अमेरिका सपना ग्वाटेमालामा अलपत्र, ३५ लाखसम्म बुझाउने ४० नेपाली भेनेजुएलामै
काठमाडौ २७, भदौ । अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालले कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनुपर्योु, ग्वाटेमालाबाट टेलिफोनमा पीडा पोख्दै थिए कृष्ण न्यौपाने । आले थरका दलाललाई प्रतिव्यक्ति २५ देखि ३५ लाख रुपैयाँ बुझाई अमेरिकी सपना बुनेर हिँडेका ४० जना आफूजस्तै नेपाली युवक अहिले भेनेजुयलामा अलपत्र परेको न्यौपानेले जानकारी दिए । भेनेजुयलाबाट ग्वाटेमाला हुँदै अमेरिका पुर्याउने आश्वासनसहित दलालले पैसा लिए पनि मेक्सिकोको चपाला विमानस्थलमा प्रहरीले पक्राउ गरेको उनले बताए । १५ जनाभन्दा बढी नेपाली दुईदेखि तीन महिनासम्म शरणार्थी शिविरमा बसेर हालसालै छुट्यौं, केही अझै अलपत्र छन्, केही शनिबार मात्रै छुटे, केहीलाई दलालले नै कोठामा थुनेर राखेको छु, न्यौपानेले भने । उनका अनुसार अहिलेसम्म ३५ लाख रुपैयाँ लिइसकेका आले थरका दलालले अझै १५ लाख रुपैयाँ दिएमात्रै अमेरिका पठाइदिने भन्दै उनीहरूलाई धम्क्याउँदै आएका छन् । आलेसँगै हस्ती गुरुङ लगायतका दलालले पर्यटक भिसामा उनीहरू ४० जनालाई भेनेजुयलाका लागि उडाएका थिए । अलपत्र पर्नेमा कृष्णसँगै नुवाकोट, पर्वत, म्याग्दी, चितवनलगायत जिल्लाका युवक भएको समाचार सोमबारको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
सात सयको भिषाशुल्कलाई ६ हजार सात सय, बिचौलियाको कारण बढी रकम असुली
काठमाडौं २४, भदौ । मलेसिया जाने नेपाली कामदारले प्रवेशाज्ञा प्रक्रियामा ६ हजार सात सय रुपैयाँ तिर्नुपर्ने भएको छ । भिसाशुल्क जम्मा सात सय भएपनि मलेसियन राजदूतावासले पाँच हजार रुपैयाँ अशुल्दै आएको थियो । अब त्यो शुलकमा पनि थप दुई हजार आठ सय बढी तिर्नुपर्ने भएको छ । नेपालस्थित मलेसियाली दूतावासले आज सूचना जारी गर्दै ‘वान स्टेप सेन्टर’ प्रणाली अन्तर्गत मलेसियाको प्रवेशाज्ञा प्रक्रियाका लागि अब छ हजार ७०० लाग्ने जनाएको छ । प्रवेशाज्ञा शुल्क ७०० मात्रै भए पनि बिचौलियाको चलखेलका कारण विभिन्न शीर्षकमा नेपालीबाट बढी रकम असुली भइरहेको छ । दुई वर्षअघिसम्म मलेसियाको प्रवेशाज्ञाका लागि ७०० मात्रै लाग्ने गरेकामा भिएलएन नेपाल नामक कम्पनीले प्रवेशाज्ञाका लागि राहदानी र कागजपत्र सङ्कलन गर्ने भन्दै तीन हजार २०० थप लिएर नेपालीबाट तीन हजार ३०० असुलिरहेको थियो । अब दुई हजार ८०० थप भएपछि कामदारले छ हजार ७०० तिर्नुपर्ने भएको हो । भिएलएन नेपाल अवैध ढङ्गले सञ्चालन भइरहेको जनाउँदै व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्यसलाई खारेज गर्न श्रम तथा रोजगार मन्त्रालयलाई एक वर्षअघि नै निर्देशन दिए पनि हालसम्म कार्यान्वयन गरिएको छैन । दुई वर्षअघिसम्म मलेसियाको प्रवेशाज्ञाका लागि ७०० मात्रै लाग्ने गरेकामा भिएलएन नेपाल नामक कम्पनीले प्रवेशाज्ञाका लागि राहदानी र कागजपत्र सङ्कलन गर्ने भन्दै तीन हजार २०० थप लिएर नेपालीबाट तीन हजार ३०० असुलिरहेको थियो । अब दुई हजार ८०० थप भएपछि कामदारले छ हजार ७०० तिर्नुपर्ने भएको हो । वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष कुमुद खनालले नेपाल सरकारले कूटनीतिक पहल गर्न नसकेकै कारण मलेसिया जाने नेपाली कामदारबाट विभिन्न शीर्षकमा एकपछि अर्को बढी रकम असुलिएको जिकिर गरे । उनले यसअघि भिएलएनले अवैध रुपले लिइरहेको तीन हजार २०० कायम राख्दै थप रकम वृद्धि भएकाले नेपाल सरकारले त्यो स्वीकार गर्दैनौँ भनेर स्पष्ट रुपमा मलेसिया सरकारलाई भन्न सक्नुपर्ने बताए । उनले मलेसिया सरकारले नभई बिचौलियाले राहदानी सङ्कलन गर्ने भन्दै विभिन्न नामका कार्यक्रम ल्याउने र बढी रकम असुल्ने कार्य भइरहेकाले सोविरुद्ध मलेसियामा कामदार पठाउन बन्द गर्नेसम्मका कार्यक्रम सङ्घले ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए । यसअघि पुल्चोकस्थित दूतावासबाट मलेसियाले प्रवेशाज्ञा दिँदै आएकामा ‘वान स्टेप सेन्टर’ प्रणाली अन्तर्गत अब लैनचौरबाट प्रवेशाज्ञाको कागजत्रपत्र लिने र प्रवेशाज्ञा दिने व्यवस्था गरिनेछ ।
सर्वोत्कृष्ट निजामती पुरस्कारः अर्थ सचिव शान्तराज सुवेदीलाई
काठमाडौ २२ भदौ । यस वर्षको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई दिइने भएको छ । सुवेदी हाल अर्थ सचिवमा सरुवा भएका हुन् । मुख्य सचिव डा. सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । पुरस्कारको राशि दुई लाख रहेको छ । यसैगरी यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई दिइने भएको छ । समितिले सिफारिस गरेअनुसार पुरस्कार पाउनेमा किरण पौडेल सहन्यायधिवक्ता महान्याधिवक्ताको कार्यालय, देवेन्द्र कार्की सहसचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खगेन्द्रप्रसाद सुवेदी मुख्य मनोविज्ञान वेत्ता सहसचिव लोक सेवा आयोग गजेन्द्रबहादुर श्रेष्ठ उपमहालेखा नियन्त्रक महालेखा नियन्त्रकको कार्यालय, प्रदीपराज कँडेल उपसचिव गृहमन्त्रालय रहेका छन् । यसैगरी हुमबहादुर केसी उपसचिव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, माधवप्रसाद लामिछाने निर्देशक महालेखा परीक्षकको कार्यालय, हरिबाबु पोखरेल उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गोकुल बस्नेत उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृष्णवहादुर बोगटी इन्जिनियर खानेपानी तथा सरसफाइ कार्यालय बझाङ रहेका छन्। पुरस्कारको राशि जनही एक लाख रहेको छ । यसैगरी निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई दिइने मन्त्रालयका सूचना अधिकारी चेम्जोङले जानकारी गराए । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ । तीनवटै पुरस्कार बुधबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वितरण गर्ने मन्त्रालयका उपसचिव सुप्रभा खनालले जानकारी गराए । यसैगरी ‘सेवानिवृत राष्ट्र सेवक कर्मचारी सम्मान’को बुधबार दिवसको अवसरमा नाम घोषणा गरिनेछ । उपसचिव खनालका अनुसार अवकास प्राप्त ५० जनालाई दिइने उक्त सम्मान पछि मन्त्रालयमा आयोजित कार्यक्रममा वितरण गरिनेछ । आज १३ औ निजामती सेवा दिवस मनाइदै छ । अहिले करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् । रासस