ग्रामिण विकास लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतको लागि कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको प्रधान कार्यालय बुटवल वा शाखा कार्यालयबाट माघ २ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

मधेस प्रदेशका ९८० युवालाई सीप र रोजागारमूलक तालिम

धनुषा । कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमूलक तालिम दिइएको हो । सो कार्यक्रमको प्रगति र समीक्षाबारे स्थानीय पालिका प्रमुखसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेशका नौ सय ८० मध्ये नौ सय ६७ जनाले पूर्णरूपमा तालिम लिएको युएनडीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा. मुकुन्दमणि खनालले बताए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले एक सय ६० घण्टाको तालिम लिएका युवा स्वरोजगार हुन थालेकाले तालिम प्रभावकारी भएको बताए । सरकारसँग मिलेर  बेरोजगार युवालाई प्रोत्साहन हुनेगरी अनुदान, सहुलियत दरमा कर्जा प्रवाहलगायत प्राविधिक सेवा दिनुपर्ने आवश्यकता भएको उनले बताए । मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले युवालाई स्वदेशमै सीप सिकाउन सके रोजगारमूलक व्यापार व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गरे । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, पूर्वशिक्षा सचिव डा. रामहरि लामिछाने, सीटीइभीटी मधेस प्रदेश प्रमुख नागेन्द्र साह, कार्यक्रमका मधेस प्रदेश संयोजक दीपक साहशङ्करले कार्यक्रमका विविध पक्षमाथि चर्चा गरेका थिए । रासस

महिला उद्यमीका लागि चेम्बरले पुस १५ गतेदेखि सूचना प्रविधि तालिम दिने

काठमाडौं । रोजगारी सिर्जना र व्यावसायिक सफलताका लागि महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई एकवर्षे सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो । तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लीमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पङ्कज जलानले हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढिरहेका सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको बताए । तालिममा महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरले जनाएको छ । उद्यमी महिलाका लागि सञ्चार क्षमता, बजार प्रवद्र्धन, वेबसाइट डिजाइनलगायत विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव अधिकारीले जानकारी दिए । यही पुस १५ गतेदेखि सुरु हुनेछ ।