नेपाल बैंकमा ४७ जनालाई जागिरको अवसर, प्लस टु उतिर्णले आवेदन दिन सक्ने

काठमाडौं, ५ असोज । नेपाल बैंकको ४७ जनाका लागि जागिर खुलेको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै ४७ जनाका लागि जागिर खुलाएको जानकारी दिएको हो । सरकारी मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन संकायमा प्लस टु उतिर्ण गरेकाहरुले १५ दिन भित्र आवेदन दिन सक्नेछन् । बैंकले कनिष्ठ सहायक पदमा खुल्ला तर्फ २६, महिला ७, आदिवासी जनजाति ६, मधेशी ४, दलित २ र अपांग तथा पिछडिएको क्षेत्रमा एक एक जनाका लागि आवेदन मागेको छ । लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता प्रणालीबाट परिक्षा सञ्चालन हुनेछ ।

मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक

काठमाडौं, ३० भदौ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म सो देशमा जाने कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाएको छ । वान स्टेप सेन्टर (ओएससी) नामक संस्था खडा गरी कामदारको राहदानी लिएर प्रवेशाज्ञा प्रक्रिया अगाडि बढाएरबापत आजबाट थप रु दुई हजार ८०० अतिरिक्त शुल्क कामदारबाट उठाउन थालिएकाले त्यो नरोकिएसम्म कामदारको राहदानी सो संस्थामा नपठाउन व्यवसायीलाई आग्रह गरिएको सङ्घका महासचिव रोहन गुरुङले जानकारी दिए । यसअघि मलेसियाको प्रवेशाज्ञाका लागि रु ७०० मात्रै तिर्नुपर्नेमा दुई वर्षअघि भिएलएन नेपाल नामक कम्पनीले प्रवेशाज्ञाका लागि राहदानी र कागजपत्र सङ्कलन गर्ने भन्दै रु तीन हजार २०० थप लिएर नेपालीबाट रु तीन हजार ९०० असुलिरहेको थियो । सो रकममा समेत वृद्धि गरी आजबाट ओएससीको नाममा कामदारबाट थप रु दुई हजार ८०० उठाउन थालिएकाले सो संस्थामा कामदारको राहदानी नपठाउने निर्णय गरिएको सङ्घका महासचिव गुरुङले बताए। महासचिव गुरुङले बायोमेट्रिक, माइग्राम, भिएलएन, ओएससीलगायतका नाममा कामदारमाथि वार्षिक करिब रु एक अर्ब ३९ करोड थप आर्थिक व्ययभार पारिएको जनाउँदै तत्काल ती संस्था बन्द गर्नुपर्ने सङ्घको माग रहेको बताए । छ महिनाका लागि परीक्षणको रुपमा लागू गरिएको बायोमेट्रिक प्रणाली अवधि सकिएको आठ महिना नाघिसक्दा समेत अवैधानिक तरिकाले ३९ वटा संस्थामार्फत कामदारको स्वास्थ्य परीक्षण कार्य जारी राखेको र वार्षिक करिब रु ४५ करोड ठगी गरिरहेको सङ्घले जनाएको छ । भिएलएन नेपाल अवैध ढङ्गले सञ्चालन भइरहेको जनाउँदै व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्यसलाई खारेज गर्न श्रम तथा रोजगार मन्त्रालयलाई एक वर्षअघि नै निर्देशन दिए पनि हालसम्म कार्यान्वयन गरिएको छैन । मलेसियाको प्रवेशाज्ञा शुल्क रु ७०० मात्रै भए पनि बिचौलियाको चलखेलका कारण प्रवेशाज्ञा बापतमात्रै ६ हजार ७०० कामदारले बुझाउनु परिरहेको छ । त्यस्तै बायोमेटिक प्रणाली लागू भएपछि स्वास्थ्य परीक्षणका लागि थप रु दुई हजार ५०० र माइग्रामको नाममा थप रु तीन हजार २०० कामदारले अतिरिक्त रकम तिर्नु परिरहेको छ । रासस

युवाका लागि अवसरै अवसर

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालमा युवा जनशक्तिका लागि अवसरै अवसर भएकाले रोजगारीका लागि आफ्ना छोराछोरीलाई विदेश पठाउने सोच त्याग्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्स र भारतको एलबीइएफ विद्यापिठ ‘स्कुल अफ स्कील’को समन्वयमा ‘लर्ड बुद्ध’ एजुकेसन फाउन्डेसनले विभिन्न क्षेत्रमा कार्यरत व्यवसायी र स्नातक तह उत्तीर्ण विद्यार्थीका लागि क्षमता अभिवृद्धि सम्बन्धी व्यावसायिक तालिमको बुधबार उद्घाटन गर्दै उनले उद्यमशील व्यक्तिले क्षमता देखाउनुपर्नेमा जोड दिएका छन् । “व्यापार व्यवसाय नेवार र थकालीले मात्र गर्छ भन्ने भावना त्याग्नुपर्छ, देशभित्र रहेका अवसरहरु युवाले उपयोग गर्नुपर्छ,” नेपालले भने। दुई प्रतिशत व्याजदरमा ऋण दिए पनि युवा व्यवसाय सञ्चालन गर्न आकर्षित नभएको उनको भनाइ थियो । एलबीइ एफ विद्यापीठ स्कुल अफ स्कीलका संस्थापक अध्यक्ष प्रमानन्द केजरीवालले भारतको समन्वयमा नेपालका स्नातक उपाधि युवालाई दक्षता प्रदान गर्न तालिम प्रदान गर्न लागिएको बताए । मणिपाल फ्लोरको नेसनल सेफ हेडका प्रमुख देवतीर्थ दानरजीले नेपाल र भारतमा युवा शिक्षित भए पनि बेरोजगारीमा बस्नुपर्ने प्रमुख समस्या रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको विकासका लागि दक्ष जनशक्तिको विशेष महत्व रहेको र दक्षता अभिवृद्धि कार्यक्रमबाट प्राप्त सीपबाट विदेशमा गई काम गर्दा पनि पारिश्रमिक बढी पाउने काम युवाले पाउनसक्ने बताए । तालिममा आइटी, आइटीइएस, वित्त, फेसन टेक्नोलोजि, व्यवस्थापन, सर्टिफिकेट इन प्रजेक्ट मेनेजमेन्टलगायत विधामा एक महिनादेखि तीन महिनासम्मका ४५ वटा तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । रासस