प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानूनी जटिलता व्यहोर्न पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन् । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन समितिको बैठकमा उनले विदेशमा कोरोना सङ्क्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि तत्तत् देशलाई आग्रह गरिएकाले उपचारमा समस्या कहीँकतै नदेखिएको बताएका हुन् । मन्त्री ज्ञवालीले भने, “खानेबस्ने प्रबन्ध मुख्यरूपमा रोजगारदाताले गरेका छन्, केही ठाउँमा रोजगारदाता भागेको अवस्थामा गैरआवासीय नेपाली सङ्घ, स्थानीय च्यारेटी सङ्घ र दूतावास मिलेर सक्दो सहयोग गराइरहेका छन् । यद्यपि सबै ठाउँमा सबै ठिक छ भन्ने होइन । प्रवेशाज्ञाको म्याद सकिए पनि कानूनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको छ ।” कोभिड–१९ का कारण बिस्तारै रोजगारी गुमाउनेको सङ्ख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरुले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत छ भने । कोरोनाको महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कने नेपालीको सङ्ख्या ५ लाख ८८ हजार ७ सय हुनसक्ने अनुमान गरिएको सो अवसरमा जानकारी दिइयो । खाडी मुलुकबाट ३ लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने सङ्ख्या २ लाख १० हजार ८ सय ७१ रहेको मन्त्रालयले जानकारी दियो । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ–कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने चुनौती छ । स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री ज्ञवालीले बताए । अहिले मुलुकमा तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् । एकैसाथ धेरै नेपाली स्वदेश फर्केमा क्वारेन्टाइनकै समस्या हुने अनुमान गरिएको छ । उनले भने, “एकैपटक ठूलो सङ्ख्यामा नेपाली फर्कने हो भने तयारी र व्यवस्थापनमा उलटपुलट हुनेछ । यद्यपि आवश्यक तयारी गरेर ल्याइने हुनाले व्यवस्थापन गर्न सरकार सक्षम हुनेछ ।” रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारीमा कसरी जोड्ने भन्ने अर्को चुनौती हो । नेपालको कूल जनसङ्ख्याका १५ प्रतिशत जनसङ्ख्या मुलुकबाहिर छ । कूटनीतिक निकाय र नियोगबाट प्राप्त जानकारीअनुसार विश्वका १ सय ९ मुलुकमा ६४ लाख ६३ हजार ३ सय ७३ नेपाली विभिन्न पेशा र व्यवसायमा छन् । विभिन्न २१ मुलुकमा १० हजारभन्दा बढी नेपालीको सङ्ख्या छ । प्रवासमा रहेकामध्ये ठूलो सङ्ख्या श्रमिक छन् । विश्वका १२ मुलुकमा श्रम सम्भौताका आधारमा रोजगारीका लागि गएका नेपालीको सङ्ख्या १२ लाख ११ हजार ९ सय २४ रहेको छ । वैदेशिक रोजगारीमा घरमा काम गर्न विभिन्न माध्यमबाट गएकाले उनीहरुको यकिन तथ्याङ्क नरहेको मन्त्रालयले जनाएको छ । यसअघि बैठकमा सांसदहरूले मुलुकको आर्थिक विकासमा विप्रेषणका माध्यमबाट ठूलो योगदान पुर्याउँदै आएका अहिले अप्ठेरोमा परेर घर फर्कन चाहने नेपालीलाई तुरुन्त स्वदेश फर्काउने व्यवस्था गर्न सुझाव दिए । रासस
प्रवासीलाई सम्बन्धित देशलेनै नेपालमा छाड्ने, सरकार भन्छ: उनीहरुले भनेकै मितिमा आउन दिइन्न
काठमाडाैं । विदेशमा रहेका नेपालीलाई नेपाल छाड्नका लागि सम्बन्धित देशनै सकारात्मक भएका छन् । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका हुन्। यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको बताए । तर, तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था नभएकाे उनले बताए । उनकाअनुसार श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था छ । विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् । ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ,’ उनले भने । भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने उनले बताए । ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने छ ।’ उनले अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताए । ‘भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुन्छ,’ उनले भने ।
गाउँ फर्किएका युवा विकास निर्माणमा
काठमाडौं । कोभिड –१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउनका कारण अध्ययन तथा रोजगारीका बन्द भएपछि गाउँ फर्किएका प्युठानका युवा स्थानीयस्तरमा विकासनिर्माणका काममा जुटेका छन् । गाउँमा आएर बेरोजगार जस्तै बनेका युवालाई परिचालन गरी स्थानीयस्तरको विकास निर्माणमा सहभागी बनाइएको छ । प्युठान नगरपालिका वडा नं ५ जुम्रीकाँढा ढुंगेठाटीका युवा लकडाउनको सदुपयोग गर्दै सवारीसाधन नचलेका समयमा सडक स्तरोन्नतिका काममा लागेका छन् । जुम्रीकांँढा ठूलो गाउँका ४० युवाले नमूना बस्ती विकासको काम गरिरहेका छन् भने ढुंगेठाँटी क्षेत्रका १८ युवाले अर्थोपार्जनसँंगै सडक स्तरोन्नतिको काम थालेका छन् । प्रदेश नं ५ सरकारको करीब १ करोड बजेटमा नमूना बस्ती विकाससंँगै सडक स्तरोन्नतिको कार्य भइरहेको वडाध्यक्ष लछुमन भण्डारीले बताए । युवाले काम गर्दा आफूलाई सुरक्षित राख्दै सामाजिक दूरी कायम गरेको उनको भनाइ छ । दैनिक ज्यालादारीमा एक युवकले ६ सयदेखि ८ सय रुपैयाँसम्म कमाउने गरेका छन् । प्युठान ८ का युवाको सक्रियतामा सडक स्तरोन्नतिको काम थालिएको छ । दुई वर्षअघि सडक खनिए पनि बीचबीचमा खाल्डा र नाली व्यवस्थित नभएपछि यस क्षेत्रका युवा मिलेर स्तरोन्नतिको गरेको स्थानीयवासी युवा दिलबहादुर दसौँदीले बताए । स्थानीय सात युवाले आफूहरुले साधन र स्रोत जुटाई सडक स्तरोन्नति गरेका हुन् । स्थानीय राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य मुकेश थापा, अनेरास्ववियु पूर्व कोषाध्यक्ष दिलबहादुर दसौंदी, व्यवसायी महेश पाण्डे, शिक्षक शेरबहादुर पाण्डे, माधव केसीलगायतको सक्रियतामा सडक स्तरोन्नतिको काम भएको हो । “पटक–पटक सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय, प्युठान नगरपालिका र वडा कार्यालयमा भन्दा सुनुवाइ नभएपछि हामी युवाहरु मिलेर सडक सुधार्नेतर्फ अग्रसर भएका हौं”, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य थापाले बताए । रासस