भारतको रामपुरमा अलपत्र परेकाको उद्धार, गाउँमा पुग्दा खुशी
काठमाडौं । भारतको उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थलारा गाउँपालिकाका ९३ जना गाउँ पुगेका छन् । अलपत्र रहेका थलारावासीलाई उद्धार गरी ल्याउनुपर्ने विभिन्न निकायबाट दबाब सिर्जना भएपछि गाउँपालिकाको टोलीले विभिन्न निकायसँग समन्वय गरी गाउँ ल्याएको हो । भारतको दिल्लीबाट चैत ११ गते घर फर्किनका लागि आएका उनीहरुलाई भारत सरकारले बिचबाटोमा रोकेर रामपुरको क्वारेन्टाइनमा ५० दिनसम्म राखेको थियो । अलपत्र परेका नागरिकलाई उद्धार नगरेको भन्दै चौतर्फीरुपमा आलोचना भएपछि गाउँपालिकाका सबै पार्टीका राजनीतिकर्मी र जनप्रतिनिधिको पहलमा भारतको गौरीफन्टा नाकामा पुर्याएपछि गाउँपालिकाले ५३ दिनपछि उद्धार गरी गाउँ ल्याएको हो । गाउँ पुगेपछि उनीहरूले निकै खुशी हुँदै आफूहरुमा कोरोनाको सङ्क्रमण नभएकोमा ढुक्क भएकोसमेत बताएका छन् । विगत १० वर्षदेखि भारतको फरिदाबादमा चौकीदारी गर्दै आएका थलारा गाउँपालिका–१ का बहादुर थापाले भने, “५० दिनसम्म निकै कष्टकर समय बिताउनुपर्यो, कोरोनाको त्रासले भारत सरकारले समेत लकडाउन गरेपछि घर जाउँ भनी सबै फर्किएका थियाैं तर भारत सरकारले भारतको बरेलीमा रोकेर फेरि ६५ किलोमिटर फर्काएर रामपुरमा लगेर राखेको थियो ।” उनले गाउँ पुगेपछि निकै खुशी भएको बताए । गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले आफूहरुले निरन्तर पाँच दिनसम्म भारतीय दूतावास, कैलाली जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग समन्वय गरी भारतबाट उद्धार गरी गाउँसम्म ल्याएको बताउनुभयो । उनले भने, “उद्धार गरी ल्याइएकालाई अब गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षण गरेपछि मात्र घर पठाइने छ ।” रासस
राहतको सट्टा रोजगारी
काठमाडौं । जारी बन्दाबन्दीका कारण विपन्न वर्गको जीविकोपार्जनमा कठिनाइ भएपछि झापाको दमक नगरपालिकाले रोजगारी कार्यक्रम ल्याएको छ । नगरपालिकाले राहतका विकल्पमा एक परिवार, एक रोजगारी कार्यक्रम शुरु गरेको हो । सो नगरपालिकाको वडा नं ३ मा करिब ६ सय परिवारलाई लक्षित गरी उक्त कार्यक्रम शुरु गरिएको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । कार्यक्रमको पहिलो दिन शनिबार ८५ जना रोजगारीमा संलग्न भएको थिए । उनीहरुलाई सोही वडाको हम्सेदुम्से सामुदायिक वनसँगको सहकार्यमा रोजगारी प्रदान गरिँदै आएको उनले बताए । दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई लक्षित गरिएको कार्यक्रमअनुसार उक्त सामुदायिक वन क्षेत्रका काममा परिचालन गरिएको उनले बताए । उनका अनुसार वन क्षेत्रमा अहिले वृक्षरोपण गर्ने समय भएकाले वन क्षेत्रमा रहेको झाडी फाँड्ने, आँप बगान गोड्ने, खाल्डो खन्ने कार्य शुरु गरिएको छ । पहिलो चरणमा करिब ६ सय परिवारलाई रोजगारी दिइने तयारी गरिएको र अन्य क्षेत्रमा समेत त्यसरी नै रोजगारीको व्यवस्थापन गर्न लागिएको उनले बताए । स्वास्थ्य सुरक्षासहित सामाजिक दूरी कायम हुने गरी काम शुरु गरिएको हो । दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका एक परिवारलाई दुई दिन रोजगारी दिइने तथा त्यस्ता श्रमिकलाई सरकारले तोकेको दैनिक ज्याला वा खाद्यान्न दिइने वडासचिव सन्दीप सुवेदीले जानकारी दिए । नगरपालिकाले बन्दाबन्दीका क्रममा श्रम गर्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई भने खाद्यान्न राहत नै प्रदान गरिने छ । सो सामुदायिक वनका अध्यक्ष हिमालय दाहालका अनुसार श्रमिकलाई सामाजिक दूरी कायम गराउन वन समिति र वडा कार्यालयले निगरानी गर्न हरेक टोलीमा एक जना स्वयंसेवकसमेत खटाइएको छ । नगरपालिकाले आगामी वर्षदेखि यही मोडलको कार्यक्रमलाई योजना बनाएर सबै वडामा विस्तार गर्ने योजना रहेको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले जानकारी दिए । उनले वडा नं ३ को कार्यक्रमको नतिजाले अन्य वडामा पनि विस्तारमा सहयोग पुग्ने बताए । रासस
बहुसंख्यक अमेरिकी घर बाहिरको काममा
वासिङ्टन । अमेरिकामा कोरोनाभाइरसको संक्रमण दिनप्रति दिन फैलिदै गएपनि बहुसंख्यकले आफ्नो घर बाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये ६ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका छन् । वासिङ्टन पोष्टले गत अप्रिलको अन्त्य तिर र मे महिनाको शुरुमा गरेको सर्वेक्षणले यस्तो देखाएको उनीहरुको भनाई छ । उनीहरुले झण्डै आठ हजार जनामा सर्वेक्षण गरेका थिए । उनीहरुको आफुले काम नगर्दा घर परिवारमा समस्या हुने गरेको पनि बताएका थिए । पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख ८४ हजार २ सय ८५ पुगेको छ भने मृत्यु हुनेको संख्या ८८ हजार ५ सय ७ जना पुगेको छ । हरेक तीन जना मध्ये एक जनाले हरेक हप्तामा कम्तीमा एक पटक कामका लागि घर छाड्ने गरेको पाइएको पनि सर्वेक्षणकर्ताहरुले जनाएका छन् । उनीहरु मध्ये धेरैले आफूलाई कोरोना भाइरसको संक्रमणको त्रास अत्यधिक हुने गरेको पनि बताएका छन् । उनीहरुलाई विषेश गरेर सार्वजनिक यातायातका साधन प्रयोग गर्दा संक्रमण हुने चिन्ता लाग्ने गरेको सुनाएका थिए । सर्वेक्षणका अनुसार कामका लागि घर छाड्ने झण्डै ३५ प्रतिशत अमेरिकी नागरिकहरुले सवै समय मास्क प्रयोग गर्ने गरेका छन् । त्यसैगरी ३९ प्रतिशतले कुनै कुनै बेला मात्रै मास्क प्रयोग गर्ने गरेका छन् । रासस/एएनआई