रास्वपाको महामन्त्री पदमा आठजनाको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि आठ जनाको नाम उम्मेदवार सूचीमा कायम भएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महामन्त्री पदमा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भएपछि पार्टीले दोस्रो चरणअन्तर्गत पदाधिकारी चयन प्रक्रिया अघि बढाएको छ । यस चरणमा महामन्त्री पदका लागि आठ जना चुनावी मैदानमा उत्रिएका छन् । आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार महामन्त्री पदमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन पराजुलीको नाम कायम रहेको छ ।
डा. शेखरसँग दाहाल-नेपालको भेटवार्ता, के भयो छलफल ?
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक र सहसंयोजक नेपालले शुक्रबार (आज) नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग कोइराला निवासमा भेटवार्ता गरेका छन् । भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, वर्तमान सत्ता समीकरण, राष्ट्रिय राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा विचार आदानप्रदान भएको कोइरालाका निजी सचिव दिनेश थपलियाले जानकारी दिए । कोइराला निवासमा भएको उक्त भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच प्रमुख दलका शीर्ष नेताबीच भएको महत्त्वपूर्ण संवादका रूपमा हेरिएको छ । यद्यपि भेटवार्तापछि कुनै औपचारिक निर्णय वा संयुक्त धारणा सार्वजनिक गरिएको छैन । यसअघि कोइरालालाई कांग्रेसका महामन्त्री गुरु घिमिरेले पनि भेटेका थिए ।
प्रतिनिधिसभा बैठक भोलिका लागि सर्यो
काठमाडौं । शुक्रबार (आज) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । यसअघि हिजो तय गरिएको बैठक आजलाई सारिएको थियो । सभामुख डीपी अर्यालले आज अपरान्ह १ बजेलाई तय गरिएको बैठक स्थगित गरी भोलि बिहान ११ बजे बस्नेगरी निर्धारण गरेको संसद सचिवालयले जनाएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशनले गर्दा प्रतिनिधिसभा बैठक प्रभावित भएको हो । रास्वपाका सांसदहरू चितवनमा जारी महाधिवेशनमा सहभागी हुनाले बैठक सरिरहेको हो ।