अर्थमन्त्री वाग्लेले गरे भन्सार विभागको अनुगमन, इमानदारीपूर्वक राजश्व संकलनमा लाग्न निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार भन्सार विभागको अनुगमन गर्दै विभागको वस्तुगत स्थितिबारे ब्रिफिङ लिएका छन् । सो क्रममा विभागका कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको राजश्वको लक्ष्य प्राप्तिमा पूर्ण इमानदारीका साथ लाग्न निर्देशन दिए । मन्त्री वाग्लेले कर्मचारीहरूले पारदर्शी र जिम्मेवार भएर काम गरेमा मन्त्रालयले उनीहरूको वृत्तिविकास र मनोबल उच्च बनाउन विशेष प्रोत्साहनका कार्यक्रमहरू ल्याउन सक्ने आश्वासन समेत दिए । राजश्व प्रशासनमा हुने सानो ढिलासुस्तीले पनि समग्र अर्थतन्त्रमा असर पर्ने भन्दै उनले कार्यसम्पादनमा कुनै सम्झौता नगर्न आग्रह गरे । अनुगमनका क्रममा मन्त्री वाग्लेले विभागमा रहेको भन्सार प्रयोगशाला (ल्याब) को समेत निरीक्षण गरेका थिए ।  सो अवसरमा उनले आयात-निर्यात हुने वस्तुहरूको वैज्ञानिक परीक्षण र गुणस्तर मापनलाई थप आधुनिक र विश्वसनीय बनाउन निर्देशनसमेत दिए ।

रेखा शर्मालाई ३ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अदालतका न्यायाधीश नवराज दुलालले इजलासले शर्मालाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो । शर्मा गएराति धुम्बाराहीबाट पक्राउ परेकी हुन् । उनी बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी हुन् । १४ वर्षीया नाबालिकालाई घरमै ६ वर्षदेखि शोषण गरेको शर्मामाथि आरोप छ । उनी दलित कोटाबाट लुम्बिनी प्रदेशसभामा एमालेकी समानुपातिक सांसद हुन् । दाङ तुलसीपुर निवासी शर्मा प्राय: काठमाडौं धुम्बाराहीस्थित उघरमा बस्दै आएकी थिइन्  आजै उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको हो ।

संघीय संसद्को बैठक चैत १९ गते

काठमाडौं । संसदको बैठक चैत १९ बस्ने भएको छ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा राष्ट्रपति कार्यलयले स्वीकृत गरेको छ ।     सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।     बैठकले संविधान संशोधन बहसपत्र तयार गर्नका लागि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गर्ने निर्णय गरिएको जानकारीसमेत दिए ।     ‘संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको प्रतिनिधित्वसहित कार्यदल गठन गर्ने निर्णय भएको छ । राष्ट्रिय सहमतिमा संशोधन बहसपत्र तयार हुन्छ,’ मन्त्री पोखरेलले भने ।