रास्वपाको महामन्त्री दौड रोमाञ्चक : विपिन आचार्यको पक्षमा नेताहरूको लहर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको चुनाव अन्तिम घडीमा थप रोचक बनेको छ । एकपछि अर्को उम्मेदवारले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन जनाएपछि महामन्त्रीको प्रतिस्पर्धाले नयाँ मोड लिएको हो ।

महामन्त्रीका आकांक्षी प्रमोद न्यौपाने र गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन् । यसअघि नै निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल र जगदीश खरेलले पनि आचार्यको पक्षमा खुलेर उभिएका थिए ।

यस्तै, उम्मेदवार राजुनाथ पाण्डेले पनि अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै महामन्त्रीको चुनावी समीकरण फेरिएको छ ।

लगातारको समर्थन र उम्मेदवारी फिर्तासँगै विपिन आचार्य महामन्त्री दौडका बलिया दाबेदारका रूपमा उभिएका छन् । अब महामन्त्री पदका लागि मनिष झा, विपिन आचार्य, गणेश कार्की, सागर ढकाल र रञ्जु दर्शनाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।

Share News