियो । त्यहाँ गर्ने मेहनत यहीँ गर्ने हो भने राम्रो आम्दानी हुने रहेछ’, व्यवसायी प्रधानले भने, ‘आफ्नै ठाउँमा फरक केही काम गरेर उदाहरणीय बनौँ भनेर जिल्लामै पहिलो पटक यो काम थालेको हुँ । मैले सीप सिकाएका धेरै जना आफैँ स्वरोजगार बनेर काम गरिरहेका छन् । यहाँ सीप सिकेर वैदेशिक रोजगारीमा गएका दुई जनाले ड्राइभिङ गरेर राम्रो तलब खाँदैछन् ।’ भोजपुर नगरपालिका–५ मा वार्षिक रु ७५ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर सीप सिकाउँदै आएको तर यो सेन्टर सञ्चालन गरे पनि त्यसलाई धान्न भने समस्या रहेको उनको भनाइ थियो । उनको भनाइ थियो । ‘सीप लिनका लागि स्थानीयवासीलाई धेरै खर्च गरेर बाहिर जानुपर्ने समस्या अन्त्य भएको छ’, प्रधानले भने, ‘तर सानो ठाउँ भए पनि व्यवसाय धान्न भने निकै सकस भएको छ । यस्ता सीपमूलक काम गर्ने मानिसलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।’ हालसम्म जिल्लाका सात सयभन्दा बढीलाई सवारी साधन सञ्चालनसम्बन्धी सीप दिलाएका प्रधानले भोजपुरजस्तो सानो ठाउँमा सञ्चालन गरेको यो व्यवसायबाट आफूले पनि सीप सिक्न पाउँदा खुसी लागेको अरुण गाउँपालिकाका युवा सचिन भुजेलले बताए । आफ्नै ठाउँमा सीप सिक्न पाउँदा धेरै खर्च गरेर धरान, इटहरी, विराटनगरलगायत सहरमा जानुपर्ने बाध्यता हटेको र यही सीप सिकेर अहिले आफू स्वरोजगार बनेको उनको भनाइ थियो। ‘जिल्लामै सीप सिकेर स्वरोजगार बनेको छु’, सचिनले भने, ‘सीप सिकेर अहिले गाउँपालिकाको गाडी चलाउँदै आएको छु । आफ्नै ठाउँमा सीप लिन नपाएको भए यो सम्भव थिएन । सीपले मलाई जीवन गुजारा गर्न सहज बनेको छ । मजस्ता धेरै साथीले आफ्नो खाएर घर पाएकमै सीप लिन पाएका छौँ ।’ रासस ।