कोरियामा कामदारको तलब वृद्धि, नेपालीले मासिक एक लाख २० हजार कमाउने

काठमाडौं, २ साउन । कोरिया सरकारले कामदारको तलब वृद्धि गरेको छ । कोरियाले सन २०१७ देखि लागु हुने गरि कामदारको तलब ७ दशमलब ३ प्रतिशतले वृद्धि गरेको हो । यो वृद्धिसँगै अब कोरियामा रहेका नेपाली कामदारहरुले सन २०१७ देखि मासिक न्युनतम एक लाख २० हजार रुपैंयाँ आम्दानी गर्नेछन् । ज्याला निर्धारण समितिमा रहेका १६ जनामध्ये ११ जनाको समर्थनमा ज्याला बढाउने निर्णय भएको हो र सो निर्णय सन २०१७ को जनवरी १ तारिख देखि लागु हुनेछ । तलब वृद्धिको निर्णय कार्यान्वयनमा आएपछि कोरियामा कामदारले मासिक १३ लाख ५२ हजार २ सय ३० वन(कोरियाली मुद्रा) प्राप्त गर्नेछन् । हाल उनीहरुले मासिक १२ लाख ६० हजार २ सय ७० वन प्राप्त गर्दै आएका छन् । यसले कोरियामा काम गर्ने नेपालीहरुको आम्दानीमा उल्लेख्य वृद्धि हुनेछ ।

भूकम्प पीडितले ट्याक्सी पाउने, प्रभावित १४ जिल्लाका वासिन्दाले आवेदन दिन पाउने

काठमाडौ १ साउन। यातायात व्यवस्था विभागले भूकम्प पीडित १४ जिल्लाका जनताका लागि १५ सय ट्याक्सी संचालन गर्न दिन आवेदन खुला गरेको  छ । काठमाडौं उपत्यकाभरी ट्याक्सी चलाउनको लागि यो आवेदन खुला गरेको  विभागले जनाएको छ। यातायात  व्यवस्था विभागले सूचना प्रकाशित गर्दै साउन ५ गतेदेखि भदौ २ गतेभित्र भूकम्प प्रभावित जिल्लाका वासिन्दाले आवेदन दिन सक्ने उल्लेख गरेको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई स्वरोजगार दिने उदेश्यले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्षको जेठमा यो निर्णय गरेको थियो । भूकम्प पीडितले सक्कल नागरिकतासहित स्वंय उपस्थित हुनुपर्ने व्यवस्था विभागले गरेको छ । विभागका अनुसार एक भूकम्प पीडितले एउटामात्रै आवेदन दिने पाउनेछन् । भूकम्प पीडितको प्रमाणपत्र भएको व्यक्ति स्वयंको दस्तखत र ल्याप्चेसहित निवेदन फाराम दर्ता गर्नुपर्ने विभागले जनाएको छ । १५ सय भन्दा बढी आवेदन परेमा गोलााप्रथामार्फत ट्याक्सीको छनौंट गरिने विभागले जनाएको छ ।   विभागका अनुसार सरकारद्धारा निर्धारित १४ जिल्लाका भूकम्प प्रभावित बासिन्दाले आवेदन दिन पाउनेछन् । आवेदन दिँदा हालसालै खिचिएको पासपोर्ट साईजको फोटो एक प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, भूकम्प पीडित भएको आधिकारिक प्रमाणपत्रको सक्कल एवं सोको प्रतिलिपी पेश गर्नुपर्ने विभागले जनाएको छ ।

बैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरु एक हुँदै

काठमाडौं, २३ असार । बैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको अनुभवलाई नेपालको विकासमा खर्चन र बैदेशिक रोजगारीलाई मर्यादित बनाउन सहयोग पुर्याउने हेतुले आप्रवासन श्रमिक संजाल निर्माण गर्ने विषयमा पहल थालिएको छ । बिडब्लु आई–नेपाल आबद्ध समिति काठमाडौंले नेपालमा आप्रवासन परियोजनाको गतिबिधि तथा कार्यक्रमहरु विषयक अन्तक्रियामार्फत संजाल निर्माण घोषणा गरि उनीहरुलाई एक पार्न पहल थाल्ने निष्कर्ष निकालेको हो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँबरले एजेन्टका कारण कामदार ठगिने गरेको भन्दै बैदेशिक रोजगारबाट फर्किएकाहरुको श्रमिक संजाल र नेटवर्क बनाईनुपर्ने बताए । उनले भने, ʽबिदेशबाट फर्किएकाहरुको एउटा युनियन बनाऔं, त्यसले नेपालमा उद्यमशीलताको विकासका साथै बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई शिक्षा दिने कार्य गर्नेछ ।ʼ बैदेशिक रोगजारबाट स्वयं फर्किएका श्रमिकले दिएको अनुभव र शिक्षा दिक्षालाई अधिकाँशले पत्याउने हुँदा पनि नेपालीहरु बैदेशिक रोजगारीमा ठगिनबाट जोगिन सकुन् भन्ने उदेश्यका साथ आप्रवासन श्रमिक संजाल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपालका अध्यक्ष नरनाथ लुइटेलले बैदेशिक रोजगारीमा जाने नेपालीहरु नेपालीबाटै पीडित बन्ने गरेको तथ्याँक प्रस्तुत गरे । पछिल्लो समय बैदेशिक रोजगारमा गएकाहरुप्रति सरकारको चासो बढेपनि त्यो पर्याप्त नभएको उनको भनाई थियो । यता बैदेशिक रोजगारबाट फर्किएकाहरु बाटै नेपालमा विशेषतः कृषिका क्षेत्रमा तरकारी, पशुपालन, फलफूल खेतीका क्षेत्रमा उद्यमशीलता बढेको उनले बताए । त्यसैले उनीहरुका अनुभवलाई कुनै नेटवर्क मार्फत नेपालको विकास र नेपालीको हितमा लगाउनुपर्ने लुइटेलको भनाई थियो । कार्यक्रममा सहभागी बिडब्लु आई आबद्ध प्रतिनिधि र अन्य सहभागीले बिदेशी भूमिमा कार्यरत ४० लाखभन्दा बढि श्रमिकहरु एकैचोटी नेपाल फर्कनुपर्ने अवस्था आयो भने त्यतिबेला के हुन्छ भन्दै मुलुकको कहालिलाग्दो अवस्थाबारे चिन्ता अनाएका थिए । त्यो कहालिलाग्दो अबस्थाबारे कसैले पनि बर्णन गर्न नसक्ने भन्दै यसबारे उनीहरुले सरकारको ध्यानाकर्षण गराए । रेमिट्यान्सबाट मुलुक चलाईरहेको सरकार र जिम्मेवार राजनीतिक दलहरुले यसबारे बेलैमा सोच्नुपर्ने उनीहरुको भनाई थियो । विदेशबाट फर्किएका श्रमिकहरुले भने कुनै जानकारीबिना बैदेशिक रोजगारमा जानुपर्ने, कुनैपनि शिक्षा, शिप र दक्षता हासिल नगरि बैदेशिक रोजगारीमा जानु भनेकै दुःख पाउनु हो भन्ने पक्का भएको ठोकुवा गरे । त्यसैले जानेर बुझेर र शिप सिकेर मात्र बैदेशिक रोजगारमा जानुपर्ने उनीहरुको सुझाव रहेको थियो ।