सीपले दिएको अवसरः बारटेन्डरमा जम्दै नेपाली युवा

काठमाडौँ, २३ असार । वैदेशिक रोजगारी भन्नासाथ सबैले दुःख पाउँछन् भन्ने छैन । सीप र जाँगर भए पैसा मात्र होइन सम्मानित बन्ने अवसरसमेत पाउँछन् । कर्मशील यस्तै नेपालीले आफ्नो इमान्दारिता र मिहिनेतले युरोपमा आफ्नो पहिचान र गौरवलाई बढाइरहेका छन् । झापा जिल्लाको भद्रपुर–२ का ३४ वर्षीय राजु आलेमगर तिनै प्रतिनिधि पात्र हुन् जसले युवा अवस्थामै युरोपमा आफ्नो पहिचान बनाए । उनको सफलताको कथाले सायद अरु धेरै नेपाली युवालाई कर्मशील हुन प्रेरित गराउँछ । आलेले इटालीको प्रख्यात ‘मेडिटेरानियन सिपिङ कम्पनी’ ९एमएससी० मा शानका साथ सेवा गरिरहेका छन् । उनीजस्ता कामदारले मासिक बढीमा दुई हजार ५०० डलरसम्म कमाउँछन् । “यहाँ काम गर्ने धेरै नेपालीको सपना हुन्छ, तर सबैले पाउँदैनन्”, ‘जग्लर बारटेन्डर’ भएर काम गर्ने आले भन्छन्, “मिहिनेत र धैर्यताले यो सफलता मिलेको हो ।” सन् २००८ देखि यो क्षेत्रमा लागेका उनले व्यावसायिक तालिम लिएका छन् । भारतीय व्यावसायिक बारटेन्डर मन्दीप अग्रवालसँग विशेष प्रशिक्षण लिएका आलेको आलाकाट होटल ट्रेनिङ सेन्टरबाट करियर सुरु भएको थियो । दरबारमार्गको इन्सोमेनिया, लाजिम्पाटको एटिक बार, ठमेलको द फ्याक्ट्री रेस्टुरेन्ट एण्ड बारमा लामो समय काम गरेपछि आलेको युरोपतिरको यात्रा तय भयो । एमएससी कम्पनीका १३ वटा ठूला पानीजहाज छन् । झन्डै महिनादिनको जहाज यात्रामा आले व्यावसायिक बारटेन्डरका रुपमा काम गर्छन् । जहाजबाटै स्पेन, फ्रान्स, स्विट्जरल्यान्ड, ट्युनिसिया घुमिसके । उक्त कम्पनीमा आलेसहित करिब ७० जना नेपाली कामदार छन् । करिब ४३ हजार यात्रुलाई सेवा दिनु चानचुने विषय हैन । डेढ वर्षदेखि काम गर्दै आएका आलेले नेपाली कामदारले अशिक्षाकै कारण विदेशमा दुःख कस्ट भोग्नुपरेको अनुभव सुनाउँदै आफूले लाखौँ खर्चेर सिकेको सीपले अहिले सफलता मिलेको बताए । यसमा दिदी कुसुम आले र भान्जी सम्झना बिष्टको प्रेरणा उत्तिकै थियो । उनको बुझाइमा भाषामा राम्रो ज्ञान, जुन काममा जाने हो त्यसबारे आवश्यक तालिम लिएर जाँदा कामदारले समस्या भोग्नुपर्दैन । के हो ‘बारटेन्डर’ ? त्यसो त नेपालमा पनि ‘बार’ को प्रचलन बढेको छ, केही बार गुणस्तरीय पनि छन् । तर, अधिकांशले मापदण्ड पूरा गर्दैनन् । बारका नाममा डान्स, डिस्को, रेस्टुरेन्ट बार आदि नाम राखेर अनेक धन्दा चलाइरहेका हुन्छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार बार त्यो हो जहाँ अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा मात्रै बिक्री वितरण हुन्छन्, बारका ग्राहक पनि स्तरीय र नियमित हुन्छन् । बार भन्नासाथ रक्सी भट्टी सम्झिने नेपालीको बानी परिसकेको छ । नेपाली बारमा करोडको लगानी गर्ने तर मजदुरलाई उचित तलब सुविधा नदिने प्रवृत्तिले धेरैको गन्तव्य युरोप र एसियाली मुलुकतिर हुने गरेको आलेको भनाइ छ । “दुई करोड लगानी गरेर बार खोल्छन् तर कर्मचारीलाई सस्तोमा राख्छन्, कसरी गुणस्तर सेवा दिने यसले बारका नाममा अनेक विकृति मात्रै निम्त्याएकोे छ,” उनले भने । बारटेन्डर भनेको मदिराजन्य पदार्थको कक्टेल बनाउने कला हो । यो कलाले ग्राहक आकर्षित मात्र हुँदैनन् स्वादिस्ट र रङ्गीविरङ्गी मदिरा सेवन गर्न पाउँछन् । आले बारटेन्डरका साथै ‘बारिस्ता’ ९कफी बनाउने० व्यावसायिक पनि हुन् । बारको मापदण्ड हुन्छ, जहाँ १८ वर्षमुनिका किशोरकिशोरीले प्रवेश पाउँदैनन् तर नेपालमा त्यसको मतलब छैन । बारमा रक्सी र सिगरेट मात्र दिइन्छ । बारलाई रक्सीभट्टीका रुपमा लिने र पैसा खर्चिने प्रवृत्ति छ, कुनै मापदण्ड छैन । सीप भएर पनि नेपालमा बारटेन्डरको भविष्य नदेखेकाले विदेसिनु परेको बताउने आलेको भविष्यमा नेपाल फर्केर यही क्षेत्रमा लगानी गर्ने योजना रहेको छ । आलेजस्तै सफलता काठमाडौँका २४ वर्षीय मोहमद हुसेनको पनि छ, उनले हालै चीनमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको बारटेन्डर प्रतिस्पर्धामा सहभागिता जनाए । होटल व्यवस्थापनसम्बन्धी अध्ययनरत सिन्धुपाल्चोककी मीरा थापाको पनि यही क्षेत्रमा जम्ने चाहना छ । बानेश्वरको ‘चौरासी व्यञ्जन रेस्टुरेन्ट’मा कार्यरत थापाले विदेशमा सीप सिकेर नेपालमै भविष्य बनाउने सुनाइन् । काभ्रेकी निकिता लामाले पनि होटल क्षेत्रमै व्यावसायिक जीवन बिताउने योजना सुनाइन् । “काठमाडौँ फ्लेयर बारटेन्डिङ एकेडेमी, शङखमुलले बारटेन्डर जनशक्ति उत्पादन गर्दै आएको छ”, आलेले भने, “विदेशमा दुःखसुख सबै छ, १८ तले जहाजमा काम गर्नु निकै जोखिम मोल्नुपर्ने हुन्छ, ७।८ रिक्टरको भूकम्पजस्तो हल्लाउँछ, समुद्रमा छाल आएका बेला ।” नेपालमा एटिक, द फ्याक्ट्रीलगायत अन्तर्राष्ट्रियस्तरका बार मानिन्छन् । युरोप, अमेरिकालगायत मुलुकमा भने व्यावसायिक बार फस्टाएका छन् । रासस

श्रम तथा रोजगारमन्त्री बोहराको मलेसिया भ्रमण विवादमा

काठमाडौं, १९ असार । श्रम तथा रोजगारमन्त्री दीपक बोहराको असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण विवादमा परेको छ । मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराको मलेसिया भ्रमणमा वैदेशिक रोजगार व्यवसायी सङ्घका चार प्रतिनिधिलाई समेत समावेश गराइएको थियो । तर भ्रमणका क्रममा नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा व्यवसायीलाई सहभागी नगराइपछि विवाद बढ्दै गएको हो । बिहीबार नेपाल फर्किएका व्यवसायीले फर्किएलगत्तै त्यही दिन पत्रकार सम्मेलन गरी आफूहरुको भ्रमणमा अपमान भएको बताए । उनीहरुले केबल घुमाउन लगिए जस्तो टोलीमा सहभागी गरेर बिना उपलब्धि त्यसै फर्काइएको बताए । व्यवसायीले छलफलमा सहभागी नराउने भए किन आफूहरुलाई लगिएको भन्दै मन्त्रालय र त्यहाँस्थित नेपाली दूतावासले छलछाम गरेको आरोप लगाए । शनिबार फर्किएका मन्त्री बोहराले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो बचाउ गर्नुभयो । उनले भने, “ हामीले व्यवसायीलाई पनि छलफलमा सहभागी गराउन चाहेका हौँ तर मलेसियाली पक्ष नमानेपछि सकिएन ।” उहाँले वार्तामा व्यवसायीलाई सहभागी गराउनैपर्ने कुनै बाध्यकारी व्यवस्था नभएको टिप्पणी गर्दै मलेसियाका तर्फबाट पनि वार्तामा कुनै व्यवसायी सहभागी नभएको स्पष्ट पारे। भ्रमणका क्रममा विवादको केन्द्रमा मलेसियास्थित नेपालका राजदूत निरञ्जनमान सिंह बस्न्यात रहनपुग्यो । व्यवसायीले पत्रकार सम्मेलनमा राजदूत बस्न्यात भिएलएन नेपाल, बायोमट्रिक प्रणालीजस्ता संस्थामार्फत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै नेपाल फिर्ता बोलाउन माग गरेका थिए । त्यसलगत्तै मलेसियास्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै त्यसमा आपत्ति जनायो । मन्त्री बोहरा मलेसिया भ्रमणका गएको समय त्यहाँका गृहमन्त्री रमदानका अवसरमा साउदी अरबको मक्कामा बिदा मनाउन गएकाले भिएलएन, बायोमेट्रिकजस्ता विवादास्पद विषयमा छलफल हुन सकेन । मलेसियाका मानव संसाधन मन्त्रीसँग मन्त्री बोहराले छलफल गरे तर उल्लेख्य कुनै सहमति हुन सकेन । मलेसियामा सबै रमदान पर्वमा व्यस्त भएकोे र बिनातयारी गलत समयमा भ्रमण भएको व्यवसायीले आरोप लगाएका छन् । भ्रमण उपलब्धिमूलक– मन्त्री बोहरा श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो मलेसिया भ्रमण उपलब्धिमूलक भएको बताए । भ्रमणमा मलेसियाका मानव संसाधनमन्त्री दातो स्रि रिचार्ड राइट अनक जेइमसँगको द्विपक्षीय भेटवार्तामा नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयलाई प्राथमिकता दिएर छलफल गरिएको उनले बताए । भेटवार्तामा मलेसियामा कार्यरत नेपालीको सेवा र सुरक्षाका विषयमा समेत सकारात्मक छलफल भएको उनको दाबी छ । केही महिनादेखि मलेसियाले नेपाललगायत उसले कामदारले आपूर्ति गर्ने १६ मुलुकबाट कामदार लिन प्रतिबन्ध लगाएकामा नेपाललाई खुलाउने विषयमा भ्रमणमा सकारात्मक छलफल भएको उनले जानकारी दिए। मलेसियाको कारागार तथा कैद शिविर (डिटेन्सन क्याम्प)मा गरी ४६१ जना नेपाली रहेको र उनीहरुलाई कैदमुक्त गर्नेबारेमा छलफल भएको उनले बताए। छ नेपालीको शव मलेसियामा रहेकाले त्यसलाई तत्काल नेपाल ल्याउन आफूले पहल गरेको उनको भनाइ छ । रासस

मलेसियाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउन माग

काठमाडौं, १६ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाका लागि नेपालका राजदूत निरञ्जन बस्न्यातलाई फिर्ता बोलाउन माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विमल ढकालले भिएलएन, बायोमेट्रिक, माइग्राम, आइसिएसजस्ता संस्थासँग राजदूत बस्न्यातले साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार बोकाउने कार्य गरेको आरोप लगाए। उनले ती संस्था अवैध ढङ्गले सञ्चालनमा आएको जनाउँदै बन्द गर्न प्रधानमन्त्री, परराष्ट्रन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै निकायलाई अनुरोध समेत गरे। यही असार १३ गतेदेखि भएको श्रम तथा रोजगारमन्त्रीको मलेसिया भ्रमणका क्रममा सहभागी भएको सङ्घको टोलीलाई मलेसियाका श्रममन्त्रीसँग भेटघाट गर्न राजदूत बस्न्यातले रोकेको सङ्घले आरोप लगाएको छ । सङ्घले मलेसिया गएका कामदारको प्रवेशाज्ञा रोजगारदाता कम्पनीले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था विपरीत प्रवेशाज्ञा नवीकरण नगर्ने कम्पनीलाई कारबाही नगरी उल्टै कामदारलाई कारागार चलान गर्ने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । कामदारमाथिको शारीरिक तथा मानसिक यातना दिने कार्य तत्काल बन्द गरी नेपाली कामदारको हकहितको सुनिश्चिततासहित तीन महिनाभित्र मलेसियासँग श्रम सम्झौता गर्नुपर्ने सङ्घको भनाइ छ । मलेसियाका रोजगारदाता कम्पनीले समयमा प्रवेशाज्ञा नवीकरण नगर्ने र करार समाप्त भएपछि समयमा नेपाल फिर्ता नगर्ने कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्नुपर्ने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ । रासस