नगरपालिकाले ल्यायाे कर छुटको योजनाः रोजगारी सिर्जना गर्ने उद्योगलाई ५० प्रतिशत छुट
बागलुङ । बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट दिने भएको छ । सोमबार सम्पन्न छैँटौँ नगरसभाले स्थानीय स्रोत, साधनको प्रयोग गरी सञ्चालन हुने उद्योग, व्यवसायलाई करमा सहुलियत दिने निर्णय गरेको हो । नगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी सिर्जना गर्ने गरी खोलिने होटललगायत सेवा तथा उत्पादनमूलक उद्योगमा लाग्दै आएको वार्षिक करमा पाँच वर्षसम्मलाई ५० प्रतिशत छुट दिने भएको हो । यस्तै उद्योग, व्यवसायका लागि बन्ने भवनको नक्सापास दस्तुरमा पूरै छुट दिने निर्णय गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्माले जानकारी दिए । “उद्योग बन्ने ठाउँमा सडक, खानेपानी, बिजुलीलगायतका सुविधा पुर्याउन पनि नगरपालिकाले विशेष सहयोग गर्छ”, उनले भने । नेपाल भ्रमण वर्षसँगै नगरपालिकाले घोषणा गरेको बागलुङ भ्रमण वर्ष–२०७७ लाई लक्षित गरी सेवामूलक उद्योगको प्रवद्र्धन गर्न नगरपालिकाले कर छुटको योजना ल्याएको छ । उद्योग, व्यवसायमैत्री वातावरण सिर्जना गरी नगरको आर्थिक विकासलाई गति दिइने नगरपालिकाले जनाएको छ । छुट योजनाले लगानीकर्ता आकर्षित हुने विश्वास लिइएको छ । जिल्लामा हाल स–साना घरेलु तथा मझौला उद्योग सञ्चालनमा रहे पनि ठूलो रोजगारी सिर्जना गर्ने खालका उद्योग छैनन् । सरकारको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को लक्ष्यअनुरुप सो नगरपालिकाको पनि औद्योगिक ग्राम निर्माणको प्रक्रिया अगाडि बढेको छ । नगरसभाले नगर प्रहरीसम्बन्धी विधेयक–२०७६ लाई पारित गरेको छ । यस्तै वडा नं ६ सिमदेखि वडा नं ७ कालीमाटीसम्मको सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट प्राप्त बजेट रु ७५ लाखलाई नगरको कूल बजेटमा समावेश गर्ने निर्णय गरेको छ । योसँगै चालू आवमा नगरको बजेट रु एक अर्ब, तीन करोड ३२ लाख पुगेको छ । रासस
१५ जिल्लामा निःशुल्क सीप तालिमकाे आवेदन खुल्याे, ११ सय जनाको माग
काठमाडौं । व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले ७ वटा विषयमा देश भरिका जिल्लामा काम संचालन हुने भएको छ । देशभरिका १५ वटा जिल्लाको २६ ठाँउबाट प्रदान हुने सो तालिम ११ सयजनालाई प्रदान गर्ने केन्द्र भैंसेपाटीले जनाएको हो । मोबाइल फोन मर्मत, मेशिन, प्लम्बर, वेटर/वेट्रस, कार्पेन्टर, हाउस किपिङ्ग, कुकको तालिम व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले आगामी माघ २० गतेदेखि शुरु गर्दैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको उक्त प्रतिष्ठानले ३ सय ९० घण्टा तालिम अवधि छुट्याएको छ । उक्त तालिमका लागि न्यूनतम ५ कक्षादेखि ८ कक्षासम्म अध्ययन गरेका १८ वर्षदेखि ३० वर्षसम्मको व्यक्तिले आवेदन दिनसक्ने व्यवस्था रहेको छ । यस तालिमका लागि काठमाडौं, भक्तपुर, ललितपुर, झापा, रुपन्देही, सुर्खेत, दाङ, बारा, उदयपुर, बाँके, चितवन, सर्लाही, सुनसरी, कास्की, कैलाली जिल्लाका विभिन्न ठाँउमा तालिम दिने भएको छ । तालिम दिने सम्बन्धित गाउँपालिका, नगरपालिका र महानगर एवं उपमहानगरपालिकाको वडा कार्यालयमा प्रशिक्षार्थी फारम, नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि माघ १३ गतेसम्म पेश गर्नु पर्नेछ । रोजगार तथा स्वरोजगारमा उद्यम गर्ने लक्ष्यका साथ उक्त तालिम प्रदान गर्न लागेको हो । जुन एक ग्रुपमा १५ देखि २० जना प्रशिक्षार्थी राख्ने तालिम प्रतिष्ठानले जनाएको छ ।
वैदेशिक रोजगार सम्बन्धि ठगीको मुद्दा अब प्रहरी कार्यालयमा उजुरी दिन पाइने
काठमाडौं । वैदेशिक रोजगार सम्बन्धि आएका मुद्दालाई आगामी दिनमा प्रहरी कार्यालयमा उजुरी दिन पाइने भएको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीचको सहकार्यमा अब ठगीका उजुरीहरु प्रहरी कार्यालयबाट दिन मिल्ने व्यवस्था लागू भएको हो । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषण रहित वनाउन तथा वैदेशिक रोजगारको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न, त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न विभाग र नेपाल प्रहरीवीच समझदारी गरेको जानकारी दिएको छ । वैदेशिक रोजगार विभाग र प्रहरीबीच भएको सम्झौतापत्रमा वैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन निवारणका तथा आफ्ना क्षेत्राधिकारका विषयहरु सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पुर्यारउने तथा एकापसमा सहकार्य गर्ने भएको छ । वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न हुनेलाई कानूनको दायरामा ल्याउने छ । मानव वेचविखन सम्वन्धी मुद्दाका विषयमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागरमानव वेचविखन अनुसन्धान व्युरोको अनुसन्धान अधिकृतको सहयोग लिन सक्नेछ। श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको संलग्नतामा वा कार्यालयका प्रतिनिधि उपलब्ध हुन नसकेको अवस्थामा विभागको सूचनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत प्रतिनिधित्व रहनेछ । यस क्षेत्रमा नेपाल प्रहरीले त्यस्ता व्यक्ति वा संस्थाहरूको क्रियाकलापहरूको निगरानी गर्ने, सूचना सङ्कलन गर्ने तथा अनुसन्धान गरी स्पष्ट रुपले वैदेशिक रोजगार विभागको क्षेत्राधिकारमा पर्ने भएमा कागजात सहित विभागमा पठाउने छ। आफ्नो क्षेत्राधिकारको अवस्थामा नेपाल प्रहरीले अनुसन्धान तहकिकात गर्दा विभागको सहयोग चाहिने अवस्थामा विभागले संयुक्त अनुसन्धान गर्ने गरी अधिकृत कर्मचारी तोकी पठाउने छ ।