मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयमा माग राख्दै घिमिरे बसे अनसनमा

 काठमाडौं । युवा अभियन्ता श्रीराम घिमिरे मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयका माग राख्दै आमरण अनसनमा बसेका छन् । दुई बुँदे माग अघि सार्दै उनी शनिवार फाल्गुण १७ देखी शान्ति वाटिकामा आमरण अनसनमा बसेका हुन । उनले राज्यले २० रोपनी भन्दा कम जग्गा जमिन भएका नेपाली किसानलाई मलबिउ विजन निशुल्क ब्यवस्था र वैदेशिक रोजगारीमा गएर मृत्‍यु भएका मृतकका परिवारलाई २० लाख क्षतिपुर्ति, वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा घाईते हुन पुगेका नेपालीहरुलाई निशुल्क स्वास्थ्य उपचारको ब्यवस्थाका साथै पीडित परिवारको शिक्षा, स्वास्थ र रोजगारीको पूर्ण ग्यारेण्टि गर्नुपर्ने माग राखेका छन् । यो उनको तेस्रो आमरण अनसन हो । यस अघि उनी २०७४ साल कार्तिक ११ देखी १८ गते सम्म शान्ती वाटिकामा पहिलो पटक आमरण अनसन बसेका थिए । देशमा चुनावको माहौल र स्वास्थ अवस्थाका कारण उनले अनसन तोडेका थिए । त्यस्तै, दोस्रो पटक उनी माइतिघर मण्डलामा २०७५ साल फाल्गुण २५ गते आमरण अनसन बसेका थिए । तर प्रहरी हस्तक्षेपका कारण उक्त अनसन सोही दिन स्थगन भएको थियो । तेस्रो पटक अनसनमा बसेका घिमिरेले यो लडाईं समानताका लागि भएको बताउदै कुनै पनि हालतमा आफूले अघि सारेका माग पुरा गर्न आग्रह गरेका छन् ।

जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी : मन्त्री पोखरेल

भक्तपुर  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उनले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताएका हुन् । नामअनुसारले सिटीइभिटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सिटीइभिटीको काम हो भनी प्रश्नसमेत गरे । सिटीइभिटीका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले सिटीइभिटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, “सिटीइभिटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन, के सिटीइभिटी जागिर खाने थलोमात्रै हो ?” सिटीइभिटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनको भनाइ थियो । उहाँले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सिटीइभिटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति उत्पादन गर्न नसकेको बताए । सिटीइभिटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप गर्यो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै मन्त्री पोखरेलले भने, “जहिले पनि सिटीइभिटीलाई मन्त्रालयले हस्तक्षेप गर्यो भन्ने ? तपाइहरू भन्न सक्नुहुन्छ, मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्ताक्षेप गरेको छ ? मैले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन दिएको छैन ।” सिटीइभिटी आफू काम गर्न नसक्ने तर दोष मन्त्रालयलाई लगाउने गरेकामा रोष व्यक्त गर्दै मन्त्री पोखरेलले भने, “तपाइले एउटै कर्मचारीलाई जिम्मेवारीमा राख्नुभयो ? सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिएँ, कार्यका आधारमा कार्यदिशा तय गरी काम गर्न निर्देशन दिएँ तर लागू भएन ।” सिटीइभिटी सीप, शिक्षा, चरित्र सिकाउने थलो हो भन्दै मन्त्री पोखरेलले आफ्नो जिम्मेवारीप्रति ध्यान दिन निर्देशन दिए । कार्यक्रममा लामो समय काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । रासस

सभामुख र राजदुतको भेटः श्रम सम्झौतालाई अद्यावधिक गर्न कतार तयार

काठमाडौं । राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसफ बिन मोहम्मद अल हेलबीच आज भएको भेटमा युसुफले सो कुरा बताएका हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरेका छन् । सभामुख सापकोटाले ४२ वर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्ध थप सुुदृढ हुने विश्वास व्यक्त गरेका छन् । उनले भ्रमण वर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद पनि ज्ञापन गरेका छन् । सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुुपर्ने बताए । भेटमा राजदूत युुसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताएका छन् । उनले नेपाली बिमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको उल्लेख गरे । नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेको राजदूत युुसुुफले बताए ।