विदेशमा रहेका ६० हजार नेपाली सम्पर्कमा, २५ प्रतिशतले गरे रोजगारी गुमाएको गुनासो
काठमाडौं । वैदेशिक रोजगारमा रहेका ६० हजार नेपालीले वैदेशिक रोजगार व्यवसायीलाई सम्पर्क गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वैदेशिक रोजगारीमा युएई, कुवेत, बहराइनमा रहेका धेरै नेपालीले वैदेशिक रोजगार व्यवसायीलाई समस्या र अवस्थाको बारेमा जानकारी दिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए । ‘विभिन्न देशबाट करिब ६० हजार नेपालीले आफूहरु समस्यामा परेको बताईरहेका छन् । जसमा ७५ प्रतिशत नेपाली श्रमिकले आफ्नो भिसा अवधि सकिएको हुँदा अब हामी नेपाल कहिले, कसरी आउने भन्ने गुनासो छ भने २५ प्रतिशत नेपालीले आफ्नो रोजगार गुमाएको गुनासो पोखेका छन्’ महासचिव श्रेष्ठले भने । विश्वमा कोरोनाको कहर बढ्दै गएसँगै वैदेशिक रोजगारीमा ठूलो चुनौती पैँदा गरेको छ । यो समयमा वैदेशिक रोजगारमा रहेका नेपालीको अवस्था र कसरी नेपाली सुरक्षित तथा समस्यामा परेकालाई उद्धार गर्ने भन्ने विषयमा सरकारले स्पष्ट नितिको नियमको बारेमा श्रममन्त्रालय, परराष्ट्रमन्त्रालय तथा सम्बन्धि विभिन्न निकायहरु बीच छलफल भइरहेको श्रममन्त्रालयले जानकारी दिएको छ । वैदेशिक रोजगारीकै लागि करिब ४३ लाखभन्दा बढी नेपाली बाहिरिएका छन् भने अध्ययन, व्यवसायिक तथा अन्य विभिन्नकामा गरी जम्मा ६५ लाख नेपालीहरु विदेशमा रहेको छन् । एनआरएनको पछिल्लो तथ्यांक अनुसार विश्वमा ४९ जना नेपाली कोरोना भाइरसकै कारण विश्व भइसकेको र करिब दुई हजार संक्रमित रहेक छन् ।
टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह
काठमाडौं । टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन् । ‘टर्की नेपाली समाज’ले टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासलाई एक पत्रमार्फत लकडाउन जारी गरिएसँगै हजारौंको सङ्ख्यामा टर्कीमा अवैधानिकरूपमा रहेका नेपालीको अवस्था कठिन बन्दै गएको जानकारी गराएको छ । समाजका अध्यक्ष उज्वलकुमार घिसिङले वैधानिक श्रमिकले समेत रोजगारी गुमाउनुपर्ने वा बेतलबी बिदामा बस्नुपर्दाको पीडाले झन् निराशा सिर्जना गरिसकेको उल्लेख गरे । उनका अनुसार कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको कठिन अवस्थालाई ध्यानमा राखेर टर्की सरकारले अवैधानिक आप्रवासी कामदारका लागि जरिवाना मिनाहा र आममाफीको निर्णय गरी स्वदेश फिर्तीका लागि प्रक्रिया शुरु गरिसकेको छ । सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै समाजले स्वदेश फिर्तीका लागि पहल गरिदिन इस्लामावादस्थित नेपाली राजदूतावाससमक्ष अनुरोध गरेको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत टर्कीमा रहेका नेपालीको अवस्था र स्वास्थ्यस्थितिका बारे चासो लिँदै सहयोगका लागि त्यहाँको सरकारसँग समन्वयमा रहेको जनाए । टर्कीमा रहेका नेपालीका समस्याबारे गैरआवासीय नेपाली सङ्घले पनि आवश्यक चासो लिई सहयोगका लागि पहल गरिरहेको सङ्घको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिए । रासस
भारतबाट आएका सबैलाई र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने
बैतडी । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्यापिड डाइग्नोष्टिक (आरडिटी) टेष्ट गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार एक सय २२ जनाको आरडिटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका सबैको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चैत महिनामा मात्रै भारतबाट ४ हजार ८ सय २२ जना जिल्ला भित्रिएका थिए । तीमध्ये अहिलेसम्म सात सयको मात्रै आरडिटी र स्वाब टेष्ट भएकाले बाँकी सबैको पनि र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने उनले बताए । चैत महिनामा भारतबाट जिल्ला भित्रिएकामध्ये दशरथचन्द नगरपालिकामा ५ सय ३१, पुर्चौंडीमा ३ सय ४३, मेलौलीमा ४ सय ४९, पाटनमा ४ सय ८२ र सुर्नयामा ४ सय ५ जना रहेका छन् । त्यस्तै डिलाशैनीमा २ सय ६५, दोगडाकेदारमा ४ सय १, पञ्चेश्वरमा ८ सय ९५, सिगासमा १ सय ३९ र शिवनाथ ९ सय १२ जना जिल्ला भित्रिएको बताइएको छ । चैत १० गते अघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन भने उनीहरुको चेकजाँच समेत भएको छैन् । जिल्लामा अहिले एक हजार ६ सय र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) कीट मात्रै भएकाले थप कीट प्रदेश सरकारबाट मगाउने पहल भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । यस्तै कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय संयन्त्रको बैठकले पालिकास्तरीय क्वारेन्टाइन निर्माणका कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ । यस्तै राष्ट्रिय गौरवका आयोजना र प्रदेश गौरवका आयोजना सञ्चालन गर्न दिने र त्यसको अनुगमन समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यस्तै राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत मात्रै गर्न पाउने व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको उनले बताए । यसैगरी विवाह व्रतबन्धजस्ता शुभकार्यमा ५ जना मात्रै सहभागी भएर गर्न पाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका प्रयासलाई अझै प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । रासस