बलिउडका गायक अमित मिश्रा नेपाल आउँदै, मंसिर ६ गते दरबारमार्गमा हुने कार्यक्रममा प्रस्तुति दिने

काठमाडौँ । भारत बलिउडका (आआएफए) अवार्ड विजेता गायक अमित मिश्रा नेपाल आउने भएका छन् । नेपथ्य इभेन्ट म्यानेजेमेंट प्रा.ली.ले आयोजना गर्न लागेको एक कार्यक्रमका लागी उनी नेपाल आउने तय भएको उक्त कम्पनीका सीईओ आशिष लामिछानेले बताए । अमित मिश्राका साथमै भारतका चर्चित ब्याण्ड बम्बे भैकिन्ग्स कि महिला गायिका गोरिशा नाथ पनि संगै आउनी भएकी छिन् । यस कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुको नि प्रस्तुति रहने छ । यहि नोवेम्बर २२ तारीक(मंसिर ६ गते) शुक्रबारका दिन बेलुकी दरबारमार्गमा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लबमा चर्चित गायक अमित मिश्रा र गोरिषा नाथले आफ्ना विभिन्न गीतहरु प्रस्तुत गर्ने छन् । अमित मिश्रा बलिउडमा निकै ख्याती प्राप्त कलाकार हुन् । उनी भारतका चर्चित संगीतकार प्रितमसंग सहकार्य गर्दै देश तथा विदेशमा आफ्नो आवाजको जादु फैलाउँदै आइरहेका छन् । बलिउडका चर्चित नायक सलमान खान, अजय देवगन, टाइगर श्राफ, वरुण धवन, रणबीर कपूर, सुशांत सिंह राजपूत, फरहान अख्तर, आदिका लागि आफ्नो सुमधुर आवाज़ दिएका छन् । यस कार्यक्रमले पर्यटन वर्ष २०२० लाई पनि धेरै टेवा पुर्याउने अनुमान गरिएको छ। गायक अमित मिश्राले नेपालका विभिन्न संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गर्ने छन् र साथसाथै उनको डकुमेन्ट्री प्रोजेक्ट मुभीको लागि पनि नेपालका यहि स्थललाई लक्षित गरेर उनले भिडियो सम्प्रेसन गर्ने छन् र जसकाे प्रसारण संसार भरि गरिने छ । सन् २०१६ र २०१७ को आइफा अवार्ड उनले जित्न सफल भए । उनले त्यो बेला ए दिल है मुश्किल को ‘बुल्लेया’ बोलको गीतबाट अवार्ड हात पार्न सफल भएका थिए । त्यसका साथै उनले अरु थुप्रै अवार्डहरु हासिल गरि सकेका छन् । नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली.ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुने आयोजक पक्षले जानकारी गराए । यस कार्यक्रमबाट उठेको लाभांशको केहि प्रतिशत उनीहरुले च्यारिटी सहयोग अर्थात् वृद्धा आश्रममा केन्द्रित रहेर हस्तान्तरण गर्ने जानकारी जनाए । यस कार्यक्रममा सिने जगत, संचारकर्मी, कलाकारिता क्षेत्र, सामाजिक क्षेत्र र व्यवसायिक क्षेत्रका विशिष्ट पात्रहरुको बाक्लो उपस्थिति रहने छ । यस कार्यक्रममा सहभागी भै वृद्धाहरुको सामाजिक सहयोगार्थ योगदान गर्नको लागि भने इच्छुकले टिकट खरिद गरेर कार्यक्रम मा प्रवेश गर्नुपर्ने छ । टिकट शुल्क सर्वसाधरणको लागि २५०० रूपैयाँ र भिआइपिको लागि ३५०० रूपैयाँ राखिएको छ । निकै सिमित समय रहेकोले आयोजक पक्षले समयमै आफ्नो टिकट किनेर आफ्नो स्थान सुरक्षित राख्न आग्रह गरेका छन् । यो पुरै मनोरन्जनात्मक कार्यक्रम हुने र टिकट खरिद गरिएको पैसा अनुसारको फाइदा पनि ग्राहकहरुले लिन पाउने आयोजक पक्षले बताएका छन् ।

गाउँकाे घर टपक्कै टिपेर प्रज्ञा प्रतिष्ठानको हलमा, फुरूङ्ग भए साहित्यप्रेमी

काठमाडाै । हिउँदको शुरुआतसँगै पाँच बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो । राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो । यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो । कला, साहित्य तथा संस्कृतिमा गहिरो लगाब भएका मूर्धन्य व्यक्तित्वको प्रतिष्ठान परिसरमा बाक्लै उपस्थिति थियो । तिनै साहित्यप्रेमीको मन तताउन प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रमको तयारी तीव्र भइरहेको थियो । दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन, २०७६ मा सहभागी हुन नेपाल आएका विदेशी साहित्य अनुरागी पनि नेपाली कला संस्कृतिको अवलोकन गर्न व्यग्र प्रतिक्षामा थिए । नेपाल प्रज्ञा प्रतिष्ठानले सम्मेलनमा सहभागी हुन काठमाडौँ आएको स्वदेशी तथा विदेशी साहित्यकर्मीको स्वागतमा आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । साँझ ५ बजेका लागि कार्यक्रम आयोजना गरिए पनि तयारी स्वरुप केही समय ढिला भएको थियो । प्रतिष्ठान परिसरमा उपस्थित साहित्य अनुरागीभित्र हलमा प्रवेश गर्दा पर्दा बन्द थियो । साहित्यप्रेमी कतिबेला पर्दा खुल्छ र कला संस्कृतिमा रम्न पाइन्छ भनेर व्यग्र प्रतिक्षामा थिए । झण्डै आधा घन्टा ढिला गरी हलको पर्दा खुल्यो, पर्दाभित्र समग्र नेपालको ग्रामीण भेगको वस्तुस्थित झल्कने गरी घरको स्वरुप दिइएको थियो । लाग्थ्यो प्रतिष्ठानको हलभित्रै ग्रामीण भेग हुने घर टपक्कै टिपेर ल्याइएको छ । खरको छाना । पिँढीको खाँबो, झ्याल र ढोकामा ‘खोटो’ दलिएको, छानामाथि नाङ्ग्लामा गुन्द्रक, खुर्सानी सुकाइएको, पिँढीको ‘बलो’मा मकैको झुत्ता झुण्डयाइएको, अनि उज्यालोका लागि ‘लालटिन’ बालिएको, पिँढीमा जाँतो, डोको… यस्तैयस्तै । विदेशीका माझ ती ग्रामीण पर्यटन प्रवद्र्धनको उत्कृष्ट नमूना नै थिए । तीनै घरको पिँढीमा कलाकार बाद्यवादनको साधनसहित तम्तयारी अवस्थमा बसेका थिए । प्रतिष्ठानको सिङ्गो टोली अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धन गर्दै नेपाली कला, संस्कृति विदेशी साहित्यकारलाई देखाउन आतुर थियो । प्रतिष्ठानकै आयोजनामा गरिएको सो सांस्कृतिक कार्यक्रममा सांस्कृतिक संस्थान (नाचघर)का कलाकारले नेपालको कला संस्कृति झल्कने कलाकृति र नृत्य प्रस्तुत गरेका थिए । नेपालको सांस्कृतिक वैभव पस्केका थिए । पश्चिमा संस्कृतिको गलत प्रभाव चिरेर एशियाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । मादल, ढोलक, बाँसुरीलगायत परम्परागत नेपाल लोकबाजाका साथको प्रस्तुतिबाट नेपालीसहित विदेशी साहित्यप्रेमी मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीत, सङगीत तथा नृत्यले विदेशी पाहुँनामाझ नेपाल कला संस्कृतिकमा निकै धनी भएको प्रतीत गरेको थियो । पूर्वी, पश्चिमी, हिमाल, पहाड, तराई तथा उपत्यकाका जनजाति विदेशका गीत सङ्गीतले प्रतिष्ठान गुन्जायमान बनेको थियो । सास्कृतिक कार्यक्रममा मञ्जुश्री नाच, झागन, सेब्रु, कौडा, टप्पा, धिमे, साकेला, भुम्रा र हुड्केली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका नेपाली कला संस्कृतिले साहित्यिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने साहित्य अनुरागीको भनाइ थियो । कार्यत्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले यस्ता सांस्कृतिक कार्यक्रममले एशियाली मुलुकबीच सद्भाव, सहिष्णुता, समन्वय, सहअस्तिस्व र शान्तिको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ । आगामी कात्तिक ३ गतेसम्मे चल्ने सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ । असोज ३० गते चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिकस्थलको भ्रमण गराइनेछ । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो । साँझ छिप्पिसकेको थियो । हुड्केली नृत्यले तातेका साहित्यप्रेमी प्रतिष्ठानको हलबाट बाहिरिँदै गर्दा भन्दै थिए, “बाहिर कस्तो चिसो भइसके छ ।”

चलचित्र तथा मोडलिङमा व्यस्त बन्दै मोडल तथा नायिका अनिता गिरि

काठमाडौं । नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा व्यस्त बन्दै गरेकी मोडल र नायिका हुन अनिता गिरि । मोडलिङ सुरु गरेको एक बर्ष भित्र नै चार वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनी अहिले चलचित्रकर्मीहरुको रोजाइमा परेकी छिन् । युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी नायिका हुन अनिता गिरि । उनी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन । मोडलिङ क्षेत्र हुदै चलचित्रमा नायिका बनेकी अनिताले दर्जनौ फेसन सोहरुमा आफ्नो कला कौसल प्रदर्शन गरि सकेकी छिन । अभिनय तथा नृत्यमा पोख्त नायिका अनिता गिरि सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनीप्रतिको आकर्षण हो । अझै मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन । खोटाको सिम्पानीमा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी गिरि हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभावकी छिन । नयाँ नेपाली चलचित्र मार्फत नायिकाको रुपमा धमाकेदार इन्ट्री गर्न लागेकी नायिका अनिता भन्छिन यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउँछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनिता गिरि अभिनयमा पोख्त छिन् । अनिताले भनिन्, अब चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन् मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि अनिता बताउँछिन ।